३६ लाखभन्दा धेरै ब्लडमनी तिरेर साउदीबाट फर्किए प्रशान्त, भन्छन् – कम्पनीको भर नपर्नु

 मंसिर २८, २०७५ शुक्रबार १९:०:५९ | मोहन पौडेल

काठमाडौं – ‘साउदी जाने दाजुभाइहरुले कम्पनीले लाइसेन्स र इन्स्योरेन्स नगरिदिएसम्म गाडी  चलाउने काम नगर्नुहोला ।’ साउदी अरबमा ८ महिना जेल बसेर फर्किएका प्रशान्त लिम्बुको आग्रह हो यो ।  

२०७३ साल पुसमा रोभ इन्टरनेशनल म्यानपावरबाट ड्राइभरकै भिसामा साउदी गए पनि कम्पनीले उहाँलाई लाइसेन्सका लागि परीक्षणमा सहभागी गराएन । जबरजस्ती गाडी चलाउन लगायो ।

लाइसेन्सबिना गाडी चलाउन बाध्य भएपछि प्रशान्तले आफूलाई पठाउने एजेण्ट र म्यानपावरलाई पनि गुहार्नुभयो । तर न एजेण्टले चासो दिए न म्यानपावरले कुरा सुनिदियो । 

‘मैले लाइसेन्स बनाउन लागेको खर्च म आफैं तिर्छु भन्दा पनि सहयोग पाइन’ प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशान्तले भन्नुभयो ‘लाइसेन्सबिना काम नगर्ने भन्दा कम्पनीले ३० हजार रियाल माग गरेको थियो । ३० हजार रुपैयाँ बुझाउन सकिनँ, त्यसैले बाध्य भएर गाडी चलाउनुपर्‍यो’ 

उहाँ घर बनाउन प्रयोग गरिने मिक्सर बनाउने गाडी चलाउनुहुन्थ्यो ।  लाइसेन्सबिना नै गाडी चलाएको ९ महिनामै उहाँले चलाएको गाडी दुर्घटना भयो । साउदी नागरिकले चलाएको गाडी उहाँले चलाएको गाडीमा आएर ठोक्किँदा साउदी नागरिकको ज्यान गयो । त्यही अभियोगमा प्रशान्तले ८ महिना जेल बस्नुपर्‍यो । 

गएको असारमा जेलबाट छुटेका प्रशान्तलाई अदालतले ७५ प्रतिशत गल्ती गरेको भन्दै २ लाख २५ हजार रियाल र क्षति भएको कारको १५ हजार रियाल क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो । ब्लडमनी र क्षतिपूर्तिको आधा अर्थात एक लाख २० हजार रियाल प्रशान्तले तिर्नुपर्ने भयो । त्यसको नेपाली रुपैयाँ हुन्छ ३६ लाख ८१ हजार ६ सय । 

काम खोज्दै साउदी पुगेका प्रशान्तलाई त्यति धेरै रकम निकाल्न सम्भव थिएन । त्यसैले ब्लडमनी र क्षतिपूर्ति जुटाएर उहाँलाई घर फर्काउन पिएनसीसीले अभियान सुरु गर्‍यो । अभियान सुरु भएको दुई महिनामै प्रशान्तका लागि चाहिएको रकम जुटेपछि उहाँ बिहीबार नेपाल फर्किनुभएको हो । 

अभियानमा पिएनसीसीले १५ लाख ४४ हजार २ सय ६०, प्रेम बचाउ अभियान मूल समितिले १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापाले ५ लाख ४ सय, किराँत याक्थुम चुम्लुङ केन्द्रीय कार्यालयले ८० हजार र प्रशान्त लिम्बु देश फर्काउ अभियान, ताप्लेजुङले ५६ हजार ९ सय ४० रुपैयाँ अभियानमा सहयोग गरेका थिए । 

यस कारण कम्पनी दोषी

प्रशान्त लिम्बुले साउदीमा पछिल्लो समय ड्राभरहरु समस्यामा पर्ने क्रम बढेको भन्दै त्यसमा कम्पनी जिम्मेवार रहेको बताउनुभएको छ । कम्पनीले लाइसेन्स लिन नदिने र समस्यामा परेपछि सहयोग नगर्ने भएकाले कम्पनी नै दोषी भएको उहाँको भनाई छ ।

‘हामी कमाउन गएकाहरु त जे भने पनि गर्नैपर्ने अवस्थामा हुन्छौं अनि के गर्नु’ प्रशान्तले भन्नुभयो । 

नयाँ जीवन पाएँ 

प्रशान्तले सबैको सहयोगले आफूले नयाँ जीवन पाएको बताउनुभएको छ । ‘मैले त यत्रो पैसा कसरी जुट्ला र अब फर्किन पाउँला भन्ने सोच्थें तर तपाईंहरु सबैको सहयोगले फर्किन पाएँ’ भावुक हुँदै प्रशान्तले भन्नुभयो । 

पत्रकार सम्मेलनमा उपस्थित प्रशान्तका बुवा उत्तरसिंह लिम्बुले पनि छोराले नयाँ जीवन पाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया