नेपाली कामदार भर्तीको विषय दुई महिनामा टुङ्गो लाग्छ : मलेसिया

 पुस २५, २०७५ बुधबार १३:१:२६ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाले नेपाली कामदार भर्तीका लागि अझै दुई महिना लाग्ने बताएको छ । 

कामदार भर्ना प्रक्रिया र व्यवस्थापनको विषयमा अध्ययन गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन तयार पार्न थप समय लाग्ने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ ।

मलेसियाका सहायक मानव संसाधन मन्त्री दातुक मफुज ओमारले कामदार भर्तीका विषयमा छलफल भइरहेको र कामदार भर्तीको निर्णय स्वतन्त्र कामदार भर्ती समितिको प्रतिवेदन अनुसार नै हुने बताउनुभएको छ । 

नेपाली कामदार भर्तीको विषय समितिले प्रतिवेदन दिएपछि मात्रै टुङ्गो लाग्ने उहाँको भनाई छ । 

सोमबार क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रतिवेदन तयार भएसँगै विदेशी कामदारका लिने प्रक्रिया सुरु हुने बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर सरकारले विदेशी कामदारसम्बन्धी नीतिमा सुधार गर्न सक्ने उहाँको भनाई छ ।

गएको जेठदेखि नेपाल सरकारले विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै मलेसियाको रोजगारी बन्द गरेको हो । मलेसियाको रोजगारीको ढोका खोल्नका लागि गएको कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

समझदारी पत्रमा शून्य लागतमा कामदार मलेसिया जान पाउने विषयदेखि विभिन्न सुरक्षाका विषयलाई महत्व दिइएको छ ।

याे पनि पढ्नुहाेस् 

मलेसियाको रोजगारीमा बिचौलियाले गर्ने चलखेलको अब अर्थ छैन : मन्त्री विष्ट

तपाईको प्रतिक्रिया