कामदारको मुद्दाको सुनुवाइमा दुबई जाँदै गरेको नेपाली दूतावासको गाडी दुर्घटना

 फागुन ३०, २०७५ बिहिबार २०:३१:५४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – बिहीबार यूएईको आबुधाबीमा रहेको नेपाली राजदूतावासको गाडी दुर्घटनामा परेको छ । 

नेपाली कामदारको मुद्दाको सुनुवाइका लागि दुबई अदालतमा जाँदै गर्दा दूतावासको सीडी ५७२३ यूएई नम्बरको टोयोटा गाडी दुर्घटनामा परेको हो । 

आबुधाबीबाट दुबई जाँदै गर्दा दूतावासको गाडी जेबेल अली भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीमा सामान्य क्षति भएको छ ।

बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण राजमार्गमा एकैसाथ १४ वटा गाडी एकआपसमा ठोक्किएका थिए । त्यसैक्रममा नेपाली दूतावासको गाडी पनि दुर्घटनामा परेको हो । नेपाली दूतावासमा कार्यरत स्थानीय कर्मचारी जनसम्पर्क अधिकृत राजी अहमद र इरफान आलम दुबई अदालतमा नेपाली कामदारको मुद्दाको सुनुवाइका लागि जाँदै थिए । गाडी राजीले चलाएका थिए ।

विभिन्न ठाउँमा भएको दुर्घटनामा परि ४ जना विदेशी नागरिकको ज्यान गएको बताइए पनि ती कुन देशका नागरिक हुन् भन्ने चाहिँ खुलेको छैन । 

बिहानैदेखि यूएईका विभिन्न ठाउँमा बाक्लो हुस्सुका कारण धेरै गाडी दुर्घटनामा परेको आबुधाबी प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि नेपाली नागरिकलाई भने कुनै क्षति नभएको नेपाली राजदूतावास, आबुधाबीका नियोग उप–प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँले उज्यालोलाई जानकारी दिनुभयो । 


 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया