विदेशमा रहेका कामदारको स्वास्थ्य परीक्षणका लागि गन्तव्य देशमै स्वास्थ्य शिविर सञ्चालन गर्ने सरकारको योजना

 चैत १, २०७५ शुक्रबार १४:५३:५८ | उज्यालो सहकर्मी

काठमाण्डौं – सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य देशमै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएकाे छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गएका कामदारको अस्वभाविक रुपमा हुँदै आएको मृत्युलाई कम गर्न सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य देशमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनु भएको हो । 

बानेश्वरबाट बबरमहलमा सरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयको कार्यालयको निरिक्षण गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारमा गएकाहरुमा बढी मृगौलाको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले गन्तव्य देशमै आवश्यक्ता अनुसार नेपाली चिकित्सकको टोली पठाएर स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको बताउनुभयो । 

केही दिनअघि आफू बुटवल पुग्दाको प्रसङ्ग सुनाउँदै मन्त्री विष्टले त्यहाँको अस्पतालमा मृगौलाको समस्या लिएर आउने बिरामीमध्ये ३० प्रतिशतभन्दा धेरै वैदेशिक रोजगारीमा गएकाहरु रहेको पाइएको भन्दै समस्या बढ्न नदिन त्यसप्रति सोच्नुपर्ने बेला आएको बताउनुभयो । 

यस्तै मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको बताउनुभयो । 

सेवा अझै सरल र सहज बनाउन निर्देशन 

सेवाग्राहीलाई सहज सेवा पु¥याउने उद्देश्यका साथ बोर्ड सचिवालय बानेश्वरबाट बबरमहलमा सारिएको भन्दै उहाँले सेवा लिन आउने सेवाग्राहीको पीडा बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

‘वैदेशिक रोजगारीमा जानेहरु प्राय गरिब परिवारकै हुन्छन्, उहाँहरुका परिवार यहाँ सेवा लिन आउँदा आफ्नो पीडा लिएर आउनुभएको हुन्छ । त्यतिबेला हामीले सहज र सरल रुपमा सेवा दिन सकेनौं भने उहाँहरुको पीडामा अझै पीडा थपिन्छ ।’ मन्त्री विष्टले भन्नुभयो, ‘त्यसैले उहाँहरुलाई त्यस्तो नहुने गरी सेवा दिनुहोला ।’ 

नयाँ बानेश्वरमा रहेको कार्यालय सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने उद्देश्यका साथ बबरमहलमा सारिएको पनि मन्त्री विष्टले स्पष्ट पार्नुभयो । उहाँले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको दाबी पनि गर्नुभयो । 

देश अनुसार अभिमुखिकरण पनि फरक बनाउनुपर्नेमा जोड 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि दिइने अभिमुखिकरण पनि फरक फरक बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

अहिले वैदेशिक रोजगारीमा जानेहरुलाई एकै प्रकारको अभिमुखिकरण दिइने गरिएकोमा मन्त्री विष्टले देश अनुसार त्यहाँको नियम कानुन र परिवेर फरक हुने भएकाले त्यही अनुसारको अभिमुखिकरण गरिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७५/७६ को ८ महिनामा बोर्डले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । 

तपाईको प्रतिक्रिया