सहुलियत ऋणका लागि अनुभव खोजियो भने विदेशबाट फर्किनेहरुलाई समस्या हुन्छ

 चैत १८, २०७५ सोमबार ११:१४:३९ | मेरो कथा मेरो भोगाई

पशुपति राई/भोजपुर, हाल काठमाण्डौ ।

म ५ वर्षअघि काठमाण्डौमा ट्याक्सी चलाउँथें । काम त चलिरहेको थियो । तर विदेश जान पाए अलि धेरै कमाउन सकिन्छ भन्ने सोचें । म्यानपावरमा चालकको काम पाए विदेश जान्छु भनें ।

म्यानपावरले ड्राइभरको कामका लागि मलेसियाबाट माग आएको छ भन्यो । मैले आफूले गरिरहेको काम भयो भने त विदेशमा पनि गाह्रो हुन्न भन्ने सोचेर जान तयार भएँ । 

तर मलेसिया पुगेपछि चालकको काम पाइनँ । सप्लाईको काम गर्नुपर्‍यो । ऋण गरेर गएकाले तीन वर्षसम्म फर्किन सकिनँ । तीन वर्षपछि फर्किएर अहिले फेरि ट्याक्सी नै चलाइरहेको छु । ट्याक्सी चलाइरहेकै बेला मैले सरकारले विदेशबाट फर्किएर देशमै केही गर्न चाहनेका लागि सहुलियतमा ऋण दिने भन्ने थाहा पाएँ ।

मैले पनि त्यसका लागि निवेदन दिएको छु । तर विदेशमा काम गरेको अनुभव अनि नेपालमा गर्ने कामको पनि राम्रो योजना हुनेले मात्रै ऋण पाउने भन्ने सुनिरहेको छु । 

यस्तो नियमले वैदेशिक रोजगारीमा गएर फर्किने धेरैलाई समस्या पर्छ जस्तो लाग्छ । किनकी विदेशमा म्यानपावरले यहाँ भनेको काम पाइँदैन । जे काम गरेको छ, त्यसको कुनै प्रमाण छैन । अनि के अनुभव देखाउनु र । मैले यदि सहुलियत दरको ऋण पाएँ भने आफ्नै ट्याक्सी किनेर चलाउने योजना बनाएको छु । 
  
 

तपाईको प्रतिक्रिया