बेरोजगार व्यक्ति र कामको विवरण दिन स्थानीय तहलाई केन्द्रको अनुरोध

 बैशाख १०, २०७६ मंगलबार १५:३३:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिहरुको संकलित विवरण उपलब्ध गराउन सबै स्थानीय तहसँग अनुरोध गरेको छ । कार्यक्रमले हालसम्म उपलब्ध विवरण पठाउन भनेको हो । 

रोजगारीको हक सम्बन्धी ऐन २०७५ बमोजिम बेरोजगार व्यक्तिहरुलाई आउँदो आर्थिक वर्ष २०७६÷०७७ मा सार्वजनिक विकास निर्माणमा रोजगारी प्रदान गर्ने उदेश्यले सबै स्थानीय तहले आवेदन संकलन गरिरहेका छन् । 

यसअघि चैत महिनाभर आवेदन मागिएकोमा वैशाख मसान्तसम्म म्याद थप गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले हालसम्म उपलब्ध विवरण पठाउन स्थानीय तहलाई भनेको हो ।

बेरोजगार व्यक्तिले अहिलेसम्म रोजगारीको लागि आवेदन नदिएको भए वैशाख मसान्तसम्ममा आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

स्थानीय तहले रोजगारीको विवरण पनि पठाउनुपर्ने

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो क्षेत्रभित्र सञ्चालित आयोजनाहरुमा सिर्जना हुन सक्ने रोजगारीका विवरण उपलब्ध गराउन पनि स्थानीय तहसँग अनुरोध गरेको छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट सञ्चालित कार्यक्रम तथा आयोजनाको नाम पठाउन कार्यक्रमले भनेको हो ।

आयोजनाको नाम पठाउँदा स्थानीय तहले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र सिर्जना हुन सक्ने रोजगारीको संख्या पनि पठाउनुपर्नेछ । स्थानीय तहबाट विवरण आइसकेपछि बेरोजगार व्यक्तिलाई दिन सक्ने कामको बारेमा निर्णय लिन सजिलो हुने केन्द्रले जनाएको छ ।

केन्द्रसँगै स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम एक सय दिन रोजगारी पाउनेह?को संख्या छुट्याउनेछ ।
 

तपाईको प्रतिक्रिया