समाचार प्रभाव : आमाले ‘अब मलाई पनि भेट्दैन होला’ भनेपछि मलेसियाबाट फर्किए रामप्रवेश

 जेठ ५, २०७६ आइतबार १८:२२:२५

दुर्गाप्रसाद भट्टराई । 

सर्लाही – मलेसिया गएर सम्पर्कविहीन भएका सर्लाहीको बरथहवा–१३ का रामप्रवेश यादव घर फर्किनुभएको छ । मलेसिया गएको दुई वर्षपछि परिवारसँग सम्पर्कविहीन भएका रामप्रवेश उज्यालो अनलाइनमा आमाको पीडासहितको खबर प्रकाशित भएपछि घर फर्किनुभएको छ ।

गएको वैशाख २९ गते उज्यालो अनलाइनमा रामप्रवेशकी आमाले मलेसिया गएको छोरा उतै सम्पर्कविहीन भएकाले आफ्नो अनुहार देख्न पाउँदैन होला भन्दै गुनासो गरेको खबर प्रकाशित भएको थियो ।

खबर प्रकाशित भएको भोलि पल्ट रामप्रवेश काम गर्ने कम्पनीका ‘म्यानेजर’ ले देखेपछि उहाँलाई घर जान भनेका थिए । म्यानेजरले ‘घर गइनस भने आमाको मुख देख्न नपाउलास’ भनेपछि आफू घर फर्किएका रामप्रवेशको भनाई छ ।

रामप्रवेशले आफूसँग पैसा नभएकाले सँगै काम गर्ने साथीहरुले टिकट काटेर घर फर्किन सघाएको बताउनुभयो । 

घरजम गरिदिएपछि म मरे पनि केही हुन्न  :  कलावतीदेवी 

बुवाको निधन हुँदा पनि नफर्किएको छोराले आफ्नो पनि लास भेट्दैन कि भन्ने चिन्ता थियो ६५ वर्ष पुग्दै गरेकी रामप्रवेशकी आमा कलावतीदेवीलाई । तर समाचारले गर्दा छोरा घर आइपुगेपछि उहाँको खुशीको सीमा छैन ।

‘तपाईंहरुले समाचार लेखिदिएकाले मेरो छोरा सकुसल घर आईपुग्यो त्यो भन्दा बढि के चाहियो र ?’ कलावतीले आइतबार दिउँसो भन्नुभयो, हात खुट्टा बलिया छँदैछन । यति भएपछि अब यतै कमाएर खान सकिहाल्छ नी ।’ 

छोरा हराउँदा चिन्ताले थलिएकी कलावतीदेवीलाई अब छोराको बिहे गरिदिने रहर छ । ‘बिहे गरिदिन पाए त सास गए पनि केही छैन’ कलावतीदेवीले भन्नुभयो । 
रामप्रवेशका बुवा महेन्द्र पनि यही चाहनुहुन्थ्यो ।

तर कमाउन गएका रामप्रवेशले उहाँलाई नै बिर्सिदिएपछि उहाँको त्यो चाहना पुरा भएन । छोरा सम्पर्कविहीन भएकै बेला उहाँ बित्नुभयो । तर कलावतीदेवी अब श्रीमानको त्यो सपना पुरा गरिदिने सोचमा हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् । 

‘बुवा बित्दा मलेसियाबाट नफर्केको छोरोले अब मलाई पनि भेट्दैन होला’

तपाईको प्रतिक्रिया