श्रम मन्त्रीद्वारा आईएलओ महासभामा सम्बोधन - 'नेपालको श्रम बजार मर्यादित र व्यवस्थित'

 जेठ ३०, २०७६ बिहिबार २१:१७:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालको श्रम बजारलाई मर्यादित र व्यवस्थित बनाउने काम भैरहेको बताउनुभएको छ ।

जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को बैठकलाई सम्बोधन गर्दै उहाँले श्रम कानुनलाई सुधार गरेको जानकारी गराउनुभएको हो । मर्यादित श्रम, सामाजिक सुरक्षा र सुमधुर औधोगिक सम्बन्ध हुने गरी श्रम कानुनलाई सुधार गरेको र यसको प्रभावकारी कार्यान्वयनको लागि श्रम अडिट सुरु गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

श्रम क्षेत्रमा भएको सुधारलाई कार्यान्वयन गराउन सबै पक्षको सहकार्यमा जोड दिइएको पनि उहाँले बताउनुभयो । उहाँले आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउँदै सबै नागरिकलाई काममा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको जानकारी दिनुभयो ।

श्रमिकको न्यूनतम तलब, सामाजिक सुरक्षा तथा उत्पादकत्व बढाउनेतर्फ पनि सरकारले काम थालेको पनि उहाँले बताउनुभयो । श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताउनुभयो ।

उहाँले नेपालको श्रम प्रशासन हालसम्म आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा गर्नुभयो । गन्तव्य देशले आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री विष्टले नेपाली श्रमिकलाई पनि अन्य कामदारसरह समान व्यवहार गर्ने गरी द्विपक्षीय छलफल र सहकार्यको थालनी गर्न आग्रह गर्नुभयो ।

सम्मानित काम, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध नेपालको श्रम प्रशासनका प्रमुख विषय भएको उल्लेख गर्दै उहाँले श्रम, रोजगारी तथा सामाजिक सुरक्षालगायत नीतिगत विषयमा बहुआयामिक कानूनी सुधार गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया