‘जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन’

 जेठ ३१, २०७६ शुक्रबार १६:१०:० | रासस

हिमलाल पराजुली/रासस ।

स्याङ्जा – जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रे ।

उहाँले १० वर्ष साउदीमा पसिना बगाउनुभयो । धेरथोर कमाउनु पनि भयो । १० वर्षमा साउदीबाट फर्किदा उहाँले उहाँ स्वदेशमै केही गर्ने अठोट लिएर फर्किनुभयो ।

पिताम्बरले २०७१ सालमा पाँच जनाको समूह बनाएर पञ्चमुखी कृषि फार्म दर्ता गर्नुभयो । र थाल्नुभयो २० लाख रुपैयाँ लागान गरेर भैँसी पाल्न । 

अहिले उहाँको फार्ममा ४० दुहुना भैँसी, २० जर्सी गाई र ४० पाडापाडी गरी १०० वटा रहेका छन् । फार्मको लागत एक करोड ३५ लाख रुपैयाँ पुगेको पिताम्बरले बताउनुभयो । 

शुरुमा पार्टनरमा फार्म सञ्चालन गरे पनि घाटा लाग्यो भन्दै सबैले छाडेपछि अहिले आफूले एकलै सञ्चालन गरेको उहाँले बताउनुभयो । 

नाफामा मात्र हैन व्यवसाय सन्तुष्टिमा पनि चलाउनुपर्छ भन्ने बुझ्नुभएको छ पिताम्बरले  । ‘काम गर्दा उतारचढाव आउछ तर पछि हट्न हुँदैन,’ पिताम्बर भन्नुहुन्छ, म यो कामबाट सबैलाई देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु ।’ 

पिताम्बर व्यवसाय गर्दा आएका उतारचढावसँग डटेर लड्नु भयो र सफल पनि हुनुभयो व्यवसायमा । पिताम्बर भन्नुहुन्छ, ‘जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन ।’

पिताम्बरले अहिले त १५ जनालाई रोजगारी पनि दिनुभएको छ । भैँसीका लागि दाना, परालका साथै कर्मचारीको तलबमा मात्रै महिनाको ६ लाख खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । 

सरकारले काम गर भन्ने तर काम गर्ने किसानलाई सहयोग नगरेको गुनासो उहाँको छ । ऋण लिनका लागि बैंकमा जाँदा बजारको घरघडेरी र जग्गा जमीन खोजेको उहाँको गुनासो छ । ‘हामीले पहिला बजारमा घर बनाएर मात्रै फार्म खोल्नु पर्ने होर, यहाँ त अचम्म छ,’ उहाँ भन्नुहुन्छ । 

दैनिक २३० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका डुम्रेले पाँच रोपनी जग्गामा फार्म सञ्चालन गर्नुभएको छ । वार्षिक पाँच लाख भाडा तिरेर ९० रोपनी जग्गामा घाँस लगाउनु भएको छ ।

चरनको अभावले गर्दा घाँस धेरै चाहिने भएकाले तराईबाट पराल र दाना ल्याउने गरेको उहाँले बताउनुभयो । उत्पादित दूध वालिङ र गल्याङ बजारमा बिक्री गर्दै आउनुभएका डुम्रेले बाटोको समस्याले गर्दा ढुवानीमा समेत समस्या हुने गरेको बताउनुभयो । 

कृषिमा धेरै युवा लाग्न चाहे पनि असुरक्षाका कारण यसप्रति ढुक्क हुने अवस्था नरहेको उहाँको अनुभव छ ।

पिताम्बरको मासिक खर्च कटाएर आम्दानी डेढ लाख रुपैैयाँसम्म छ । तर कतैबाट पनि अनुदान नपाउँदा र बैंकले सहुलियत दरमा कर्जा नदिँदा व्यक्तिसँग चर्को ब्याजमा ऋण लिएर काम गर्नुपर्दा आम्दानी भएको पैसा ब्याज तिर्दैमा सकिने उहाँको भनाइ छ ।    
 

तपाईको प्रतिक्रिया