साउदीको आकाशमा नलागेको इन्द्रेणी देखेपछि अन्धकार भो अमृतको संसार

 असार २४, २०७५ आइतवार | सन्जिता देवकोटा

खोटाङ – खोटाङको सोल्मा गाउँ । गाउँको सिरानमा छन् दुईटा घर । एउटा घर डिलमुनि, अर्को डिलमाथि । घरको आँगनमा दिनभरि चम्केको घाम सरेर पारी डाँडामा पुगेको छ । आँगन छोडेर त्यही पारी पुगेको घामलाई हेरेझैं गरी अमृतकुमार दाहाल घरको दलानमा बसेर टोलाइरहनुभएको छ । 

तर उहाँलाई न डुब्न लागेको घाम थाहा छ, न वरपर के छ र को आउँदैछ भन्ने पत्तो नै । आँगन छोडेर पारी डुब्न लागेको घामको किरण जस्तै उहाँको आँखाको किरणले पनि साथ छोडिसकेको छ । ६ वर्ष भयो, आँखाको ज्योति गुमेको । 

परिवारमा खुसीको ज्योति छर्न साउदी पुगेको बेला अमृतको आफ्नै आँखाको ज्योति निभ्यो । दुवै आँखाको ज्योति सधैंका लागि गुमेपछि उहाँ आफ्ना परिवारका मान्छे पनि चालले मात्रै चिन्नुहुन्छ । जिन्दगीका उकाली ओराली छामेर नै गर्नुहुन्छ । 

कुबेलामा देखिएको इन्द्रेणी रंगसँगै निभ्यो ज्योति

इन्द्रेणीमा भएको सातवटै रंग बेलामौकामा मात्र देखिन्छ । तर अमृतले साउदीको मजदुर क्याम्पभित्रै इन्द्रेणी देख्नुभयो । कुबेलामा देखिएको त्यो इन्द्रेणीपछि उहाँले कालो रंग बाहेक अर्को रंग देख्नुभएकै छैन । कोठामा बसिरहेकै बेला एकपटक नियालेको त्यो इन्द्रेणी रंगले अमृतको जिन्दगीको रंग नै खोसिदियो । 

२०६६ सालको जेठमा साउदी उड्दा अमृतको बिहे भएको ६ महिना मात्रै भएको थियो । साउदी जानुभन्दा अघि उहाँ कतार जानुभएको थियो । कतारको कमाइले केही गर्न नसकेपछि राम्रो कामको अफर आएपछि उहाँले साउदी जान हतार गर्नुभयो ।

लेबर भिसामा गएका अमृत साउदीमा 'फोर्कलिफ्ट' चलाउनुहुन्थ्यो । ओभरटाइमसहित जोड्दा महिनाको ६० हजार रुपैयाँसम्म बच्थ्यो ।  १८ महिना बितेपछि उहाँको आँखामा समस्या आयो ।

आँखा निकै चिलाउन र रातो हुन थालेपछि उहाँले कम्पनीमा आफ्नो समस्या सुनाउनुभयो । तर साहुले आँखा उपचारमा चासो दिएनन् । ‘मैले त घर फर्किन्छु पनि भनेको हो तर साहुले तीन वर्ष नभइ जान मिल्दैन भने, फेरि मलाई पनि कमाइ हुन्छ भन्ने लाग्यो,’ अमृतले भन्नुभयो । 

कतारमा दुई वर्ष कमाइ नगरी बितेकाले साउदीमा कमाइ हुने काम छाडेर उहाँलाई त्यो बेलामा आँखा चिलाउने निहुँमा घर फर्किन पनि मन लागेन । घरमा आँखा चिलाउँछ त भन्नुभएको थियो, तर आफूलाई भएको पीडा सुनाउनुभएको थिएन । समस्या दिनप्रतिदिन बढे पनि निको हुनेमा विश्वस्त नै हुनुहुन्थ्यो । त्यसरी नै एक वर्ष बित्यो ।

२०६९ को दसैँ आउनै लागेको थियो । गाउँमा दसैँको चहलपहल सुरु भैसकेको थियो । तर साउदीमा अमृतलाई दसैँको रौनकले छोएकै थिएन । अघिपछि सामान्य चिलाउने उहाँको आँखाको समस्या बल्झिन थाल्यो । 

‘निको होला भन्दै बसें, त्यो दिन त इन्द्रेणी जस्तो देखें, अनि झ्याप्पै बन्द भयो,’ अमृतले सम्झनुभयो । कम्पनीले अस्पताल त पुर्‍यायो, तर अस्पतालमा पुगेपछि त अलिअलि देख्ने आँखा पनि सधैका लागि बन्द भयो । 

आँखाको सामान्य उपचार त उहाँले १८ महिनादेखि नै गर्नुभएको थियो । औषधीले निको भएन । कम्पनीले आँखा अस्पताल पुर्याउँदा आँखाको ज्योति गुम्यो । आफ्नो आँखाको ज्योति गुमेको दिन सम्झँदै अमृत भन्नुहुन्छ, ‘औधषी कमजोर भयो कि आफ्नै भाग्य, मैले जानिन ।’आँखाको ज्योति गुमेसँगै विदेशमा कमाएर भर्न बाँकी राखेका जिन्दगी सपनाका ज्योति पनि सधैंका लागि निभ्यो । 

दसैंको बेला भएकाले आँखा देख्न छाड्ने बित्तिकै अमृतले घर फर्किने टिकट पाउनुभएन । २८ दिन साउदीमा छट्पटीमै बिताउनुभयो । तिहारताका बल्ल टिकट त मिल्यो, तर १८ घण्टे बहराइनको ट्रन्जिटले उहाँलाई कम्ता हैरानी दिएन ।

‘अन्धो मानिसलाई विदेशको बडेमानको एअरपोर्टमा कति गाह्रो भयो, बल्ल बल्ल प्रहरी भेट्टाएर उसलाई आफ्नो समस्या सुनाएँ, प्रहरीले नै के के मिलाएर बिमान चढाइदिए,’ अमृत सम्झनुहुन्छ । 

तिहार मनाउन घर फर्किनेका खुसी विमानको भन्दा तीव्र गतीमा उड्दै घर पुगिसकेको थियो । त्यही बिमानमा फर्किएका अमृतको मन भने अन्धकार लिएर घर फर्किन मानिरहेकै थिएन । 

विमानबाट ओर्लेर अमृतलाई आफूले टेकेको आफ्नो ठाउँ हेर्न मन थियो । तर विदेशी भूमिमा हुने कमाइको मोहले खोसेको जिन्दगी सम्झेर अमृतलाई घर फर्किन पाउँदाको उमंग खोसेको थियो । 

खुल्ला आँखाले अँध्यारो खुसी नियाल्दै प्रहरीको सहयोगमा विमानस्थलबाट बाहिरिनुभयो । न त उहाँले तिहार मनाउन आएका दाजुभाइ दिदीबहिनीको खुसी देख्नुभयो, न त आफूलाई लिन आएका दाजुको खिन्न अनुहार । 

पानी ढल्दा जिन्दगीको मियो ढलेझैं भयो

साउदीबाट हिँड्नेबेला अमृतले पत्नीलाई काठमाडौं बोलाउनुभएको थियो । तर आँखाको ज्योति गुमेको कुरा भने सुनाउनुभएको थिएन । 

‘कोठामा त साँझतिर पुगेको थिएँ, सामान्य गफ भयो, खाना खाने बेलामा मात्रै पो आँखा पुरै नदेख्ने हुनुभएको रहेछ भनेर थाहा पाएँ त,’ बिष्मा सम्झनुहुन्छ, ‘दिदीले खाना दिनुभयो, उहाँले यताउता छाम्नुभयो, छाम्दाछाम्दै घप्लक्कै पानी घोप्टियो, त्योबेला त म छाँगाबाट खसे जस्तै भएँ ।’

अमृतले खाना खाँदा थाल नभेटेर पानी ढल्दा बिष्मालाई जिन्दगीको मियो ढलेझैं भयो । भोलिपल्ट श्रीमानलाई लिएर तिलगंगा आँखा अस्पताल पुग्नुभयो । तर जलबिन्दु भएकाले अमृतले कहिल्यै पनि आँखा देख्न नसक्ने डाक्टरले सुनाए । 

आँखा मात्र चिलाउँछ भनेका श्रीमानको आँखाको ज्योति सधैंको लागि गुमेको थाहा पाउँदा बिष्माले पनि श्रीमानले जस्तै संसार अँध्यारो देख्नुभयो । ‘के गर्ने, कसो गर्ने, किन ढाँटेका होलान जस्तो मात्र लाग्यो मैले त केही देखिन्, केही सोच्दै सकिन,’ बिष्माले लामो सास तान्नुभयो ।

बिहे भएको ६ महिनामै परदेश लागेका अमृतले पत्नीलाई धित मर्नेगरी हेर्न पाउनुभएकै थिएन । बिष्माले पनि पतिसँगै बसेर संसार हेर्न पाउनुभएकै थिएन । जे भयो, भयो । बिष्माले अमृतलाई सम्हाल्नुभयो । अब श्रीमानलाई पनि आफ्नै आँखाले संसार देखाउने निधो गर्नुभयो । 

काठमाडौंबाट घर ल्याउनुभयो । आँखा नदेख्दा अमृतलाई चर्पी जानसम्म पनि कम्ता गाह्रो परेन । बिष्माले नै डोहोर्याएर चर्पीसम्म पुर्‍याउनुभयो । ‘केही थाहा नहुने, जता पनि डोरोर्‍याउन पर्ने, कहिले त लुगा पनि उल्टो लगाइराख्नुहुन्छ, फेरिदियो, नुहाइदियो,’ बिष्माका आँखा आँसुले भरिए ।

अमृत फर्किएपछि छोराछोरी जन्मिए । बिष्माले छोरा र पतिलाई सँगसँगै स्यार्हानुभयो । ‘छोराछोरी हिँड्ने भएपछि लड्छन् कि भन्ने डर, उता उ पनि यताउता हिँड्दा लडिरहने हो कि भन्ने चिन्ता,’ बिष्मा छेवैमा बसेका श्रीमानलाई हेर्दै रुनुभयो । 

संसार र सन्तान हेर्ने आश मर्यो

६ वर्ष भयो, अमृतको आँखाको ज्योति गुमेको । अमृतको अवस्था उस्तै छ । तर परिवारको अवस्था भने झनझन बिग्रदै छ । आँखा निको होला कि भनेर सुनेजति ठाउँमा उपचार गर्नुभयो ।

ज्योतिषी र धामीझाँक्री पनि लगाउनुभयो । तर आँखा निको हुने कुनै संकेत नै गरेन । केही गर्दा पनि आँखा निको हुने संकेत नदेखेपछि अमृतले फेरि उज्यालो संसार र आफ्ना सन्तान हेर्ने आश मार्नुभएको छ । 

‘अब त आशै सकियो, छोराछोरी र आमाको अनुहार हेर्न पाइनँ, सम्झदा दुःख लाग्छ के गर्नु यस्तै रहेछ भाग्य,’ अमृत चित्त बुझएझैं गर्नुहुन्छ । सुरुका दिनमा घर वरपर हिँडडुल गर्न गाह्रो भएपनि अहिले अमृतलाई बानी पर्न थालेको छ ।

हिजोआज काटेर राखेको घाँस अमृतले छामेर भए पनि वस्तुभाउलाई हाल्नसम्म सक्नुहुन्छ । ‘अनुभवले नै सहज बनाउँदो रहेछ, अहिले त अनुभव भयो, यहाँबाट यहाँ टेक्दा हुँदोरहेछ भन्ने भयो,’ अमृत सुनाउनुहुन्छ । 

सबैले अमृतलाई तेरो जिन्दगी त यतिकै जाने भयो भने । तर अमृतलाई परिवारको दरिलो साथ भएकाले आफ्नो बाँकी जिन्दगीको पीर भन्दा पनि परिवार राम्रो होस् भन्ने लाग्छ । 

अमृतको आँखामा महिनाको तीनहजार रुपैयाँको औषधी लगाउनु पर्छ । ‘औषधी नलगाए त खाटबाट उठ्न पनि सक्नुहुन्न, अब कमाउने मान्छे नै त्यस्तो भएपछि मैले के गरेर औषधी लगाउछुँ होला मलाई नै थाहा छैन,’ विष्मा भन्नुहुन्छ ।

अहिले मलेसिया गएका अमृतका भाइले औषधी उपचारमा सहयोग गरिरहेका छन् । तर सधैं भाइले मात्र खर्च गरेर जीवन कसरी चलाउनु भन्ने लाग्छ अमृतलाई ।

अमृतका छोरा त स्कुल जान थालिसके । छोरीलाई पनि स्कुल पठाउने बेला हुन लागिसक्यो । बालबच्चा बढ्दै गर्दा अब श्रीमानको औषधी खर्च र पढाइ खर्च कसरी पुर्‍याउने भन्ने चिन्ता छ बिष्मालाई ।

अमृतले अहिलेसम्म कतैबाट सहयोग र क्षतिपूर्ति पाउनुभएको छैन । विदेशबाट अंगभंग भएर वा बिमार भएर फर्किनेले क्षर्तिपूर्ति पाउँछन् भन्ने पनि उहाँहरुले पहिले थाहा पाउनुभएन । 

घरमा आम्दानीको स्रोत छैन । उपचारमै भएको सम्पत्ति पनि सक्किने भयो भन्ने चिन्ता छ अमृतलाई । तर बिष्मालाई कसैको सहयोग नभए पनि सानोतिनो जागिर पाए बाँकी जिन्दगी आफैं चलाउन सक्छु भन्ने लाग्छ । 

 

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया