विदेशबाट ल्याउन पाउने सामानको नयाँ सूची

 साउन २, २०७६ बिहिबार १२:३८:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यसअघिको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको हो । 

नयाँ व्यवस्थाअनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको सुन वा चाँदीका गहना, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोवाइल फोन र पेनड्राइभ एक एक थान, सात किलोसम्म खाद्य, एक लिटरसम्म मदिरा लगायत समानमा पूर्ण भन्सार छूट हुनेछ ।

यस्तै भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

यसैगरी नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था गरेको छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था छ । त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुनेछ । 

यस्तै नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट हुनेछ ।
 

तपाईको प्रतिक्रिया