सामाजिक सुरक्षा योजनाको कार्यविधिमा के के भए संशोधन ?

 साउन ३, २०७६ शुक्रबार २१:३६:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ - योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै रोजगारदाता र श्रमिकलाई समेट्ने उदेश्यले सरकारले कार्यविधिमा संशोधन र थपघट गरेको छ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाता र श्रमिकको संख्या नगण्य भएपछि सरकारले सबैलाई समेट्ने उदेश्यले कार्यविधिका केही बुँदा हेरफेर गरेको हो ।

कार्यविधिमा पहिलो संशोधन गर्दै साउन १ गतेदेखि नै सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । यसअघि देखिएको अन्योल र अस्पष्टता सम्बोधन हुने गरी कार्यविधिमा संशोधन तथा थपघट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

के के मा भयो संशोधन र थपघट ?

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा २३ वटा संशोधन तथा हेरफेर गरिएको छ ।  यस योजनाअन्तर्गत पाइने सेवा, सुविधाको व्यवस्था सरल र सहज हुनेगरी संशोधन गरिएको हो । 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी योजना

संशोधित कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा कम्तीमा तीन महिना योगदान गर्ने योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी सुविधा पाउनेछन् । यस्तो सुविधा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनाको अवधिसम्म लागू रहने उल्लेख छ । 

यो सुविधा प्राप्त गर्ने योगदानकर्ताले सरकार वा अन्य विमा योजना बमोजिम कुनै स्वास्थ्य सुविधा लिन पाउने भएमा त्यस्तो सुविधा लिन यस कार्यविधिमा लेखिएको कुनै कुराले बाधा पर्ने छैन भन्ने व्यवस्था थप गरिएको छ । 

दुर्घटना तथा अशक्तता सुरक्षा योजना 

सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो व्यवस्था लागू हुने व्यवस्था थप गरिएको छ । योगदान गर्न छाडेपछि यो सुविधा नपाइने  उल्लेख छ ।

यस्तै व्यवसायजन्य रोगको उपचार तथा यससँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउने र यस्तो सुविधा योगदान गर्न छाडेको दुई वर्षको अवधिसम्म लागू रहने व्यवस्था गरिएको छ ।

यही योजनामा रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ । सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि भने यस योजनामा सहभागी भएको मानिनेछ र योगदान गर्न छाडेपछि यो सुविधा प्रदान गरिने छैन ।

यसमा असक्षमता प्रतिशतको आधारमा प्रदान गरिने निवृत्तिभरण रकममा विमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्र स्फीफीति समायोजन गरिने बुँदा थप गरिएको छ ।

आश्रित परिवार सुरक्षा योजना

यो योजना अन्तर्गत जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निजले जीवनभर निवृत्तिभरण पाउने व्यवस्था मिलाइएको छ  ।

तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा पाइने छैन । तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भई वृद्धावस्था अन्तर्गतको निवृत्तिभरण प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवेदन दिई यस परिच्छेद बमोजिमको निवृत्तिभरण सुविधा माग गर्न सकिनेछ ।

यस परिच्छेद बमोजिम प्रदान गरिने निवृत्तिभरण रकममा बिमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिनेछ ।

यस्तै योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिकवृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ ।

तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । 

यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काईस वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिनेछ । तर उसको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन ।

तर कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागूहुने छैन । 

यस्तै योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बाबु आमा रहेछन् भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा प्रदान गरिनेछ ।

तर बाबु आमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ । तर उनीहरुको वैकल्पिक रोजगार रहेको वा निजले अन्यत्रबाट यसमा लेखिएको भन्दा बढी सुविधा पाउने रहेछ भने यो सुविधा पाउने छैन । 

यही योजना अन्तर्गत जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी, अस्थाई असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई पच्चीस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइने पनि संशोधित कार्यविधिमा उल्लेख छ ।

वृद्ध अवस्था सुरक्षा योजना

संशोधित कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो योजनामा सहभागी भएको मानिनेछ । 

कोषमा योगदान शुरु हुनुभन्दा अगाडि प्रचलित कानून वमोजिम सञ्चालनमा रहेका अरु अवकाश योजनामा उपदान, सञ्चयकोष जम्मा गर्ने वा रोजगार दाताको जिम्मामा रहेको योगदानकर्ताको श्रमिकको रकम सम्बन्धमा देहाय बमोजिम हुनेछ :

(क) कुनै योगदानकर्ता श्रमिकले त्यस्तो रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न चाहेमा कोषको सञ्चालक समितिले तोकेको मितिवाट श्रम ऐन २०७४ को दफा ५२ को उपदफा (५) र दफा ५३ को उपदफा (५) तथा श्रम नियमावली २०७५ को परिच्छेद ५ बमोजिम कोषमा रकम हस्तान्तरणको व्यवस्था मिलाइनेछ ।

(ख) खण्ड (क) बमोजिमको रकम हस्तान्तरण प्रयोजनको लागि कोषले सम्बन्धित अवकाश कोषसंग वा रोजगादातासंग समन्वय गर्नेछ ।

(ग) खण्ड (क) मा उल्लेख गरिए बमोजिम कुनै श्रमिकले कोषमा योगदान शुरु गरेको मितिभन्दा अगाडिको सञ्चयकोष र उपदान बापतको रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न नचाहेमा कोषमा योगदान शुरु गर्ने मितिभन्दा अगाडिको त्यस्तो रकम सम्बन्धित श्रमिकले आफँै भुक्तानी लिन वा प्रचलित कानून बमोजिम सञ्चालनमा रहेको अन्य अवकाश कोषमा रहेको रकम सोही कोषमा नै राख्न सक्नेछ । 

यस्तै निवृत्तभरण सुरक्षा योजनामा देहाय बमोजिमका श्रमिकहरु समावेश हुनेछन्ः– 

(क) २०७६ साल साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिकहरु, 

(ख) प्रचलित कानून बमोजिमको सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरुको हकमा निजहरुले लिखित रुपमा निवेदन दिएमा यस योजनामा सहभागी हुन सक्नेछन् । 

निवृत्तभरण योजना अन्तर्गत पाउने सुविधामा पनि प्रष्ट पार्न खोजिएको छ । संशोधित कार्यविधिअनुसार कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउनेकूल योगदान रकम .एकमुष्ठ रुपमा प्रदान गरिनेछ ।

निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्नेछ ।

तर कुनै योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पुरा भएको रहेछ भने त्यस्तो योगदानकर्ताले निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ रुपमा लिन वा कुल रकमलाई १८० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्नेछ । 

अवकाश सुविधा लिनको लागि निवृत्तभरण योजना लागूहुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले निवृत्तभरणको लागि निवेदन नदिएमा दफा १९ को उपदफा (१) बमोजिम कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम अवकाश हुँदा एकमुष्ठ भुक्तानी पाउने व्यवस्था कार्यविधिमा थपिएको छ ।

यसैगरी विदेशी नागरिकले रोजगार सम्बन्ध समाप्त भएपछि जुनसुकै समयमा कोषमा रहेको वृद्ध अवस्था सुविधा योजना बमोजिम पाउने रकम फिर्ता लैजान सक्नेछ ।

कुनै विदेशी नागरिकको नेपालमा कार्यरत रहँदै वा सेवा समाप्त भएपछि रकम फिर्ता लिनु अगाडि मृत्यु भएमा निजले ईच्छाएको व्यक्ति वा हकवालालाई कोषले रकम भुक्तानी गर्नेछ ।

कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्यागी विदेशी नागरिकता लिएकोमा त्यसको प्रमाण सहित निवेदन दिएमा विदेशी नागरिक सरह कोषले रकम फिर्ता दिनेछ । 

निवृत्तभरण रकममा बिमाको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिने व्यवस्था पनि मिलाइको छ ।

यसैगरी कुनै योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न शुरु गरे पछि १८० महिना निवृत्तभरण नपाउँदै मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी नभएको वा निवृत्तभरण पाउने अवस्था नभएमा मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तभरण प्रदान गरिनेछ ।

तर योगदानकर्तासँग निजको वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान नगरिने संशोधित कार्यविधिमा उल्लेख छ ।नेपाल सरकार वा अन्यत्रबाट निवृत्तभरण पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तभरणको लागि योग्य भएमा कोषबाट निवृत्तभरण लिन बाधा नपर्ने व्यवस्था कार्यविधिमा थपिएको छ । 

संशोधित कार्यविधिअनुसार साठी वर्ष उमेर पूरा गरेर पनि श्रम सम्बन्ध कायम रहेका व्यक्ति स्वेच्छाले सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछन् ।

संशोधित कार्यविधिअनुसार नेपाल सरकार वा अन्यत्रबाट निवृत्तभरण पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तभरणको लागि योग्य भएमा कोषबाट निवृत्तभरण लिन बाधा पर्ने छैन ।

यस्तै साठी वर्ष उमेर पुरा गरेर पनि श्रम सम्बन्ध कायम रहेका व्यक्ति स्वेच्छाले सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछन् ।यसैगरी सम्बन्धित निवेदक वा निजको हकवालालाई सुविधा वापतको रकम बैंक खाता मार्फत्मात्र भुक्तानी दिइने व्यवस्था पनि कार्यविधिमा थप गरिएको छ ।

साथै निवृत्तभरण पाउने उमेर नपुगेको कुनै श्रमिकको सेवा समाप्त भएको वा एउटा सेवा समाप्त भई अर्को सेवा शुरु नभएको अवस्थामा पनि उसले सामाजिक सुरक्षा योजनामा निरन्तरता दिन चाहेमा योगदानको सम्पूर्ण रकम स्वयंले व्यहोरी योजनामा निरन्तरता दिन सक्नेछ । यसरी योगदान गर्दा योगदानको रकम कोषले तोकेको खातामा जम्मा गर्नु पर्नेछ । 

तपाईको प्रतिक्रिया