आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

 साउन ५, २०७६ आइतबार १८:६:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले आउँदो कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’  आयोजना गर्ने भएको छ । 

फाेटाे : राष्ट्रिय मानव अधिकार आयोग

आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न आउँदो कात्तिक २६ देखि २८ गतेसम्म काठमाण्डौमा सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ । 

आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको भन्दै नेपाल तथा दक्षिण एसियाबाट खाडीका देशलगायतमा काम गर्ने कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताउनुभयो । 

आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एसिया प्रशान्त क्षेत्रका उत्पत्ति देश र गन्तव्य देशमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुने आयोगले जनाएको छ । 
    
 

तपाईको प्रतिक्रिया