आजको 'देश परदेश'मा विदेशबाट फर्किएर उदाहरणीय काम गर्नेका अनुभव र भाेगाइ

 साउन ७, २०७६ मंगलबार ५:५८:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – परिवारमा काम गर्न सक्ने मान्छे विदेश जाँदा घर व्यवहार चलाउन मुश्किल हुन्छ । त्यसमाथि श्रीमान परदेशिएपछि छोराछोरी हुर्काउनदेखि घरको काम धान्न श्रीमतीले झन् धेरै भुक्तमान खप्नुपर्छ ।

तर केही गर्छु भन्ने आँट र जाँगर भएकाले यस्ता भुक्तमान पन्छाउँदै सफलता हात पारेका छन् । भोजपुरकी शर्मिला अधिकारी यसकै उदाहरण हुनुहुन्छ ।

टनेलभित्र लटरम्म फलेका गोंलभेंडा शर्मिला अधिकारीलाई सुन फलेजस्तै भएको छ । कीर्तिपुरको पाँगामा रहेको उहाँको राम – लक्ष्मण अर्गानिक एग्रिकल्चर फर्ममा लौका र करेला पनि उसैगरी लहलह भएर फलेका छन् । 

यूएईमा ४ वर्ष ब्यूटीपार्लरमा काम गरेर फर्किएपछि शर्मिलाले आफ्नै माटोमा खनीखोस्री थाल्नुभएको हो । उहाँ आफू मात्र स्वरोजगार हुनुभएको छैन, अरु पाँच जनालाई समेत नियमित रोजगारी दिनुभएको छ । विदेशबाट फर्केर आफ्नै देशमा उदाहरणीय काम गर्ने शर्मिलालाई सरकारले यस वर्षको युवा उद्यमी पुरस्कारबाट सम्मान गर्‍यो । 

१५ वर्ष यूएईको पाँचतारे होटलमा काम गरेर फर्किएका शर्मिलाकी श्रीमान निरबहादुर पनि युवा उद्यमी पुरस्कारबाट सम्मानित हुनुभयो । परदेशमा बिताएका वर्षसँगै कमाइ र सेवा सुविधा पनि बढेको थियो ।

तर निरबहादुरको मन त्यसमा रमेन । स्वदेश फर्किएर उहाँले काठमाण्डौ नागार्जुन नगरपालिकाको रामकोटमा १ सय १८ रोपनी जग्गामा तरकारी खेती थाल्नुभयो । आफ्नो पुख्र्यौली ठाउँ भोजपुरमा पनि किबी र अलैची खेती गर्नुभएको छ । ४० जनालाई नियमित रोजगारी दिइरहेका निरबहादुरलाई आफ्नै माटोमा खनीखोस्री गर्दा आत्मसन्तुष्टी मिलेको छ ।

शर्मिला र निरबहादुर दम्पतीले जस्तै परदेशको दुःख बुझेपछि सुर्खेत वीरेन्द्रनगरकी राधादेवी पोख्रेलले आफ्नै ठाउँमा किराना पसल चलाएर घरव्यवहार चलाइरहनुभएको छ । सुखी जीवनको कल्पना गर्दै उहाँ आठ वर्षअघि साउदी अरब र ओमान जानुभएको थियो ।

तर घरेलु काममा गएकाले काम र कमाइ राम्रो भएन । फर्किएपछि आफ्नै गाउँमा गरेको किराना पसले उहाँको खुशी फर्काइदिएको छ । 

राधादेवी र शर्मिलाले आफैं विदेश पुगेर त्यहाँको दुःख देख्नुभयो । गोरखाकी उर्मिला थापाले चाहिँ श्रीमान विदेश पुगेपछि दुवैतिरको दुःख बुझ्नुभयो । काठमाण्डौको कीर्तिपुर नजिकै सुन्दरीघाटमा चिया पसल चलाएर उहाँले बहराइनमा रहेका श्रीमानलाई सुन्दर सपना देखाउनुभयो र स्वदेश फर्काउनुभयो ।

श्रीमानको बहराइनमा हुने कमाइलाई उर्मिलाले बेच्ने चियाको आम्दानीले जित्यो । त्यसपछि घरबिदामा आएका उहाँका श्रीमानलाई परदेश जानबाट रोक्यो । 

परदेशमा दुःख भोगेपछि स्वदेश फर्केर काममा रमाइरहेका शर्मिला र निरबहादुर दम्पती, राधादेवी र विदेश गएका श्रीमानलाई देशमै कमाएर देखाएकी उर्मिलाका अनुभव र भोगाइ उज्यालोमा साउन ७ गते मंगलबार बिहान ८ः२० बजे प्रसारण हुने कार्यक्रम ‘देश परदेश’काे ३६९ अंकमा सुन्नुहोला । 
 

तपाईको प्रतिक्रिया