यूएईको सान छोडेका नवराजलाई नेपालमा सम्मान

 साउन १९, २०७६ आइतबार १८:५१:२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – कुनै समय क्याम्पसको खर्च जुटाउन किराना पसल चलाएका नवराज पौडेल अहिले उद्यमी बन्नुभएको छ । यूएईमा प्रतिष्ठित कम्पनीमा एकाउन्टिङको काम छोडेर नेपालमा व्यवसाय थालेको चार वर्षमै सरकारले उहाँलाई सम्मान पनि गर्‍याे । 

वैदेशिक रोजगारीबाट फर्केका नेपालमै उद्यम गरेर रोजगारी सिर्जना गरिरहेका युवामध्येबाट उहाँ उत्कृष्ट युवा उद्यमी घोषित हुनुभयाे ।

सम्मान ग्रहण गर्न असारको अन्तिमतिर बारा निजगढबाट उहाँ काठमाण्डौ आउनुभएको थियो । सम्मान ग्रहण गर्दै गर्दा उहाँका आँखा रसाए । दिमागमा विगतको झझल्को फनफनी घुम्न थाल्यो । अनि सम्झिनुभयो, किराना पसल कुर्दै होमवर्क गर्दाका ती पुराना क्षण । 

त्यो बेला, होमवर्क गर्दा हिसाबको उत्तर केलाउनेमा भन्दा अझै राम्रो व्यवसाय के हुन सक्छ भन्नेमा उहाँको ध्यान दौडिन्थ्यो । ठूलो उद्योग चलाएको सपना देख्नुहुन्थ्यो । तर अहिले साँच्चिकै ठूलो उद्योग चलाइरहनुभएको छ ।

कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्म । नेपालमै पहिलो स्वचालित चल्ला कोरल्ने प्रविधिमा उहाँले पोल्ट्री फर्म स्थापना गर्नुभयो । उहाँ त्यसै उद्योगको व्यवस्थापन निर्देशक हुनुहुन्छ ।

कुनैबेला आफूले देख्ने गरेको सपना जब विपनामा परिणत हुन्छ अनि के हुन्छ ? यही प्रश्नलाई चिर्दै उहाँ भन्नुहुन्छ, ‘समयले कहाँबाट कहाँसम्म पुर्याउँदो रहेछ ।’

संघर्षका ती दिन 

ठाकुरराम क्याम्पस । बिहान पढाइ हुन्थ्यो । ११/१२ कक्षा पढ्दा सहपाठीहरु छुट्टी भएपछि साइकल चढेर घरतिर दुगुर्थे । नवराज भने होलसेल पसलतिर लाग्नुहुन्थ्यो । उहाँलाई क्याम्पस छुट्टी भएपछि घर फर्किएर खाना खाने भोकभन्दा बजारबाट सामान किनेर आफ्नो पसल चलाउने भोक बढ्ता थियो ।

सानै उमेरमा बुवाको सहारा छुटेसँगै नवराजका रहरहरु पनि टाढिए । घरमा आम्दानीको बाटो केही थिएन । बाध्यता र जिम्मेवारीको बोझले किशोर अवस्थामै कमाउनुपर्छ भन्ने पाठ सिकायो । 

निजगढमा १२ कक्षाको परीक्षा सकिंदासम्म २ वर्ष किराना पसल चलाउनुभयो । पसलको आम्दानीले आफ्नो पढाइ खर्च साथसाथै घर खर्च पनि राम्रैसँग चल्थ्यो ।

१२ कक्षा उत्तीर्ण भएपछि पढ्नको लागि काठमाण्डौ आउनुभयो । तर यहाँ आएर पनि केही काम नगरी सुख थिएन । उहाँले आफ्नो व्यापारिक अनुभवलाई काठमाण्डौमा पनि उतार्नुभयो । घडी र चामलको व्यापार गर्दै बिते तीन वर्ष । 

त्योबेला उहाँको दाइ राजनीतिमा हुनुहुन्थ्यो । काठमाण्डौ बसाइमा दाइको सहयोगले उहाँलाई ११/१२ पढ्दा जस्तो अप्ठ्यारो भने थिएन । तर पनि आफूलाई उत्पादनशिल बनाइराख्नुपर्छ भन्ने भावनाले उहाँले केही न केही काम गरिराख्नुभयो ।

स्नातक र स्नातकोत्तर दुवै नेपाल कमर्स क्याम्पसबाट गर्नुभयो । स्नातकोत्तर पढ्दा भने उहाँले घडी र चामलको व्यापार छाडेर नयाँ काम गर्ने सोच्नुभयो । शैक्षिक योग्यता अनुकूल हुने काम गरौँ भन्ने सोचेर पनि नयाँ काम खोज्नुभयो । धेरै ठाउँमा आफ्नो बायोडाटा दिनुभयो । कतिपय कम्पनीमा अन्तर्वार्ता पनि दिनुभयो । 

तर उहाँलाई चित्त बुझ्यो गाडी अर्गनाइजेसनको काम । त्यो कम्पनीले यूएनमा घ्यू ढूवानी गर्ने काम गथ्र्यो । उहाँले त्यही कम्पनीमा यूएन र नेपाल पौष्टिक आहारको विभाग हेर्नुहुन्थ्यो ।

सबै राम्रै चलिरहेको थियो । डिग्री पनि सकाउनुभएको थियो, त्यो पनि व्यवस्थापन संकायमा । बैंकहरुमा काम खोजे जति पनि पाइन्थ्यो । गाडी अर्गनाइजेसनमा काम गर्दै गर्दा राम्रै कम्पनीमा पनि कामको लागि अफर नआएका होइनन् । तर नवराजलाई भने एकपटक विदेश गएर पनि हेरौँ न भन्ने लाग्यो ।

खाडी बसाई

नवराजलाई धेरै पैसा जम्मा पारेर आफ्नै व्यवसाय गर्न हतार थियो । नेपालमा राम्रै कम्पनीमा दुई वर्ष काम गर्दा पनि धेरै पैसा बचत गर्न नसकेपछि उहाँको मनमा वैदेशिक रोजगारीको भूत चढ्यो ।

उमेरले २८ वसन्त पार गर्दै थियो । जीवनको २९ औँ वसन्तको पालुवा नपलाउँदै खाडीको गर्मीमा समायोजित हुन दुबई पुग्नुभयो, सन् २००३ मा । त्यहाँ पनि उहाँ फाइनान्समै काम गर्ने भनेर जानुभएको थियो ।

भने अनुसार नै काम मिल्यो । त्यतिबेला उहाँको तलब सुन्दा त्यहाँ काम गर्ने अरु नेपाली साथी भाइहरु भन्ने गर्थे, ‘अब नवराजको त दुबईमै ‘लाइफ स्याटल’ हुनेभयो’, तर उहाँलाई त्यो कुराले घोच्थ्यो ।

‘मलाई दुबईमा धेरै बस्नु नै थिएन, तीन वर्ष मात्र बस्ने र थोरै पैसा जम्मा पारेर गाउँमै केही व्यवसाय गर्ने सोच थियो’, उहाँले भावुक हुँदै भन्नुभयो, ‘एकदमै सामान्य परिवारमा जन्मेको मान्छे, पहिलेदेखि नै आर्थिक रुपमा कमजोर परिवार थियो, केही कमाएर पैसा जम्मा गरौँ भन्ने सोचेर म यूएई गएको थिएँ ।’

दक्ष नेपालीहरु नगन्य मात्रामा मात्र खाडी पुग्छन् । त्यही नगन्य संख्यामा नवराज पनि मिसिनुभयो । त्यहाँ उहाँले ‘हेड अफ फाइनान्स’ भएर काम गर्नुभयो । 
तीन वर्ष जति उता बस्ने सोच बनाएर उहाँ दुबई जानुभएको थियो ।

त्यही बीचमा उहाँले बिहे पनि गर्नुभयाे । काम गर्ने कम्पनीमा 'फ्याम्ली फ्यासिलिटी' पनि थियाे ।आफ्नो परिवारलाई पनि आफूसँगै राख्न पाउनुभएको थियो। छोराछोरी उतैको बोर्डिङ स्कुलमा पढ्थे । उनीहरुको पढाइदेखि पूरै परिवारको गास वास कपास, स्वास्थ्य सबै खर्च कम्पनीले नै व्यहोर्थ्याे ।

त्यो बेला उहाँको मासिक ३ लाख रुपैया भन्दा बढी बचत हुन्थ्यो । फर्केर नेपाल आउनुपर्ने केही थिएन । झन् बुवाआमालाई पनि उतै लगेर राख्न सक्नुहुन्थ्यो । कामको मात्र होइन सम्मानको पनि कमी थिएन । ठूला कम्पनीका हिसाब सम्हाल्नुहुन्थ्यो । फाइनान्स हेड भएर । त्यहीँ काम गर्ने क्रममा उहाँले अष्ट्रेलिया, यूरोपका देशहरु, जापान, सिङ्गापुर घुम्ने मौका पनि पाउनुभयो । 

‘एक प्रकारले भन्ने हो भने त्यहाँ कुनै पनि कुराको अभाव थिएन’, उहाँले भन्नुभयो, ‘एउटै कुराले तर्साइरहन्थ्यो, त्यो थियो नेपाल गएर आफ्नै व्यवसाय गर्ने छटपटी !’
त्यही छटपटीले गर्दा होला साथीभाइहरुले भन्ने गरेको जस्तो आफ्नो पुरै जिन्दगी दुबईमा बिताउन सक्नुभएन ।

दुबईको आकर्षक जागिरले उहाँलाई केही वर्ष थप काम गर्न हौस्याइरहयो । तर त्यहीँ टिकाउन भने सकेन । ११ वर्षको दुबई बसाईपछि अन्त्यमा उहाँ सन् २०१४ मा नेपाल फर्किनुभयो ।

आफ्नै व्यवसाय रमाइलो

नवराज दुबईमा हुँदा उहाँका भाइ(मामाका छोरा) ऋषि बडाल काठमाण्डौमा पोल्ट्रीफर्म चलाइरहनुभएको थियो ।

दुबईमा हुँदा पनि नवराज र ऋषिको बेलाबेला कुरा भइराख्थ्यो । कुरा व्यवसाय सम्बन्धी नै हुन्थे । भाइले नेपालमा ब्रोइलर कुखुराको राम्रो बजार छ भन्ने सुझाएपछि नवराजले पनि सहमति जनाउनु भयो । तर उहाँले व्यवसाय गरेपछि अलि धेरै लगानीमा गुणस्तरीय उत्पादन दिने सोच्नुभयो ।

नवराज यूएईबाट फर्केको केही महिनामै दुवैजनाको ४ करोड लगानीमा खुल्यो कान्तिपुर पोट्रिफर्म । पाँचओटा ठूलाठूला भवनसहित पाँच बिघा क्षैत्रफलमा फैलिएको छ फर्म । त्यसको लागि चाहिने प्लान्टहरु मलेसियाबाट ल्याइएका छन् । 

जम्मा ४० जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा विशेषज्ञ डाक्टरदेखि ईञ्जिनियरसहित १६ जना दक्ष कामदार छन् । कम्पनीले वार्षिक दश करोड रुपैयाँ बराबरको कारोबर गर्छ ।

नवराजलाई लाग्छ, पूँजीभन्दा बढी महत्वपूर्ण कामदार हुन्छन् । 

‘हाम्रो कम्पनीमा ८० हजार रुपैयाँ तलब खानेसम्मका स्टाफहरु हुनुहुन्छ’, काम र कामदारको कुरा गर्दै गर्दा विगत सम्झँदै उहाँले भन्नुभयो, ‘उबेला, काठमाण्डौमा पढ्दै गर्दा ६ हजारको जागिर गरिन्थ्यो ।’

यसरी हुन्छ उत्पादन

सुरुमा १ दिने प्यारेन्ट चल्ला विदेशबाट ल्याउनुपर्छ । नेपालमा एकठाउँमा यस्तो चल्ला पाइने भए पनि समयमै उपलब्ध गर्न नसक्ने भएकोले नवराज ती चल्लाहरु फिलिपिन्सबाट मगाउनुहुन्छ ।

प्यारेन्ट चल्ला राख्ने स्वचालित हाउस हुन्छ । जसमा पानी, औषधी, दाना दिनेदेखि उपचारसम्म स्वचालित रुपमा हुने गर्छ । ती प्यारेन्ट चल्लालाई ६ महिनासम्म हुर्काइएपछि अण्डा दिन योग्य बन्छन् । ६ महिनापछि अण्डा दिन थालेपछि त्यो अण्डालाई ‘स्याटर’मा १८ दिन र ‘ह्याचर’मा ३ दिन राखेपछि स्वतः चल्ला निस्किन्छन् । यसलाई ह्याचरिङ विधि भनिन्छ । यसरी निस्किएको चल्लालाई जन्मेकै दिन किसानसम्म पुर्याइसक्नुपर्ने हुन्छ ।

‘जति घण्टा ह्याचरीमा राख्यो त्यति धेरै गुणस्तरमा ह्रास आउँछ’, उहाँले भन्नुभयो, ‘त्यही भएर यसको नाम एकदिने चल्ला राखिएको हो ।’

यसरी कान्तिपुर पोल्ट्रीफर्मबाट हप्तामा ६० हजार चल्ला उत्पादन हुन्छन् । उत्पादित चल्लालाई उहाँले प्रदेश १, २ र ३ का सबै जिल्लामा पुर्‍याउनुहुन्छ ।

‘हाम्रो उद्येश्य भनेको कृषकसम्म गुणस्तरीय चल्ला पुर्याउने भन्ने हो’, उहाँ भन्नुहुन्छ, ‘यो चल्ला उत्पादन भएको एक दिनमै कृषकको फार्ममा पुगिसक्नुपर्ने हुन्छ, यहाँको सडक सञ्जालले गर्दा पनि टाढाटाढासम्म पुर्याउन सकिंदैन ।’ 

व्यवसाय सञ्चालन गर्दाका जोखिम

व्यवसाय सञ्चालन गर्नु आफैंमा जोखिमपूर्ण काम हो । दुबईको ढुक्कको आकर्षक तलबसहितको काम छाडेर आफ्नै देशमा व्यवसाय गर्दा नवराजले पनि धेरै जोखिम बहन गर्नुपर्‍याे, तर रत्तिभर डगमगाउनुभएन ।

एकपटक उहाँको फ्याक्ट्रीबाट निस्केको फोहोरले वातावरण दुषित बनायो भनेर त्यहाँका बासिन्दाले बिरोध गरे । त्यसको सकसपूर्ण सामना गर्नुपर्यो । त्यो त केही ठूलो समस्या थिएन । उद्योग स्थापना भएको दुई वर्षमै कम्पनीमा आगलागी भयो । त्यसमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति व्यहोर्नुपर्र्यो ।

त्यसले उत्पादनमा पारेको असरले ग्राहकसँगको सम्बन्ध पनि बिग्रियो । त्यसले दिएको चोट आलो घाउ बनेर अहिले पनि चहर्याइरहेको छ । अफशोचको कुरा त के भने त्यो आगलागीको कारण अहिले पनि पत्ता लाग्न सकेको छैन ।

‘प्रहरीले बिजुली सट भएको भनेर रिपोर्ट बनायो तर त्यतिबेलासम्म हामीले त्यो भवनमा बिद्युत जडान गरिसकेका थिएनौँ’, उहाँले भन्नुभयो, ‘बाहिर विभिन्न हल्ला चले, घटना शंकास्पद भएर नै रह्यो ।’

देशप्रतिको मायाले यसै भूमिमा उद्यमी बनेकाहरुलाई विदेशबाट सामान आयात गर्नु नपरोस् भन्ने लाग्नु स्वभाविक हो । नवराजलाई पनि यो भावनाले पिरोलिरहन्छ । 
कुखुराको लागि चाहिने दाना आफैले बनाए पनि त्यसको लागि चाहिने कच्चापदार्थ (कोदो,मकै, गहुँ आदि) बाहिरी देशबाट ल्याउनुपर्ने अवस्था छ । उहाँ आफै पनि चल्ला, चल्लाको दानाकाे कच्चापदार्थ तथा औषधिको लागि करोडौँ रुपैयाँ बाहिरी देश पठाउनुहुन्छ ।

‘हाम्रो देशमा उत्पादित कच्चा पदार्थले तीन महिनाको लागि पनि पुग्दैन’, उहाँ भन्नुहुन्छ, ‘सरकारले कृषकलाई अनुदान दिएर कृषि उत्पादनमा जोड दिने हो भने वार्षिक रुपमा बाहिरिने हामीहरुको करोडौँ रुपैयाँ देशमै रहने थियो ।’

आखिर रमाउने हो 

परिवारमा आमा, श्रीमती, दुईटा छोराछोरीसँगै चारजना दाजुभाइ र दिदी हुनुहुन्छ । परिवारसँग रमाएर स्वदेशमै बस्नुभएको छ । त्यही भएर त नवराजलाई दुबईको गर्मी भन्दा बारा निजगढको गर्मी मन पर्छ ।

‘जिन्दगी भनेको आखिर रमाउने हो, सकेसम्म देशमै रमाएको राम्रो’ उहाँ थप्नुहुन्छ, ‘आफ्नै व्यवसायमा रमाएको झनै राम्रो ।’

अर्काको कम्पनीमा काम गर्दा र आफैं व्यवसायी बन्दा के फरक हुँदोरहेछ त ? प्रश्न सोध्नेबित्तिकै उहाँले हाँस्दै गज्जबको जवाफ दिनुभयो, ‘त्यतिबेला कम्पनीमा आफ्नो बायोडाटा पठाइन्थ्यो अहिले अरुका बायोडाटा हेर्नुपर्छ त्यही हो ।’ 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया