इराक पुग्नबाट यसरी बचिन् सन्तोषी

 साउन २०, २०७६ सोमबार १७:३२:१७

रीना श्रेष्ठ, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक – २२ वर्षीया सन्तोषी तामाङ सोमबार इराक जानका लागि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पुग्नुभयो । इराकमा राम्रो काम र कमाइ हुने सपना बोकेर पासपोर्ट बनाउन पुगेकी  सन्तोषीको प्रशासन कार्यालय पुगेपछि गन्तव्य फेरियो ।

कसरी त ? 

केही वर्ष सन्तोषीले गार्मेन्ट कम्पनीमा काम गर्नुभएको थियो । तर काम र कमाइ राम्रो नभएपछि उहाँ गाउँ फर्किनुभयो । गाउँमा जीविका चलाउन किराना पसल चलाउनुभयो । तर किराना पसलले खर्चको जोहो भएन । गाउँघरका अरुले विदेशमा कमाएको देखेपछि सन्तोषी पनि विदेश जाने निर्णयमा पुग्नुभएको थियो । आर्थिक अभावमा जेलिएकै बेलामा गाउँकी काकी नाता पर्नेसँग फेसबुकमा उहाँको कुराकानी भयो ।

‘काकीले मलाई पासपोर्ट बनाएर बस भन्नुभएको थियो, त्यसैले म यहाँ पासपोर्ट बनाउन आएको हुँ,’ सन्तोषी भन्नुहुन्छ, ‘मलाई अरु त थाहा छैन तर राम्रो कमाइ हुन्छ इराकमा भन्नुभएको थियो काकीले ।’

काकीकै सल्लाहअनुसार इराक जानका लागि पासपोर्ट बनाउन सन्तोषी जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । प्रशासन कार्यालयमा पुगेपछि मात्रै उहाँले इराक सरकारले प्रतिबन्ध लगाएको र जोखिमपूर्ण देश हो भन्ने थाहा पाउनुभयो । 

पासपोर्ट बनाउँदा अनिवार्य रुपमा वैदेशिक रोजगारीबारे परामर्श लिनुपर्छ । जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिने सूचना केन्द्रमा बुझ्दा उहाँले इराकमा नेपाली कामदारलाई जान सरकारले रोक लगाएको थाहा पाउनुभयो ।

‘धन्न सूचना केन्द्रको दिदीहरुले मलाई सम्झाउनुभयो, नत्र त म ठगिने पो रहेछु’, सन्तोषी भन्नुहुन्छ, ‘मलाई त पासपोर्ट बनाउन लगाएर भारतको बाटो हुँदै इराक पुर्‍याउने सोचेको रहेछ मलाई बल्ल थाहा भयो, अब त कहाँ जान्छु त्यस्तो ठाउँमा ?’

सन्तोषीलाई त काकी कुन देशमा छिन् भन्ने पनि यकिन थाहा छैन । फेसबुकमा कुरा हुँदा काकीले आफू पनि इराकमै छु यहाँ राम्रो काम पाइन्छ भन्दै प्रलोभनमा पार्न खोजेको उहाँ बताउनुहुन्छ । 

‘उहाँ त दुई वर्ष पहिले नै विदेश जानुभएको थियो, तर कुन देश जानुभएको भन्ने थाहा छैन’, सन्तोषीले भन्नुभयो, ‘फेसबुकमा कुरा हुँदा उहाँले म दशैँमा घर आउँछु त्यसपछि मसँगै तिमीलाई पनि लिएर जान्छु भन्दै पासपोर्ट बनाउन लगाउनुभएको थियो ।’

वैदेशिक रोजगारीमा जानेहरुलाई परामर्श दिन स्थापना गरिएको सूचना केन्द्रमा बुझेपछि सन्तोषीले वैदेशिक रोजगारीमा हुने ठगीको बारेमा चाल पाउनुभयो ।  
यस्तै आफूले सिकेको सीपअनुसार नै विदेशमा काम गर्न गए झनै सजिलो हुने भन्ने थाहा पाएपछि उहाँले जोर्डन जाने सोच्नुभयो । 

‘मलाई काठमाण्डौमा गार्मेन्ट उद्योगमा काम गरेको अनुभव छ, प्रशासनको दिदीले भन्नुभएको, जोर्डनमा त्यस्तो काममा जान पाइन्छ अरे’, उहाँले भन्नुभयो, ‘अझ काठमाण्डौमा गएर एक महिना थप तालिम लिएर अब सुरक्षित रुपमा जोर्डन जान्छु बरु ।’

सन्तोषीले विदेश जानका लागि अब कुनै दलालको कुरामा नफस्ने प्रतिवद्धता आफैंसँग गर्नुभएको छ ।
 

तपाईको प्रतिक्रिया