मलेसियाको रोजगारी खुलाउन बसेको प्राविधिक कमिटीको बैठक लम्बियो

 भदौ २५, २०७६ बुधबार १९:१८:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाको रोजगारी खुलाउन मलेसियामा बसेको दुई देशका प्राविधिक कमिटीको बैठक लम्बिएको छ । मलेसियामा मंगलबार र बुधबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बिहीबार फेरि बैठक बस्ने भएको हो ।

मलेसियास्थित पुत्राजयमा मंगलबारदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको  नेतृत्वको टोली र मलेसियाका उच्च अधिकारी सहभागी छन् ।

बैठकमा दुवै देशबीच यसअघि भएको श्रम समझदारीपछि बाँकी रहेको प्राविधिक विषय टुङ्गाउने बारेमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । 

यो बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने श्रममन्त्री गोकर्ण विष्टले यसअघि नै बताइसक्नुभएको छ ।  दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसियाको रोजगारी खुल्न सकेको छैन । 

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय २२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदैआएको आर्थिक शोषण अन्त्य गर्न २०७५ जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि मलेसियाको रोजगारी बन्द भएको हो । कलिङ भिसा आएका व्यक्तिका लागि भने श्रम स्वीकृति खुला भैसकेको छ ।
 

तपाईको प्रतिक्रिया