नेपाली श्रमिकको संख्या बढाउने बहराइनको चाहना

 कात्तिक २६, २०७६ मंगलबार १८:१५:१३ | उज्यालो सहकर्मी

काठमाण्डाै - बहराइनले नेपाली श्रमिकको संख्या बढाउन चाहेको बताएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग मंगलबार भएको छलफलमा नेपालका लागि बहराइनका राजदूत अब्दुल रहमान मोहमद अहमद अल गउडले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली श्रमिकहरु अनुशासित र कामप्रति प्रतिबद्ध भएकोले बहराइनमा नेपाली श्रमिकको माग बढेको पनि बताउनुभयो ।  

बहराइनको विकासमा नेपाली श्रमिकले महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँले नेपाली श्रमिकको प्रशंसा पनि गर्नुभयो । उहाँले नेपाल र बहराइनबीचको श्रम सम्झौता परिमार्जन गर्न बहराइन सरकार तयार रहेको बताउँदै नेपाली श्रमिकको हकहित र कल्याणका लागि बहराइन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 मन्त्री विष्टले बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या बढाउन नेपाल सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । बहराइनमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र कल्याणमा दुबै देशले विशेष ध्यानखदिनुपर्ने भन्दै मन्त्री विष्टले नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकुल बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

मन्त्री विष्टले नेपाली श्रमिकका समस्या समाधानमा बहराइन सरकारको सकारात्मक भूमिकाको अपेक्षा रहेको कुरा समेत व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता डा। नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया