एक पैसा पनि नतिरी जान पाइने देशमा पठाउन लाखौं उठाउँदै म्यानपावर, सचेत हुन विभागको अनुरोध

 माघ ८, २०७६ बुधबार १४:३१:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – नुवाकोटका हेमबहादुर तामाङलाई मलेसिया पठाउने भन्दै ९८ हजार रुपैयाँ लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले भिजन भ्यालू ओभरिजमा मंगलबार छापा मार्‍यो ।

मलेसियामा सेक्युरिटी कम्पनीमा पठाउने भन्दै ओभरसिजका जनसम्पर्क अधिकृत भेष केसीले आफ्नै कार्यकक्षमा रकम लिंदै गरेको अवस्थामा विभागको टोलीले फेला पारेको थियो । 

विभागले पैसा लिंदै गरेको भेटेपछि हेमबहादुर ठगीमा पर्नबाट जोगिनुभयो । हेमबहादुरलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने गरी प्रक्रिया अघि बढाइएको  विभागका महानिर्देशक भीष्म कुमार भूसालले बताउनुभयो । 

यूएई र खाडीका अरु देशमाजस्तै मलेसिया जान श्रमिकले एक पैसा पनि तिर्नु पर्दैन । तर म्यानपावर कम्पनीले श्रमिकबाट जथाभावी रकम असुल्दै आएका छन् ।

गएको पुस २ गते लाइफ इन्टरनेशनल ओभरसिजले मलेसिया जाने तयारीमा रहेका गुल्मी रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा विभागले छापा मारेको थियो । 

४ जना युवा मलेसियाको अबिबा प्लास्टिक उद्योगमा कामका लागि जान इजाजतपत्र नम्बर ७६० भएको महाराजगञ्जमा रहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दानबहादुर सोमैलाई सम्पर्क गर्दा उनले ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न’ भनेर त्यसैअनुसारको पैसा लिँदै गर्दा विभागले फेला पारेको थियो । 

यस्तै गएको महिना नै यूएई जाने श्रमिकसँग दुई लाख ५ हजार लिंदै गर्दा बानेश्वरको ओशो रिक्रुटमेण्टमा विभागले छापा मार्‍यो ।

सरकारले शून्य लागतमा श्रमिक जान पाउनेगरी नयाँ समझदारी गरेको देश यूएई पठाउन दुई लाख ३० हजार मागिरहेको उजुरीको आधारमा विभागले म्यानपावरमा छापा मार्दा श्रमिकसँग पैसा लिएर गन्दै गरेको भेटिएको थियो । 

पैसा लिंदै गरेको अवस्थामा भटेपछि श्रमिकलाई सरकारी नियम अनुसार विदेश पठाउन पत्राचार गर्दै विभागले थप कारबाही अघि बढायो । 

कुनै पनि म्यानपावर कम्पनीले मलेसिया र यूएई मात्र हैन, अरु देशमा पनि पठाउँदा सरकारी नियमभन्दा बढी रकम मागेमा उजुरी गर्न विभागका महानिर्देशक भीष्मकुमार भूसालले अनुरोध गर्नुभएको छ । 

मलेसिया र यूएईसँग मात्र हैन, फ्री भिसा फ्री टिकट नियम अनुसार खाडीका देशमा जान श्रमिकले सेवा सुविधाबापत १० हजार रुपैयाँ मात्र तिरे पुग्छ । तर म्यानपावर र एजेण्टले आफूखुशी पैसा लिइरहेका भेटिएको छ । अहिले त एजेण्ट रहने व्यवस्था पनि खारेज भइसकेको छ ।

तर विदेश जाने तयारीमा रहेका श्रमिक अझै पनि एजेण्टमार्फत नै ठगीमा परिरहेका छन् । त्यसैले विदेश जानेबेला ठगीबाट जोगिन सबैभन्दा पहिला आफैं सचेत हुन विभागले अनुरोध गरेको छ । 

यी कुरामा ध्यान दिनुहोस्

सबैभन्दा पहिला त आफू जाने देश र गर्ने कामका बारेमा राम्रोसँग बुझ्नु पर्छ । हिजोआज विदेशमा पाइने काम र तलबसहित सेवासुविधाको बारेमा जान्न म्यानपावरको भर पर्न पर्दैन ।

वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा गएर नै विदेशमा पाइने काम र तलबको बारेमा सजिलै जानकारी पाउन सकिन्छ । यति मात्र हैन, अनलाइनबाटै आफूलाई मन परेको कामका लागि आवेदन दिन सकिन्छ । त्यसो हुँदा सिधै अन्तर्वार्ताका लागि मात्र म्यानपावर जाँदा हुन्छ । 

अथवा कसैको सहयोगमा म्यानपारसम्म आइपुग्नुभएको छ भने पनि त्यो म्यानपावर संस्था कस्तो हो, विभागबाट इजाजत प्राप्त हो वा होइन, कालोसूचीमा पो परेको छ कि भनेर जाँच गर्नुपर्छ । यो जाँच पनि विभागकै वेवसाइटबाट गर्न सकिन्छ । 

कतिपय म्यानपावर र एजेण्टले तपाईँसँग छनोट प्रक्रिया नै पूरा नगरी रकम माग्ने, पासपोर्ट माग्ने गर्छन् भने नदिनुहोस् । हिजोआज श्रमिक छनोट प्रक्रिया अनलाइनबाटै हुने भएकाले पहिले नै म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउन पर्दैन । अनलाइन आवेदन दिँदा पासपोर्ट नम्बर राखे पुग्छ । तपाईँ छनोट हुनुभयो भने मात्र भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउँदा हुन्छ ।

कहिलेकाहीँ श्रम स्वीकृति नहुँदै उडानको मिति तोकेर पनि ठगी गर्न सक्छन् । त्यसैले पैसा बुझाउनुअघि सचेत हुनु पर्छ । हिजोआज श्रम स्वीकृति लिनका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ ।

इमेलमार्फत श्रम स्टिकर पाइन्छ । अनि श्रम स्वीकृति भएको जानकारी म्यासेजमार्फत मोवाइलमै आउँछ । त्यसैले कसैको कुरामा विश्वास गर्नुअघि आफ्नो मोवाइलमा म्यासेज आयो कि आएन भनेर पनि जाँच गर्न पर्छ । 

आर्थिक कारोबार गर्दा वैदेशिक रोजगारीमा जानका लागि दिएको भन्ने प्रयोजन खुलाउन पर्छ । लागत बढी मागेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ ।

वैदेशिक रोजगारी सम्बन्धी कुनै उजुरी र गुनासो भएमा कल सेन्टर १६६००१५०००५ मा र विभागको टोल फ्री नम्बर १६६००१०९९९९ मा फोन गर्न सकिन्छ । 

1 Comments

  • Shekhar Rana Magar

    Jan. 22, 2020, 9:43 p.m.

    तपाइले पोस्ट गर्नु भएको यो 'एक पैसा पनि नतिरी जान पाइने देशमा पठाउन लाखौं उठाउँदै म्यानपावर, सचेत हुन विभागको अनुरोध " शिर्षकको खबर मलाई सारै राम्रो लाग्यो । सोझा साझा जनता गरिबीको कारण या आफ्ना अपार सपनाका कारण बैदेशिक रोजगारीमा जादा ठगिने सम्भावना धेरै भएको अवस्थामा यो जानकारी गराई जनतालाई सचेत गरिदिनु भएको लागि आभार ब्यक्त गर्न चाहन्छु । उज्यालो साच्चिकै दुखि जनमानसमा जानकारी र सुचनाको ज्योति बनेको छ। कुन कुन देशमा जानु नि-शुल्क छ ? देशको नामै संग मलाई जानकारी गरिदिनु हुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया