पुसमा वैदेशिक रोजगारीमा जाने घटे, आधाभन्दा धेरै अदक्ष

 माघ १४, २०७६ मंगलबार ११:२०:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – पुस महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या मंसिरको भन्दा ४ हजारले घटेको छ । 

मंसिरमा ५३ हजार २ सय १५ पुरुष र ३ हजार ५ सय ९५ महिला गरी जम्मा ५६ हजार ८ सय १० जनाले वैदेशिक रोजगारीको लागि श्रम विभागबाट अन्तिम श्रम स्वीकृति लिएका थिए । 

पुसमा यो संख्या ४ हजार पाँच सय ८५ जनाले घटेर ५२ हजार २ सय २५ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यसमा ४८ हजार ८ सय ५८ पुरुष र ३ हजार ३ सय ६७ महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।

साउदी जाने धेरै

गएको महिना वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरै साउदी अरब गएका छन् । साउदीमा १२ हजार ५ सय १४ पुरुष र ७० महिला गरी १२ हजार ५ सय ८४ जना गएका छन् । 

यस्तै साउदीपछि कतार जानेको संख्या धेरै छ । कतारको लागि  ११ हजार ३ सय ८६ पुरुष र ४ सय ५४ महिला गरी ११ हजार ८ सय ४० जनाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । 

यूएईमा ९ हजार ३ सय ६० पुरुष र एक हजार ३ सय ५६ महिला गरी १० हजार ७ सय १६ तथा मलेसियामा १० हजार ५ सय १२ पुरुष र ९१ महिला गरी १० हजार ६ सय तीन जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

कुवेत जानेको संख्या १ हजार ९ सय ६६ पुरुष र ३ सय ९ महिला गरी दुई हजार दुई सय २७ रहेको छ ।

आधाभन्दा बढी अदक्ष कामदार

वैदेशिक रोजगारीमा गएकामध्ये आधाभन्दा धेरै अदक्ष छन् । ५२ हजार २ सय २५ जनामध्ये २९ हजार ९ सय ६५ जना अदक्ष श्रमिक गएको विभागको तथ्याँकमा उल्लेख छ ।

यस्तै ४ हजार ६ सय २० जना अर्धदक्ष, १७ हजार ६ सय ६ जना दक्ष, २७ जना व्यवसायिक रुपमा दक्ष र ६ जना उच्च दक्ष रहेका छन् ।

४९ वटा म्यानपावरले श्रमिक पठाउन सकेनन्  

गएको महिना ८ सय १७ म्यानपावरमध्ये ७ सय ६८ म्यानपावरले मात्र श्रमिक पठाएका छन् । यसमध्ये रिभर ओभरसिजले सबैभन्दा बढी ५ सय ९३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ भने दोस्रोमा प्याराडाइज इन्टरनेशनलले ४५१ जनालाई पठाएको छ ।

यस्तै ५३ म्यानपावरले एक जना मात्र पठाएका छन् भने २७ म्यानपावरले दुई जना मात्र पठाएका छन् । पुसमा ४९ म्यानपावरले एक जना पनि श्रमिक पठाउन सकेनन् ।

तपाईको प्रतिक्रिया