विदेशबाट फर्कनेको तथ्याँक राख्न थालियो, गैरकानुनी श्रमिकको विवरण पनि थाहा हुने

 माघ १७, २०७६ शुक्रबार १७:४४:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्कनेहरुको पनि तथ्याँक राख्न थालेको छ । 

अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा अब विदेशबाट फर्कने नेपालीको पनि तथ्याँक राख्न थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । 

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिने श्रमिकको तथ्याँकअनुसार दैनिक एक हजारभन्दा धेरै युवा परदेश जाने गरेका छन् । अध्यागमन विभागले पनि छुट्टै तथ्याँक राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्याँक थिएन । तर अब दुवै विभागको तथ्याँक एक आपसमा गाभिएकाले वैदेशिक रोजगारीमा जाने र फर्किनेको यकिन तथ्याँक हुने महानिर्देशक भूसाल बताउनुहुनछ । 

‘अन्तिम श्रम स्वीकृति लिएका सबै विदेश गए भन्ने हाम्रो तथ्याँक थियो । तर अब साँच्चै कति वैदेशिक रोजगारीका लागि गए, कति पर्यटक भिसामा गए र कति बिजनेस भिसामा गए भनेर तथ्याँक राखिन्छ’ उहाँले भन्नुभयो । 

विदेशमा गैरकानुनी हिसाबले बस्नेको पनि तथ्याँक 

वैदेशिक रोजगारीमा जाने र फर्किनेको तथ्याँक राख्न सुरु भएसँगै सरकारसँग अब विदेशमा गैरकानुनी हिसाबले बस्ने कति नेपाली छन् भन्ने तथ्याँक पनि हुनेछ । अहिले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका कति फर्किए भन्ने तथ्याँक नहुँदा कति गैरकानुनी रुपले बसेका छन् भन्ने पनि थाहा छैन ।

तर अब श्रम अवधिमा नफर्किएका र विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्वीकृति पनि नलिएका श्रमिकहरु कति छन् भन्ने जानकारी यो प्रणालीले राख्नेछ ।

 ‘कतिपय चाहिँ पर्यटक भिसामा जाने र उता काम गर्ने अनि समस्यामा पर्दा उद्धारका लागि पनि समस्या थियो, विभागमा उजुरी दिँदा पनि विभागसँग कुनै तथ्याँक हुँदैन थियो,’ महानिर्देशक भूसाल भन्नुहुन्छ ,‘अब जुन भिसामा गएको भए पनि नेपालको विमानस्थल प्रयोग गरेर गएकाहरुको तथ्याँक हामीसँग हुन्छ, यसले उद्धार र खोजीका लागि पनि सहयोग गर्छ ।’ 

अध्यागमनको सूचना व्यवस्थापन प्रणालीमा आवद्ध भएपछि विभागले जुनसुकै भिसामार्फत विदेश जाने नेपालीको पनि तथ्याँक लिन सक्छ । त्यसैले श्रमिकको विवरण अब अनलाइन प्रणालीमा नै हुँदा समस्या पर्दा र सम्पर्कविहीन हुँदा खोजीका लागि पनि सहयोग पुग्ने विभागको विश्वास छ । 

कानुनी रुपमा रोजगारीका लागि भारतबाहेकका अरु देश श्रम स्वीकृति लिएर जाने श्रमिकको तथ्याँक राख्ने काम २०५७ सालदेखि नै सुरु भएको हो । तर, विदेशबाट फर्किनेको भने विवरण राखिएको थिएन । 

विभागका अनुसार सन् २००० को अप्रिल २९ देखि अहिलेसम्म झण्डै ६३ लाख जनाको श्रम स्वीकृति जारी भएको छ । तर यी सबै विदेश गएका र विदेशमै छन् भन्ने होइन । अहिले झण्डै ४३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् भन्ने अनुमान छ । 

तपाईको प्रतिक्रिया