यूएईबाट १० हजार रुपैयाँ पठाउँदा १२ लाख उपहार !

 फागुन २, २०७६ शुक्रबार १७:४२:७ | उमाकान्त पाण्डे

यूएई – यूएईबाट नेपाल पैसा पठाउँदा रोल्पाका झकबहादुर गिरीले १२ लाख रुपैयाँ उपहार पाउनुभएको छ ।

यूएईको अलअहलिया एक्सचेञ्जमार्फत १० हजार रुपैयाँ पैसा पठाउनुभएका झकबहादुरले एक्सचेञ्जको लक्की ड्र अन्तर्गत १२ लाख रुपैयाँ उपहार पाउनुभएको हो ।

बिहीबार आबुधाबीमा खोलिएको लक्की ड्र अन्तर्गत उहाँले उपहार स्वरुप पाएको कारको सट्टा त्यो कारको अहिले यूएईमा पर्ने मुल्य बराबरको नगद रकम अर्थात १२ लाख रुपैयाँ नेपाली पाउनुभएको हो ।

यूएईमा अहिले निसानको सनी कारको मूल्य झण्डै ४५ हजार दिर्हाम पर्छ । त्यसबाट लाग्ने कर बापतको रकम कटौती गर्दा झण्डैै ४० हजार दिर्हाम अर्थात झण्डै १२ लाख रुपैयाँ हुन आउने अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताउनुभयो ।

अलअहलिया एक्सचेञ्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि सन् २०१९ को डिसेम्बर १५ देखि फ्रेबुअरी १२ सम्म एक्सचेञ्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको हो ।

योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा बिहीबार गोलाप्रथा गरिएको हो । त्यसमध्ये बाँकी २ कार एक पाकिस्तानी र एक भारतीय नागरिकलाई परेको एक्सचेञ्जले जनाएको छ ।

उपहार अलअहलिया कर्पोरेटले एक कार्यक्रमको आयोजना गरेर संयुक्त रुपमा वितरण गर्ने एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले बताउनुभयो ।

१२ लाखले १२ अर्ब भन्दा ठूलो खुशी ल्यायो : झकबहादुर

बिहीबार लक्की ड्र हुँदै गर्दा झकबहादुर कम्पनीको नियमित काम गर्दै हुनुहुन्थ्यो । उहाँ १६ वर्षदेखि आबुधाबीको इमिरेट्स लिक निटको कम्पनीमा इलेक्ट्रिसियनको काम गर्नुहुन्छ ।

आर्मी क्याम्पमा काम गर्दा मोबाइल लैजान नपाईने भएकाले मोबाइल बन्द गरेर उहाँ काम गरिरहनुभएको थियो । लक्की ड्रमा झकबहादुरको नाम निस्किएपछि एक्सचेन्जले उहाँलाई धेरै पटक सम्पर्क गर्ने प्रयास गरेको थियो । तर फोन लागेन ।

क्याम्पमै प्रतिनिधि पठाएर झकबहादुरलाई सम्पर्क गरिएको हो । कम्पनीमै आएर एक्सचेञ्जका प्रतिनिधिले १२ लाख रुपैयाँ जितेको खबर सुनाउँदा पैसामा किन्न नसकिने खुशी मिल्यो भन्नुहुन्छ उहाँ ।

‘मैले १२ अर्बको खुशी पाएँ, म शब्दमा वर्णन गर्न सक्दिनँ,’ झकबहादुरले भन्नुभयो । घर बिदामा गएर दुई महिनाअघि यूएई फर्किनुभएका झकबहादुरले यो योजना अन्तर्गत ४ पटक घरमा पैसा पठाउनुभयो ।

उहाँले पछिल्लोपटक १० हजार रुपैयाँ पठाउनुभएको थियो । एक्सचेञ्जले अब ३ वटा कार सारजाहको अलसज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा फ्रेबुअरी १६ मा सार्वजनिक गर्नेछ ।

त्यस्तै मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको विजेता दुबईको अलकुज शाखामा आउँदो फ्रेबुअरी १७ तारिखमा सार्वजनिक गरिने एक्सचेञ्जले जनाएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया