सञ्चालक खाडी लागेपछि बन्द भयो घरेलु उद्योग

 फागुन ९, २०७६ शुक्रबार १६:२१:११ | रासस

दैलेख – सञ्चालक खाडीका देश र भारत लागेपछि आठबीस नगरपालिका–४ राकमको पुराना कपडाबाट रुई निर्माण गर्ने घरेलु उद्योग बन्द भएको छ । गएको वर्ष मात्रै स्थापना भएको उद्योगमा रकम जुटाउन नसकेपछि  सञ्चालक विदेश लागेकाले उद्योग बन्द भएको स्थानीयको भनाइ छ । 

जिल्ला घरेलु उद्यमले केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको र तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो । 

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई धेरै उत्पादन गर्न नसक्ने हुँदा पैसाको अभाव भएकाले सञ्चालक परदेशीएको स्थानीय बताउछन् । 

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीलेसमेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । त्यससम्बन्धि तालिम लिएकाहरु खोजिरहेको उहाँले बताउनुभयो । 

नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर फेरि लगानी गरेर उद्योग सञ्चालन गर्ने उहाँको भनाइ छ ।  ५३ हजार ८२४ रुपैयाँ जनश्रमदान र पाँच लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो ।
 

तपाईको प्रतिक्रिया