अमेरिकाको सपनाले ३५ लाख डुबेपछि बुवाले थालेको व्यवसायमा रम्दै गणेश

 फागुन ९, २०७६ शुक्रबार १८:१३:४० | रासस

बागलुङ – गणेश शर्माको सपना अमेरिका जाने, बाँकी जीवन उतै बिताउने थियो । तर अमेरिकाको सुखको सपनाले झन दुःख थपिदियो । ३५ लाख रुपैयाँ र अमेरिकाको सपना बाटैमा छुट्यो । अहिले बुवा शिवप्रसाद शर्माले गरेको गाईभैँसी व्यवसायलाई सघाउँदै छुटेका सपना जोड्दै हुनुहुन्छ उहाँ । 

शिवप्रसादको गोठमा पाँच भैँसी र तीनवटा गाई छन् । सबेरै र साँझ नछिप्पिँदै गाईभैँसी दुहुन हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । दूध कतिका घरघरमा पुर्‍याउनुपर्छ । यही काममा व्यस्त हुनुहुन्छ बाबुछोरा पनि ।

बागलुङ नगरपालिका–२ का शर्माले २०६७ साल देखि दुग्ध व्यवसायमा थाल्नुभएको हो । घर नजिकै हाडेपाखामा उहाँको ‘शिवशक्ति गाईभैँसी दुग्ध उत्पादन फार्म’ छ । फार्ममा गाई उन्नत जातका हुन् भने भैँसी स्थानीय जातका छन् ।

गाई भैँसीले दैनिक ९० लिटरसम्म दूध दिन्छन् । एक लिटर दूधको मूल्य एक सय रुपैयाँ छ। ५५ वर्षीय शिवप्रसाद भन्नुहुन्छ, ‘दूध बेचेरै महिनाको ४० हजार बचाउँछु।’

घाँस र दानामा बढी खर्च छ । पशुपालनका लागि उहाँले झण्डै छ रोपनी जग्गा वर्षको ५० हजार भाडामा लिनुभएको छ ।

गाईभैँसीसँगै व्यावसायिक तरकारी खेती पनि छ । तरकारीबाट पनि राम्रै आम्दानी छ । ‘टनेल’ लगाएर गोलभेँडा खेती गर्ने योजना शर्मा परिवारको छ । २७ वर्ष कृषि विकास बैंकमा जागिर गरेर निस्केपछि पशुपालन र कृषितिर लाग्नुभएको हो गणेशका बुवा । 

‘जागिरपछि यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ, शिवप्रसाद भन्नुहुन्छ, ‘अहिले राम्रै भएको छ, मेहनतको फल पाएजस्तो लाग्छ ।’ उहाँले शुरुमा  पाँच लाख रुपैयाँ लगानी गरेर ‘फार्म’ खोल्नुभएको थियो । अहिले ‘फार्म’को लगानी बढेर झण्डै १५ लाख रुपैयाँ पुगेको शर्माको भनाइ छ ।

पहिलेको तुलनामा पशुको सङ्ख्या पनि बढेको छ । परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन् । श्रीमती गीताकुमारी, छोरा गणेश, बुहारी उषालगायतले सबै मिलेर काम गर्नुहुन्छ । 

अमेरिकाको सपना देख्दा धोका पाएपछि अहिले गणेश पनि बुवाले थालेकै व्यवसायमा सपना बुन्न थाल्नुभएको छ । ‘पशुपालन र कृषिमा अझै लगानी थप्ने र व्यवस्थित गराउने सोचमा छौँ,’ गणेशले भन्नुभयो ।

तपाईको प्रतिक्रिया