परदेशमा चिन्ता नलिनुस्, सुरक्षित रहनुहोस्, ज्यानलाई आराम दिनुहोस्

 चैत २७, २०७६ बिहिबार १३:९:५८ | करुणा कुँवर
unn.prixa.net

यो समय भनेको सबैको लागि एकदमै चुनौतीपूर्ण छ, विश्वव्यापी रुपमै । दैनिक रुपमा केही सजिलो हुन्छ कि भन्ने आशा हुँदाहुँदै नयाँ बिरामी पनि बढेको भन्ने कुराले मान्छेमा डर, चिन्ता, अन्यौल जस्ता भावनाहरु थपिएका छन् । अहिले धेरै जना परदेशमा हुनुहुन्छ, उहाँहरु आउन चाहेर पनि आउन नसकेको अवस्था छ । अहिले जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नु नै सबैभन्दा राम्रो हुन्छ । 

अहिले एकअर्कालाई मद्दत होस् भनेर नै लकडाउन गरिएको हो । अहिले एकदमै धैर्यतापूर्व सुरक्षित भएर बस्नुपर्ने हुन्छ । यो समयमा धैर्यता अपनाउँदा र चिन्ता कम गराउने केही उपायहरु गर्दा कोरोनाबाट बच्न धेरै सहयोग हुन्छ । उदाहरणकै लागि चीनलाई नै हेर्न सकिन्छ, त्यहाँ लकडाउनमा विशेष जोड दिएकै कारण कोरोनालाई चाँडै नियन्त्रण गर्न सकिएको छ । 

अहिले कतिपय विदेशबाट टिकट काटेर घर आउन ठिक्क पर्नुभएको थियो, तर घर आउन पाउनुभएन । यस्तोमा घरको मान्छेलाई पनि तनाव भयो र उहाँहरुलाई पनि टिकट काटेर आउन नपाउँदा आर्थिक समस्या भएको र तनाव पनि बढेको हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तवितकता जे भए पनि एकपटक परिवारसँग भेटिन्छ नै भनेर विश्वस्त हुनुपर्छ ।

अहिले मानसिक रुपमा कसरी स्वस्थ हुने, सकारात्मक सोचहरु कसरी लिएर आउने र अहिलेको परिस्थितिसँग कसरी जुध्ने भन्ने विषयमा नै जोड दिने हो । 
अहिले मलेसिया र खाडी देशमा वैदेशिक रोजगारीको लागि जानुभएका धेरै नेपालीहरुमा आफ्नो जागिर पो गुम्ने हो कि, मैले तलब पो पाउने होइन कि भन्ने चिन्ता हुन थालेको छ ।

यस्तो बेला यो चिन्ताबाट बच्नको लागि हामीले सकारात्मक सोच नै बनाउने हो । यसको लागि सकारात्मक उर्जा दिने खालका भनाइहरु मनन गर्ने गर्नुपर्छ । अहिले यस्तो गर्दा ठिक हुन्छ भन्ने उपाय सायद कोही विज्ञसँग नहुन सक्छ । यो निकै चुनौतीपूर्ण उपाय हो । कतिपय अवस्थामा निकै विपत आउन सक्छ, आफूलाई छटपटी गराउने विभिन्न परिस्थिति आउन सक्छन् । यस्तो बेला हामीले त्यस्ता समस्यासँग जुधेका घटनाहरु पनि हुन्छन् । त्यस्त उपायहरुको मनन् गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।

सकारात्मक सोचौं 

कतिपयले ऋण लगेर पनि विदेश गएका हुन्छन् । त्यो सबै कुरा सोचेर मन आत्तिने, छटपटाउने हुन सक्छ । यस्तोबेला यसलाई आफ्नो मात्र समस्या नभएर विश्वव्यापी रुपमा भएको समस्या हो भनेर मन बुझाउनुपर्छ । यस्तै यो अवस्था सधैंभरी रहँदैन भन्ने सन्देश दिन पनि अति नै आवश्यक हुन्छ ।

अहिले कतिपय विदेशबाट टिकट काटेर घर आउन ठिक्क पर्नुभएको थियो, तर घर आउन पाउनुभएन । यस्तोमा घरको मान्छेलाई पनि तनाव भयो र उहाँहरुलाई पनि टिकट काटेर आउन नपाउँदा आर्थिक समस्या भएको र तनाव पनि बढेको हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तवितकता जे भए पनि एकपटक परिवारसँग भेटिन्छ नै भनेर विश्वस्त हुनुपर्छ ।

टिकट काटेकै समयमा आउन नपाए पनि पछि आउँदा उहाँहरु पूर्ण स्वस्थ भएर आउन सक्नुहुन्छ । के थाहा टिकट काटेको जहाजमा त्यतिबेला कोरोना सङ्क्रमित पो आएका थिए कि ! त्यसबाट तपाईं बच्नुभएको हुनसक्छ । त्यही भएर टिकट काटे, त्यसै खेर गयो भने चिन्ता लिनुभन्दा जोखिमबाट आफू बचियो भन्ने सोच्नुपर्छ । आफू स्वस्थ रहे त जहिले आए पनि भयो नि ।

त्यहीभएर अहिलेको समयमा नकारात्मक सोचेर डर, त्रासमा बस्नुभन्दा सकारात्मक सोचेर स्वस्थ रहनुपर्छ । यतिबेला मनोबल उच्च राख्नुपर्छ । मनोबल गिराउनुभयो भने नभएको रोगले पनि च्याप्न सक्छ ।

मानसिक रुपमा स्वस्थ हुनको लागि आफूले दिनमा के कस्ता राम्रा काम गर्नुभयो त्यसको मूल्यांकन गर्नुस् । यस्तो अवस्थामा पनि हामीले आफ्नो राम्रो कुरा पनि गर्यौ भन्ने सन्देश पनि जान्छ । यस्तो अवस्थामा दिमागलाई सही ठाउँमा राखेर मन र दिमाग दुवैले सन्तुलित रुपमा बुझ्न जरुरी छ । आफ्नो सोचाइलाई कसरी स्वस्थ दुरुस्त राख्ने भन्ने आफ्नो नियन्त्रणको कुरा हो । ढिलो या चाँडो आफ्नो देश र परिवार भएको ठाउँमा फर्किने अवस्था त अवश्य नै आउँछ ।

 

यस्ते बेला परिवार र परदेशी आफैंको भूमिका महत्वपूर्ण हुन्छ । यस्तोबेला एकअर्काको महत्व निकै हुन्छ । अहिले हामी नभएका कुराहरुको आशा गरेर मन दुखाउने, बढी आशा पाल्ने गर्दा झन् समस्या हुन्छ । यस्तोबेला एकअर्कासँग कुरा गर्दा हौसला बढाउने, आफ्नो दिनचर्या राम्रोसँग बिताउने हो । 

दैनिक रुपमा जसरी काम गरिरहेका छौं, त्यही काम गरिरहने । यस्तै परदेशमा रहेकाले काममा व्यस्त हुँदा आफ्नो स्वास्थ्यलाई समय दिन पाउनु भएको थिएन होला । त्यहीभएर यो समयलाई आराम गर्ने मौका सम्झेर उपयोग गर्नु राम्रो हुन्छ ।

हुन त यतिखेर आफ्नो कमाइ भएको छैन, आर्थिक स्थिति कमजोर भएको छ भनेर पनि चिन्ता र छटपटी त छँदैछ, तर यसले अरु के फाइदा भएको छ त्यो कुरा पनि याद गर्नुपर्ने हुन्छ । 

परिवारका सदस्यहरुसँग सकारात्मक कुराकानी गर्ने, एकले अर्कालाई हौसला दिने जस्ता कुरा गर्नुपर्छ । समाचार हेर्ने कुरामा पनि आफूलाई नियन्त्रण गर्नुपर्छ । आत्तिने, त्रास पैदा गर्ने समाचार हेर्ने भन्दा पनि आफूलाई सकारात्मक उर्जा दिने खालका समाचार पढ्ने सुन्ने गर्नुपर्छ । यस्तै आफूलाई मन पर्ने आध्यात्मिक ज्ञानहरु सुन्ने पढ्ने गर्नुपर्छ । यो क्षण भनेको आफूभित्रको आत्मबल कस्तो छ भनेर आफैलाई परीक्षण गर्ने समय पनि हो । 

त्यही भएर यतिबेला आफूलाई बलियो बनाउने, आत्मबल बढाउने प्रयास गर्नुपर्छ । यो समस्या हो, चाँडै यसको समाधान पनि हुन्छ भनेर सकारात्मक बन्नुपर्छ ।

हरेक समस्याको समाधान छ 

ब्रह्माण्डमा सबै प्रकारका समस्याको समाधान हुन्छ नै । यो समस्याले समाधान पनि लिएर आएको छ । त्यसै पनि हामी नेपालीहरु आफूभित्र आँट भएका छौं ।

हामीभित्र शक्ति छ र त्यो शक्तिले समस्याको समाधान ल्याउँछ भन्ने सोच्नुपर्छ । योभन्दा पहिले पनि यस्ता समस्या आएका थिए र हामीले पार लगाएका थियौँ । यसको पनि पार लाग्ने नै छ भनेर आफैंलाई हौसला दिनुपर्ने हुन्छ । त्यही भएर योबेला सकारात्मक सोचाइ नै महत्वपूर्ण हुन्छ । 

यस्तो बेला हामी आफैं आत्तियौं भने त्यसको असर बालबालिकाहरुमा पर्न जान्छ । उनीहरुले पनि त्यस्तै खालका भावनाहरु व्यक्त गर्ने गर्छन् । यस्तै बुढापाकाहरुका अगाडि पनि यो रोग त बुढापकालाई बढी लाग्छ भनेर कुरा गर्दा उहाँहरु आत्तिनु हुन्छ । त्यही भएर उहाँहरुको अगाडि सकारात्मक कुरा गर्ने, यो सामान्य रोग हो भनेर सम्झाउने गर्नुपर्छ । 

अहिलेको समयले आफ्नै ठाउँमा मेहनत गर्न सक्यो भने कसैबाट डराउनुपर्ने, जागिर गुम्छ कि भनेर चिन्ता लिनुपर्ने नहुँदो रहेछ भन्ने सन्देश पनि दिएको छ ।

समस्या भएको बेला पनि रोजगारीका विभिन्न उपायहरु निकाल्न सकिंदो रहेछ, परदेशमा मात्रै होइन स्वदेशमै रहेर  पनि काम गर्न सकिदो रहेछ भन्ने सन्देश अहिलेको अवस्थाले दिएको छ । यस्तै मानव जीवन भनेको के रहेछ त भनेर बुझाउन पनि अहिलेको अवस्थाले मद्दत गरेको छ ।

क्वारेण्टीन उपयोगी बनाउने उपाय

क्वरेन्टीनमा बसेको बेला मनमा अनेकथरी नैराश्यता छाउने पनि हुन सक्छ । तर हामीले वर्तमानमा बाँच्न सिक्नुपर्छ । भोलिको चिन्ता गर्ने ठाउँ छँदैछ । सपना देख्न जरुरी छ । तर कुनबेला के हुन्छ भनेर हामी भन्न सक्दैनौ । त्यही भएर हामीले वर्तमानमा रमाउनुपर्छ । 

क्वरेन्टीनमा बस्दा पनि घरभित्रै हिँडडुल गर्ने, आफ्ना व्यक्तिगत सरसफाइका काम गर्ने, खाना पकाउने, प्रशस्त सुत्ने गर्न सकिन्छ । पछि सोचेर पनि अहिलेको जस्तो घरमै बस्न पाउने समय नआउन सक्छ । त्यही भएर यो समयलाई अवसरको रुपमा पनि हेर्न सकिन्छ ।

यो समयालाई उपलब्धीमूलक बनाउन चित्र बनाउने, कविता लेख्ने, आफूलाई मन पर्ने किताब पढ्न सकिन्छ । त्यसो गर्नुभयो भने छटपटी पनि हुँदैन । यस्तै छिमेकीसँग रमाइला कुरा गर्ने, सञ्चोबिसञ्चो सोध्ने, मिलेर खाजा बनाउने खाने जस्ता क्रियाकलाप गर्न सकिन्छ । यस्तै लामो समयदेखि कुरा गर्न नभ्याएका साथीहरुसँग कुरा गर्र्न सकिन्छ । व्यस्तताका कारण लामो समयदेखि धेरै कुराहरु गर्न भ्याइएका हुँदैनन्, योबेला ती कुराहरु गर्न सकिन्छ । कोठा सफा गर्ने, कपडाहरु धुने गर्न सकिन्छ । 

यस्तो बेला हामी आफैं आत्तियौं भने त्यसको असर बालबालिकाहरुमा पर्न जान्छ । उनीहरुले पनि त्यस्तै खालका भावनाहरु व्यक्त गर्ने गर्छन् । यस्तै बुढापाकाहरुका अगाडि पनि यो रोग त बुढापकालाई बढी लाग्छ भनेर कुरा गर्दा उहाँहरु आत्तिनु हुन्छ । त्यही भएर उहाँहरुको अगाडि सकारात्मक कुरा गर्ने, यो सामान्य रोग हो भनेर सम्झाउने गर्नुपर्छ । 

एउटा अभिव्यक्ति नै छ, ‘तपाईं यदि कसैलाई एकदम ठूलो उपहार दिन चाहनुहुन्छ भने त्यो तपाईंको सुस्वाथ्य हो, त्यो नै तपाईंले माया गर्ने मान्छेहरुको लागि ठूलो उपहार हुनेछ ।’

त्यही भएर सबैभन्दा पहिले आफ्नो स्वास्थ्यको ख्याल गरौं, चिन्ता नलिऔँ, वर्तमानमा जिउन सिकौँ, हरेक समस्या समाधान लिएर आउँछ भन्ने कुरा बुझौँ ।  

(मनोविद कुँवरसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)
 

करुणा कुँवर

कुँवर मनाेविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया