परिवारलाई ‘सरप्राइज’ दिन युएईबाट फर्किंदै सापिया, नेपालीलाई पनि अवसर

 साउन ३१, २०७५ बिहिबार १३:२७:२१ | उज्यालो सहकर्मी

युएई – फिलिपिन्सकी सापिया सलिकले युएईसँग बुधबार बिदा मागिन् । उनी १० वर्षपछि आफ्नो घर फर्किदै छिन् । 

सापियाले भिसा बिनै युएईमा ९ वर्ष काम गरिन् । भिसा अवधिभन्दा ९ वर्ष धेरै युएईमा बसेर अहिले सजिलै घर फर्किन पाएकाले उनलाई कुनै पछुतो छैन ।  किनकी उनले परदेशमा त्यहाँको कानुन उल्लंघन गर्दा पनि कुनै सजाय भोग्न परेन । सापियाको घर फर्किनु, परिवारका लागि ‘सरप्राइज’ हुनेछ । 

घर फर्किएर स्टेशनरी खोल्ने सापियाले योजना बनाएकी छन् । हातमा लगेज, मनमा ९ वर्ष युएईमा अवैधानिक भएर काम गर्दा पाएका दुःखसुखको सम्झना लिएर उनी आफ्नो घर फर्किदै छिन् । 

‘९ वर्ष अवैधानिक भएर काम गर्दा, मैले बाँच्नका लागि निकै दुःख गर्नु पर्‍यो, डरैडरमा दिनरात बिताउन पर्‍यो,’ उनले भनिन्, ‘तर मैले यहाँ दुःखमै बसेर पनि मेरा दुई बहिनीहरुको पढाईमा सहयोग गर्न पाएँ, त्यसैले पनि खुशी छु ।’ उनले घर फर्किएर आफ्नो व्यापार सुरु गर्न तयारी पनि थालिसकेको बताइन । 

युएईले अवैधानिक विदेशी कामदारलाई स्वदेश फर्किन वा आफ्नो अवैधानिक अवस्थालाई वैधानिक बनाउन  तीन महिनाको आममाफीको समय दिएको छ । आममाफीको १६ दिनको अवधिमा सहभागी भएका फिलिपिन्सका सयजना मध्येकी सापिया एक हुन् ।

फिलिपिन्स सरकारले पनि युएईमा अवैधानिक रुपमा रहेका आफ्ना देशमा नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ । कागजी प्रक्रियाका लागि ३६७ दिर्हाम आर्थिक सहयोग गरेको छ । 

बुधबार विमास्थलमा आममाफीमा सहभागी भएर घर फर्किन पाउनेको अनुहारमा शान्ति, खुशी र आशा झल्किन्थ्यो । 

नातीसँग खेलेर बाँकी जिन्दगी बिताउँछु

विमानस्थलको एउटा कुनामा चुपचाप बसिरहेकी थिइन्, क्रिसिसेना जामेरो । उनले अवैधानिक भएर पाँच वर्षसम्म युएईमा घरको काम गरिन् । घरेलु कामदार भएर काम गरेपनि उनले आफ्ना दुई जना छोरीहरुको पढाइमा सहयोग गर्न सकिन् । 

‘मेरो जेठी छोरीले यो वर्ष स्नातक पास गरिन, अनि गएको जुन महिनामा भएको परीक्षामा सातौं स्थान हात पारिन,’ गर्वका साथ उनले सुनाइन । तर छोरीका कुरा सुनाउँदा उनको आँखाका आँसु बगेर घाँटीसम्म पुगे । ‘मेरो सानो छोरी पनि त्यही कलेजमा पढ्दै छिन्,’ क्रिसिसेनाले सुनाइन । 

उनले गएको फेब्रुवरी महिनामा अवैधानिक भएर काम गर्नुभन्दा प्रहरीकोमा गएर आत्मसर्मपर्ण गर्ने योजना पनि बनाइन । तर जेल सजाय भोग्नुपर्ने डरले उनले त्यसो गरिनन् । 

अहिले युएईले आममाफी दिएपछि उनलाई त्यो समयमा भगवानले नै आफूलाई जेल सजाय भोग्नबाट रोकेछन् भन्ने लाग्छ । ‘यो मेरो मेहनतको फल हो, भगवानले मेरो जन्मदिनमा दिएको उपहार हो यो,’ उनले सुनाइन् । 

५५ वर्षीया क्रिसिसेनालाई आफ्नो सात महिने नातीलाई भेट्न हतार छ । उनका ठूला योजना छैनन् । ‘अब घर गएर मेरो नाती हेर्छु’ उनले आफ्नो योजना सुनाइन ।

 घर फर्किएर स्कुल जाने र नयाँ साथी बनाउने रहर

रोसेमेनका तीन सन्तानलाई घर फर्किएर स्कुल जाने रहर छ । साथै घरमा नयाँ साथी बनाउन उनीहरु आतुर छन् । रोसेमेनका जेठो सन्तान १२, माइलो सन्तान १० र कान्छो ९ वर्षका छन् । उनीहरु अहिलेसम्म आफ्नो देश फिलिपिन्स गएका छैनन् । 

२० वर्ष काम गर्ने अवसर दिएकोमा धन्यवाद 

५५ वर्षिया विवेनिया नामाले आफूलाई २० वर्ष काम गर्ने अवसर दिएकोमा युएईलाई धन्यवाद दिइन । बुधबार घर फर्किन विमानस्थल पुगेकी विवेनियाले ५ वर्ष काम गर्नका लागि चाहिने कुनै कागजपत्र बिनै काम गरिन् ।

युएईले आममाफीको अवसर दिएकाले घर फर्किन पाएकोमा धेरै खुशी लागेको भन्दै उनले भनिन्, ‘मैले यति लामो समय यहाँ काम गरेर सानो घर बनाएको छु, अब बाँकी जीवन त्यहीँ बिताउँछु,।’

कागजपत्र नभएकाले यसअघि उनलाई घर फर्किन समस्या थियो । तर आममाफीको समयमा उनले कुनै जरिवाना र सजाय बिनै घर फर्किन पाइन । 

तीन महिनाको आममाफी सदुपयोग गर्न दूतावासको नेपाली कामदारलाई अनुरोध

युएईको लागू गरेको आममाफीबाट अवैधानिक रुपमा बसेका नेपालीलाई पनि वैधानिक बन्ने या घर फर्किने अवसर मिलेको छ । नेपालीहरुले पनि यो अवसरको सदुपयोग गरिरहेका छन् ।

युएईले दिएको आममाफीमा यसरी सहभागी बनौं (इन्फोग्राफ)

युएईमा रहेको नेपाली दूतावासले अवैधानिक रुपमा युएईमा रहेका सबै नेपालीलाई आममाफीको सक्दो सदुपयोग गर्न आग्रह गरेको छ । १ अगष्ट देखि ३१ अक्टोवरसम्म युएईले दिएको आममाफीको समयमा अवैधानिक बनेका विदेशी नागरिकले वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था गरेको छ । 

आममाफी फाइदा

इमिग्रेसनको जरिवाना लाग्दैन । 

कुनै प्रतिबन्ध बिनै युएई छाड्न पाइने । 

फेरि युएई फर्किन चाहेमा पनि पाइने ।

नयाँ काम खोज्नका लागि वैधानिक रुपमै युएईमा रहन सकिने । त्यसका लागि ५ सय दिर्हाम शुल्क लाग्छ । ‘सिक्स् मन्थ जब सिकर्स’ भिसाको लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेभसाइटमा ‘भच्र्युल जब मार्केट’ मा दर्ता गर्न सकिने । 

पछिल्लो भिसा जुन राज्यबाट लगाएको छ त्यही राज्यमा गएर आफूलाई आवश्यक पर्ने सेवा लिन सकिन्छ ।

युएईले दिएको आममाफीसँग सम्बन्धित उज्यालोमा यसअघि प्रकाशित समाचार 

युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

गैरकानुनी कामदारलाई युएईले दियो ३ महिनाको आममाफी

युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने

‍ गल्फ न्युजकाे सहयाेगमा

तपाईको प्रतिक्रिया