युएईमा मनाइएको संविधान दिवसका पाहुनाले भने, ‘मिनी नेपाल हेर्न पाइयो’

 असोज ५, २०७५ शुक्रबार ११:४:५८ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – संविधान दिवस मनाउँदा प्रस्तुत गरिएको नेपाली कला संस्कृतिले मिनी नेपालको झल्को दिएको विदेशी पाहुनाहरुले बताएका छन् । उपस्थित अन्तर्राष्ट्रिय समुदायले आबुधावीमा मिनी नेपाल देखे पनि नेपाल नै जान चाहेको बताएका छन् । 

संविधान जारी भएको दिनको सम्झनामा युएईमा एक दिन ढिला गरी बिहीबार संविधान दिवस मनाइएको हो । संविधान जारी भएको तेस्रो वर्ष पुगेको अवसरमा नेपाली दूतावास आबुधाबीले आयोजना गरेको कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिती थियो ।

युएईका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोईको प्रमुख आतिथ्यता, परराष्ट्र मन्त्रालय पर्यटन विभागका महानिर्देशक सईद अब्दुल्लाह अल कामजीको विशेष आतिथ्यता कार्यक्रम भएको हो । युएईका उच्च सरकारी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा ९२ देशका २३ राजदूत, ४३ उपनियोग प्रमुख तथा अन्य देशका दूतावास प्रतिनिधिको उपस्थिती रहेको थियो । 

कार्यक्रमको उद्घाटन युएई र नेपालको राष्ट्रिय धुन बजाएर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई नेपालको कला संस्कृति झल्किले नाच तथा झाँकी देखाइएको थियो । सांस्कृतिक कार्यक्रममा आदिवासी जनजाति महासंघ युएई शाखा अन्तर्गतका विभिन्न जातीय संस्थाहरुले प्रस्तुति देखाएका थिए । नेपालको फरक मौलिकता बोकेको सुदुरपश्चिमको देउडा र त्यहाँको कला प्रस्तुत गरिएको थियो । 

नेपाली बाजागाजा सहित नेपाली पोशाकमा उपस्थित नेपालीलाई विदेशी प्रतिनिधिले चासो दिएर अवलोकन गरेका थिए । उज्यालोसँग कुरा गर्दै युएईका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोईले नेपाली दूतावासले गरेको यो कार्यक्रमले युएई र नेपालबिचको सम्बन्ध थप उचाईमा पुगेको भन्दै प्रशंसा गर्नुभयो । 

संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा लिँदै आएको संघीय समाजवादी फोरम तथा आदिवासी जनजाति महासंघका प्रतिनिधिले भने युएईमा भएको संविधान दिवसमा सहभागिता जनाएका थिए । कार्यक्रममा युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले युएई तथा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । 

दूतावासका प्रथम सचिव सिवानी बस्नेत, द्वितीय सचिव बिष्णु अधिकारी, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, तृतीय सचिवद्वय केशवराज पोखरेल, नारायण ज्ञवाली, लेखाप्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी लगायतले उपस्थित अन्तर्राष्ट्रिय प्रतिनिधिलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन दूतावासकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारीले गर्नुभएको थियो । 

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

अरबी गायक रफीले गाए नारायण गोपालको गीत (भिडियो)

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया