मलेसियाबाट फर्किएका श्रममन्त्रीका भाइ भन्छन् : अब त मरिगए पनि विदेश जान्नँ

 कात्तिक १३, २०७५ मंगलबार १६:५३:३३ | मिलन तिमिल्सिना

काठमाडौं – तीन वर्ष मलेसिया बसेर फर्किएका गुल्मीका तारा विष्ट अहिले काठमाडौंको तीनथानामा गाई पालेर बस्नुहुन्छ । उहाँसित तीनवटा दुहुना गाई छन् । गाईपालनसँगै बिहान बेलुका तरकारी बेच्ने काम पनि गर्नुहुन्छ । 

श्रीमती र दुई छोराछोरी पनि सँगै छन् । श्रीमतीले काममा सघाउनुहुन्छ । छोराछोरी स्कुल पढ्दैछन् । गाउँमा आमा र दाइको परिवार बस्छन् । उहाँ चाहिँ छुट्टा भिन्न भएर केही महिनाअघि मात्र काठमाडौं आउनुभएको हो ।

३० वर्षका विष्ट यसअघि मलेसियामा काम गर्नुहुन्थ्यो । तीनवर्ष मलेसियामा सेक्युरिटी गार्डको काम गरेका विष्ट गएको माघमा घर फर्कनुभएको हो ।

श्रममन्त्री गोकर्ण विष्ट उहाँको दाइ पर्नुहुन्छ । ‘उहाँ मेरो ठूलोबाको छोरा हो, नातामा हामी दाजुभाइ पर्छौँ’, विष्टले मन्त्रीसँगको सम्बन्ध खुलाउनुभयो । मन्त्री विष्टको पहलमा मलेसियासँग श्रम सम्झौता भएको भोलिपल्ट मलेसियाको रोजगारीबाटै फर्किएका उहाँको भाइसित भेट भयो ।

यो सम्झौतासँगै मलेसियाको रोजगारी अब सजिलो हुने भयो भनेर धेरैजना दंग छन् । कतिपयले त मलेसिया जाने योजना पनि बनाइसके । तर श्रममन्त्रीका भाइ तारा चाहिँ वैदेशिक रोजगारीबाट वाक्क भैसक्नुभएको छ ।

‛दाइले त राम्रो काम गर्नुभएको छ, मलेसियासँग श्रम सम्झौता हुनु राम्रो कुरा हो, तर म त अब मरिगए पनि विदेश जान्न′, घाँस काट्दै गरेका ताराले भन्नुभयो, ‛जान सजिलो भएर के गर्नु, विदेशमा कति दुःख पाइन्छ भन्ने धेरै भोगिसकेको छु ।′

कतारमा ८ वर्ष, मलेसियामा तीन वर्ष

ताराले बेलामा पढ्न पाउनुभएन । घरको आर्थिक अवस्थाको कारण सानैदेखि पढ्न र रमाउनभन्दा कमाउनतिर ध्यान दिनुपर्यो । २०६३ सालमा उहाँ कतार जानुभयो । त्यहाँ पुगेर लेबरको काम गर्नुभयो । ८ वर्ष कतार बसेर ०७१ सालमा घर फर्किनुभयो । कमाई ठीकै थियो, तर सोचेजस्तो भएन ।

कतारको कमाईले घरको आर्थिक अवस्था सुधार हुन नसकेपछि उहाँ फेरि मलेसिया पुग्नुभयो । मलेसियामा सुरक्षा गार्डको रुपमा काम गर्नु पर्दथ्यो । कतारमा लेबरको भन्दा मलेसियामा सुरक्षा गार्डको काम सजिलो त थियो । तर त्यहाँ पनि भनेजस्तो पैसा भएन । त्यसपछि तीन वर्ष बसेर उहाँ गएको माघमा घर फर्कनुभयो ।
‛१०, ११ वर्ष विदेश बसेर थाहा भयो, त्यता पनि पैसा फल्ने हैन रहेछ, जता गयो कर्मसँगै भनेजस्तो दुःख मात्रै पाइने रैछ′ विष्टले सुस्केरा हाल्नुभयो । 

विदेशमा भन्दा राम्रो कमाई

विदेशको दुःख राम्रोसित बुझेका तारालाई स्वदेशी कमाईको स्वाद बस्न थालेको छ । तीनवटा गाईको दूध र तरकारी बेचेर उहाँले महिनाको ३५ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । त्यो पनि सबै खर्च कटाएर । 

‛गाईको दानापानी सबै खर्च कटाएर महिनामा ३०, ३५ हजार रुपैयाँ कमाई हुन्छ′ ताराले सन्तुष्टि जनाउँदै भन्नुभयो, ‛मैले कतार र मलेसियामा बसेर कमाएको भन्दा पनि यो धेरै आम्दानी हो ।′ यही कमाईले परिवारको गर्जो टार्न र छोराछोरीलाई स्कुल पढाउन पुगेको छ ।

‛विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने विदेश जानै पर्दैन, यहीँ बसेर मज्जाले कमाउन सकिन्छ′ ताराले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‛विदेशमा त डर मात्रै, न भनेजति पैसा, न सुरक्षा ।′

‛सोर्सफोर्सले हैन क्षमताले काम गर्ने हो′

तारालाई चिनेजानेका धेरैले मन्त्रीको भाइ भएर पनि के दुःख गरेको होला भनेर सोसफोर्स लगाएर राम्रो ठाउँमा काम गर्न उक्साउँछन् । तर तारालाई यो कुरा पटक्कै चित्त बुझ्दैन । ‛न मैले अहिलेसम्म दाइलाई काम लगाइदिनुपर्यो नै  भनेको छु, न दाइले नै आफ्नो भाइलाई भनेर यस्तो काम मिलाइदिन्छु नै भन्नुभएको छ′ ताराले भन्नुभयो, ‛सोर्सफोर्सले होइन, आफ्नो क्षमताले काम गर्नुपर्छ ।′
 

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया