युएईमा आममाफी प्रकृया एक महिनाका लागि थपियो

 कात्तिक १३, २०७५ मंगलबार २२:४२:४७ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई - युएईमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय एक महिना थप गरिएको छ । एक महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईको  नागरिकता पहिचान सम्बन्धी  संघीय प्राधिकरणले जनाएको छ । 

युएईमा गएको अगष्ट १ देखि सुरु भएको  आममाफी प्रकृया बुधबार सकिंदै थियो । यस  अवधिमा अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन आग्रह गरिएको थियो । यस अवधिमा युएईमा रहेको नेपाली दुतावास सहित बिभिन्न देशका दुतावास तथा कन्सुलेटहरुले घुम्ती सेवामार्फत अवैधानिक आफ्ना नागरिकलाई वैधानिक बन्न वा आममाफी प्रकृयामा सहभागी हुन सहयोग गरिरहेका थिए । 

केही देशका दूतावास र कन्सुलेटहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया पूरा गर्न थप समयका लागि अनुरोध गरे अनुसार एक महिना समय थप गरिएको प्राधिकरणले जनाएको छ । आममाफीको समय अवधिपछि अवैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।

साथै वैधानिक भएर युएईमै रहन चाहनेहरुलाई ६ महिनाको अस्थायी भिसा दिइने र यस अवधिमा रोजगारी खोजेर कामदार भिसा लाउन सकिने व्यवस्था छ । 

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल फर्कन पाउने छन् । गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् । अवैध बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

७  सय नेपाली आममाफी प्रकृयामा सहभागी 

गएको ९० दिनको अवधिमा सातसय नेपालीले आममाफी प्रकृयामा सहभागी भएका छन् । धेरैजसो नेपालीले वैधानिक बन्न चाहेर त्यसैअनुसार प्रकृया गरेको आबुधाबीमा रहेको नेपाली दुतावासले जनाएको छ । यस प्रकृयामार्फत नेपाल फर्केका नेपालीको यकिन तथ्याँक भने छैन । यधपी झन्डै १ हजार नेपाली यस् प्रकृयामा सहभागी भएको हुन सक्ने दुतावासको भनाइ छ ।

नेपालीको सँख्या अन्य देशको तुलनामा थोरै 

हालसम्म युएईले चलाएको आममाफी प्रकृयामा सबैभन्दा थोरै सँख्यामा नेपाली कामदारले सहभागिता जनाएको युएईको अध्यागमनले जनाएको छ ।  युएईले आममाफी प्रकृया सुरु गरेसँगै दुतावासले परराष्ट्र तथा राहदानी विभागसँग  समन्वय गरेर प्रकृयामा सहयोग गर्न आग्रह गरेको थियो । त्यसै आग्रह अनुसार अहिले युएई सेक्टरबाट आउने एमआरपी विभागमा प्रिन्ट गरेर सातदेखि १० दिनभित्र युएई पुर्याएर वितरण गर्ने गरिएको युएईका लागि कार्यबाहक राजदुत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया