पढाइ छोडेर खाडी जाँदा कमाईभन्दा धेरै खटाई

 कात्तिक १५, २०७५ बिहिबार १३:५१:१९ | सन्जिता देवकोटा

काठमाडौं – काभ्रेका सोनाम लामा सहरमा पढ्ने सपना पछ्याउदै काठमाडौं छिर्नुभयो । सरहमा पढ्ने भन्दै काठमाडौं आइपुगे पनि पढाइलाई थाँती राख्दै बहराइन पुग्नुभयो । 

सोनामले गाउँ छाड्दा सोचेजस्तो कलेज गएर किताब त पढ्नु भएन तर काठमाडौं, बहराइन र मलेसिया चर्हादा जिन्दगीका दुःख सुख पढ्नुभयो । जिन्दगी सुखदुःखको चौतारी हो । सोनामको जिवनमा पनि यही लागू भयो । 

सोनामको कथा उहाँकै शब्दमा

म १८ वर्षको उमेरमा काठमाडौं छिरेको हुँ । त्यो बेलामा एसएलसी पास गरेपछि काठमाडौं गएर पढ्नु फेसन जस्तै थियो । म पनि एसएलसी दिएर काठमाडौं आएको हुँ । 

काठमाडौं आउँदा पढ्नु थियो । अलिअलि आफैंले कमाएर रमाउनु पनि थियो । तर काम के गर्ने हातमा सीप थिएन । कक्षा ११ मा भर्ना भएँ । तर पढाईमा खासै ध्यान नै गएन । गाउँबाट आउँदा सोचेजस्तो नहुने पनि रहेछ काठमाडौं सहरमा । त्यसैले बालाजुमा रहेको आल्मुनियम कम्पनीमा काम गर्न थालेँ । 

महिना २५ सय रुपैयाँ तलब थियो त्यो बेलामा । अघिपछि आल्मुनियमको काम गरेको कहिल्यै हैन । बरु गाउँमा काठका झ्याल ढोका बनाएको चाहिँ देखेको हो । काठमाडौंमा आल्मुनियमबाट बन्ने झ्याल ढोकाको काम त फरक हुँदो रहेछ । 

११ महिना काम गरेँ मैले त्यो कम्पनीमा । त्यतीन्जेल अलिअलि काम सिकें । साथीभाइ सबैजना विदेश जाँदै थिए । त्यो देख्दा मलाई पनि के २५ सय रुपैयाँ कमाएर बस्नु, बरु विदेश गए त अलिक कमाइ त हुन्छ जस्तो लाग्यो । २०६६ सालमा आल्मुनियमकै काममा बहराइन गएँ । 

१९ वर्षको त थिएँ विदेश जाँदा । न भनेको जस्तो बल थियो न त बुद्धी नै । आलोकाचो मान्छे । काम चाहिँ आल्मुनियमको । थोरै गल्ती पनि गर्न नहुने काम हो । फेरि विदेशमा नेपालमा गरेको भन्दा काम गर्ने तरिका र प्रविधि दुवै फरक हुँदोरहेछ । 

काम गर्ने तरिका नै फरक हुँदा त गाह्रो भयो । नेपालमा सिङ्गल सिसा प्रयोग हुन्थ्यो, त्यहाँ त डबल सिसाको प्रयोग हुनेरहेछ । दिनभरी घाममा तातेको सिसा उचाल्दा त औंलादेखि पाखुरासम्म डाम्थ्यो ।

त्यो दिन सम्झँदा त अहिले पनि कस्तो लाग्छ । काम जति गह्रौं गरेपनि मेहनत अनुसारको तलब चाहिँ थिएन । ९० दिनार थियो । खाँदा लाउँदाको खर्च कटाउँदा महिनाको १५ देखि १६ हजार रुपैयाँसम्म बच्थ्यो । 

म दुई वर्ष काम गरेर २०६८ सालमा घर फर्किएँ । यहाँ आएर पनि फेरि केही वर्ष आल्मुनियमकै काम गरेँ । सन् २०१७ मा फेरि मलेसिया गएँ । जुन देश गएपनि काम उही हो । मलेसियामा त झन बहराइनको जस्तो पनि भएन । 

मलेसियामा सरकारले तोकेको एक हजार रिंगिट थियो तलब । त्यसमा ओभरटाइम गर्दा अलिक बढी हुन्थ्यो । 

तर त्यहाँ सरकार परिवर्तन भयो । सरकार परिवर्तन हुँदा कम्पनीहरुमा पनि असर पर्ने रहेछ । कम्पनीको व्यवस्थापन परिवर्तन भयो । अनि कमाइ राम्रो हुन छाड्यो । १४ महिना बसेर म नेपाल फर्किएँ । 

दुई देशको अनुभवले यहाँ केही नयाँ तरिकाले काम गर्न सकिँदो रहेछ । अहिले त म विदेशको जति त यहाँ नै कमाउछु । परिवारसँगै बस्न पनि पाइने । घरको भात खाएर कमाएको एक र पराइदेशमा कमाएको दशमा एकले नै जित्ने रहेछ । विदेशमा त खटाई मात्र ज्यादा । अहिले परिवारसँगै बसेर महिनाको ३५ हजार कमाउछु ।

तर यहाँ निमार्णको क्षेत्रमा काम गर्दा विदेशमा जस्तो सुरक्षा छैन । हाम्रो पेशामा पेशागत सुरक्षा छैन । विदेशमा सुरक्षा विना काम गर्ने ठाउँमा छिर्न पनि पाइँदैन । यहाँ त कुनै सुरक्षाको मापदण्ड विनानै काम गर्नुपर्छ । 

त्यसैले विदेशमा सीप सिकेर फर्किएका युवाका सीप स्वदेशमै प्रयोग गर्ने हो भने सरकारले पहिला उसको क्षमताको परिक्षण गरी काम गर्ने वातावरण दिन पर्छ । र पेशगत सुरक्षा पनि उतिकै हुनुपर्छ । काम गर्ने वातावरण र सुरक्षा भयो भने विदेशमा भन्दा नेपालमा नै कमाउन सकिन्छ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया