घर खर्चको हिसाब राख्न थालेपछि बचत बढ्यो

 जेठ २६, २०७५ शनिबार १६:४४:५५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

ममता राई/दिक्तेल, खोटाङ ।

म घरेलु तथा साना उद्योग विकास समितिमा करार कोटामा काम गर्छु । श्रीमान् साउदीमा हुनुहुन्थ्यो । मेरो जिम्मामा घरव्यवहार भएकाले सबै मिलाएर काम गर्दै पढ्दै पनि गरें । 

घर व्यवहार, काम, पढाइ सबैतिर समय मिलाउन त गाह्रो नै थियो तर मैले समय व्यवस्थापन गरें । एकदिन अफिसको काम सकेर घर फर्किदै थिएँ । बाटोमा साथीहरुले हाम्रो गाउँमा विदेश जानेका परिवार र विदेश जानेहरुलाई कक्षा भइरहेको छ भनेर सुनाए ।

केही समय अघिबाटै त्यो कक्षा भइरहेको रहेछ । मैले अलि पछि मात्रै थाहा पाएँ । हप्तामा एकपटक मात्र हुने भनेपछि समय मिलाएर म पनि बस्छु भन्ने लाग्यो । अनि जान थालें । 

कक्षामा एकदमै मन पर्‍यो । मैले कलेजमा सिक्ने, पढ्ने कुरा भन्दा एकदमै फरक रहेछ । श्रीमान् विदेश गएदेखि छोराछोरी स्याहारेरै आफैंले सबै व्यवहार मिलाएकै हो । तर त्यो कक्षामा बसेपछि मलाई त जानेको कुरामा पनि निकै चिज नपुगे जस्तो लाग्यो । 

वित्तीय साक्षरता कक्षामा बसेपछि मैले निकै कुरा सिकेँ । गरिरहेको घरव्यवहार पनि कसरी व्यवस्थित रुपमा गर्ने भन्ने सिकेँ । श्रीमानले विदेशमा कमाएको पैसा कसरी बचाउने, बचत कसरी बढाउने र आम्दानीका बाटा कसरी पत्ता लागउने भन्ने कुरा सिक्न पाएँ । 

वित्तीय व्यवहार राम्रो बनाउन सिकेपछि मैले सुरुमा त घरमा हुने खर्च र आम्दानीको टिपोट गर्न थालें । भएको खर्च र आम्दानी लेखेर राख्दा निकै फाइदा हुँदो रहेछ । पैसा खर्च भएको देखिँदो रहेछ र त बचाउन मन लाग्दो रहेछ ।

घर खर्चको हिसाब राख्दा मलाई निकै फाइदा भयो । मैले सोचेको भविष्य पूरा गर्न यसरी खर्च गरेर हुन्छ कि हुँदैन ? बचत कति गर्नु पर्छ भन्ने कुराको महशुस हुन थाल्यो । 

अफिस जाने समय बाहेक घरमा पनि केही आम्दानी हुने बाटो खोज्न थालें । कुखुरा पहिले पनि थियो घरमा । तर थोरै । मैले आफ्नो आम्दानीका लागि कुखुरा पालन सुरु गरें ।

पहिला अफिस टाइम बाहेक यसै गफ गरेर खेर जाने समयमा अहिले दुई चार रुपैयाँ भएपनि कमाउन थालेको छु । अहिले त श्रीमान् पनि फर्किनुभयो । अब दुबै जना मैले बनाएका योजना पुरा गर्ने सोचेको छु । 

ममता राईसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया