विदेशको अस्पतालमा कोमामा रहेका छोराको सास कुर्दै आमा(भिडियाे)

 कात्तिक २०, २०७५ मंगलबार १०:२१:० | मोहन पौडेल

काठमाडौं – ७४ वर्षअघि जन्मिएकी नन्नीदेवी चापागाईंको अनुहारको छाला चाउरी पर्न थालेको छ । झट्ट हेर्दा अनुहारका यी चाउरी उहाँले पार गरेका उमेरका धर्सा हुन भन्ने लाग्छ ।

तर कुरा गर्दै जाँदा थाहा भयो यी त उमेरको भन्दा पनि उहाँले भोगेका पीडाका धर्सा रहेछन् । आफ्नो सास नजाँदै छोराको सास भेट्न पाइन्छ कि पाइन्न भन्ने पीडाका धर्सा । 

नवलपरासीको जहदा दविल्लाकी नन्नीदेवीका जेठा छोरा भागिरथ २३ महिनादेखि कुवेतको एउटा अस्पतालमा थलिनुभएको छ । तिनै छोरासँग भेट्न पाइने हो कि होइन भन्ने पीरले नन्नीदेवीको ज्यान सुक्दैछ ।

२३ महिनाअघि छोरा दुर्घटनामा परेको खबर सुनाउने कसैले पनि भागिरथ बाँचेर फर्किने कुरा भन्दैनथे । कमाउन गएको छोरो देख्न नपाइने कुरा सुन्नुपर्दा नन्नीदेवीको आँखा भरियो, बोली रोकियो । 

नन्नीदेवीले छोरालाई कारले ठक्कर दियो रे भन्ने सुन्नुभयो । त्यसको केही समयपछि उहाँलाई चिन्नै नसक्ने गरी कपडाले बेरिएको अवस्थामा रहेको फोटो देखाएका थिए । तर त्यसपछि छोरालाई कस्तो छ उहाँले देख्न पाउनुभएको छैन ।

भिडियाे हेर्नुहाेस्

बेलाबेला अब छोरालाई ल्याउने अरे भनेको उहाँले सुन्ने गर्नुभएको छ । ६ महिनाअघि कुवेतबाटै फर्किएका नातीले पनि यस्तै खबर सुनाएका थिए उहाँलाई ।

‘नातीले अब आमाले बुवालाई लिएर आउने अरे भन्यो, देख्न पाइने रैछ भन्ने लागेको थियो’ ओठ काँप्दै गर्दा नन्नीदेवीले भन्नुभयो ‘ल्याउँछन कि भनेर बाटो हेर्ने बाहेक अरु के नै पो गर्न सक्छु र । भनेको यतिका महिना भइसक्दा पनि ल्याएका छैनन्, देख्न पाइने हो कि नपाइने हो भन्ने चिन्ताले सताउन थालिसक्यो ।’ 

दलालले फसाएपछि कुवेत जानुपर्‍यो 

भागिरथलाई दुई छोरा सहितको चार जनाको परिवार चलाउन मुश्किल थियो । त्यसैले केही गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका बेला विदेश पठाउने दलालले विदेश जाने मान्छे खोज्न भने । मान्छे खोजे बापत कमिसन दिने एजेण्टको प्रस्ताव थियो । 

मान्छे खोज्दा नै पैसा आउने भएपछि उहाँले गाउँबाट विदेश जाने व्यक्ति खोज्न थाल्नुभयो । भागिरथले खोजेका ६/७ जनाबाट झण्डै १५ लाख रुपैयाँ लिएर दलाल भागे । दलाल पैसा खाएर भागेपछि भागिरथको जीवनमा मात्रै होइन परिवारमै ठूलो सङ्कट आयो । 

विदेश जान ठिक्क परेकाहरुले आफूहरुले अरुलाई नचिन्ने अनि पैसा पनि भागिरथलाई नै दिएकाले उनैबाट फिर्ता पाउनुपर्ने भन्दै प्रहरीमा उजुरी दिए । 

उनीहरुको पैसा फिर्ता गर्ने उपाय भागिरथसँग थिएन । जसरी पनि पैसा तिर्नुपर्ने भएपछि भागिरथकी श्रीमती रजिता कुवेत जानुभयो । घरको काममा गएकी रजिताले तिर्नुपर्ने पैसा जुटाउनुभयो । एउटा समस्या त टर्यो, तर परिवारको गर्जो टार्ने समस्या जस्ताको तस्तै थियो । 

ऋणमाथि ऋण 

दशा बाजा बजाएर आउँदैन भनेजस्तै भयो भागिरथलाई । एकदिन उहाँको कान्छो छोराले चलाएको मोटरसाइकलले ठक्कर दिंदा एकजना घाइते भए । उनको उपचार गर्नुपर्ने भयो ।

घाइतेलाई उपचार गर्दा १९ लाख रुपैयाँ ऋण लाग्यो । त्यो ऋण कसरी तिर्ने उहाँको परिवारसँग कुनै बाटो रहेन । भागिरथको परिवारसँग एक कठ्ठा भन्दा धेरै जमिन थिएन । त्यसैले त्यही जमिन बेचेर ऋण तिर्नुभयो । 

भएको जेथा पनि सकिएपछि रजिताले भागिरथलाई पनि कुवेत नै लानुभयो । कुवेतमा भागिरथले सेक्युरिटी गार्डको काम गर्नुहुन्थ्यो । श्रीमान् पुगेको झण्डै ६ महिनापछि रजितालाई साहुले कुवेतबाट ६ महिनाका लागि साउदी पुर्‍यायो ।

रजिता घरेलु कामदार भएकाले साहुले उनलाई साउदीमा आफन्तको घरमा केही समय काम गराउन लिएर गए । 

श्रीमती साउदीमै भएका बेला भागिरथ २०७३ पुस ७ गते दुर्घटनामा पर्नुभयो । कामबाट फर्किने क्रममा महाबुल्लाह भन्ने ठाउँमा बाटो काट्ने क्रममा उहाँलाई गाडीले ठक्कर दिएको हो । उहाँलाई प्रहरीले अस्पतालमा पुर्‍यायो । रजिताले भने ढिलो गरी मात्रै थाहा पाउनुभयो । 

भागिरथ दुर्घटनामा पर्दा उहाँका जेठा छोरा पनि भर्खरै कुवेत पुग्नुभएको थियो । सबै लागेर कमाउँदा केही गर्न सकिएला कि भन्ने आशमा रहेकी रजिताले छोरालाई पनि कुवेत लानुभयो । 

तर कुवेत पुगेको सात महिनामै दुर्घटनामा परेपछि भागिरथ २३ महिनादेखि अस्पतालमा हुनुहुन्छ । दुर्घटनामा परेका भागिरथका दुवै खुट्टा दुई तीन ठाउँमा भाँचिएका छन् ।

उहाँको फोक्सोमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ । उहाँलाई नेपाल फर्काउन डाक्टर र नर्स सहितको एयर एम्बुलेन्स चाहिने अस्पतालको भनाई छ । भागिरथका जेठा छोरा अहिले घर आएका छन् । श्रीमती रजिता चाहिँ अहिले पनि कुवेतमै हुनुहुन्छ । 

एयरलाइन्सले ल्याउन नमानेपछि समस्या 

भागिरथलाई नेपाल ल्याउन पहल गरेको धेरै भयो । तर एयरलाइन्स कम्पनीहरुले ल्याउन नमानेपछि उहाँलाई घर ल्याउने प्रयास सफल भएको छैन । 

ओमान एयरलाइन्सले ल्याउने सहमति गरे पनि अन्तिम समयमा आएर कुरा फेरेपछि ल्याउन नसकेको उहाँको उद्धारमा सहयोग गरिरहेका लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमाल बताउनुहुन्छ । सुरुमा एयरलाइन्सले स्टेचरको व्यवस्था गरिदिने भन्दै पैसा जम्मा गर्न भनेको थियो । 

अभियान चलाएर सङ्कलन गरिएको १० लाख रुपैयाँ एयरलाइन्सलाई बुझाउन जाँदा स्टेचरको व्यवस्था गर्न नसक्ने जवाफ दियो । हमालका अनुसार कतार एयरलाइन्ससँग कुरा गर्दा पनि कतार एयरले कुवेतबाट नभई कतारबाट मात्रै स्टेचर दिन सक्ने भन्दै बिरामीलाई कतार लान भनेको जानकारी दिनुभयो । 

भागिरथको अवस्था गम्भीर भएकाले सास छँदै भेट गराउन पहल गरिदिन परिवारले सरकारसँग अपिल गरेको छ । 

 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया