दलालले हामीलाई धम्क्याइरहेको छ, न्याय चाहियो सरकार

 जेठ ३०, २०७५ बुधबार १६:३७:१७ | मोहन पौडेल
unn.prixa.net

काठमाडौं – सुनसरीको बबियाका बिनोद खत्वे कतारबाट फर्किएको एक महिना पनि भएको थिएन । साढे पाँच वर्ष कतारमा बिताएर फर्किएका बिनोदलाई छिमेकी बेचु मियाँले मलेसियामा पेन्टरको माग आएको भन्दै लोभ देखाए । 

बेचु मियाँ छिमेकी भएकाले बिनोदले उनले ढाँट्लान भन्ने सोच्नुभएन । एक त छिमेकी अर्को राम्रो काम र कमाई । बिनोद बेचु मार्फत जान तयार हुनुभयो । 
कतारमा ५ वर्ष बसेर फर्किएकाले विनोदलाई वैदेशिक रोजगारी नयाँ कुरा थिएन तर पहिलो पटक जाँदा अहिले जस्तो बुझ्ने ठाउँ थिएन । बुझाउनेहरु थिएनन् ।

तर दोस्रो पटक भने बुझ्ने मौका पनि पाउनुभएन । ‘आएको एक महिना पनि भएको थिएन फेरि जाने भन्ने भयो’ बिनोद भन्नुहुन्छ, ‘त्यस्तै त हो नि भन्ने सोचें ।’ 

मोहम्मद जिब्राइल मियाँ पनि ३ वर्ष मलेसिया बसेर फर्किनुभएको थियो । बेचुले उहाँलाई धेरै कमाइ हुने भन्दै कम्पनीभित्रको कामको आश्वासन दिए । जिब्राइललाई पनि बिनोद जस्तै पठाउने व्यक्ति छिमेकी नै भएकाले धेरै बुझ्नु पर्दैन भन्ने लाग्यो । तर उनीहरुको त्यही कमजोरीको फाइदा उठाए दलालले । 

बेचुले बिनोद र जिब्राइलसँगै सूर्यनारायण खत्वे र लक्ष्मण खत्वेलाई पनि मलेसिया पठाइदिने भन्दै एक लाख १२ हजार रुपैयाँका दरले पैसा लिए । चार जना एउटै गाउँका । चार जनामध्ये बिनोदलाई पेन्टरको काम भनेका बेचु मियाँले अरु तिनै जनालाई अमेरिकन कम्पनीको काम भनेका थिए । 

द रिभर ओभरसिज मार्फत मलेसिया पुग्दासम्म उनीहरुले दलालले भनेकै जस्तो राम्रो काम र कमाईको सपना देखेका थिए । तर पुगेपछि न भनेको कम्पनी भयो न भनेको काम नै । उनीहरुलाई अमेरिकन कम्पनी हो भनिएको थियो । अनि काम चाहिँ बिनोदलाई पेन्टर अनि तीन जनालाई हेल्परको भनिएको थियो ।  

तर मलेसिया पुगेपछि सबैलाई स्काफोल्डिङको काममा लगाएपछि उनीहरु समस्यामा परे । ‘हामीलाई तिमीहरुको काम कम्पनीभित्रकै हो बाहिर जानु पर्दैन । १२ किलोसम्मको सामान चाहिँ उचाल्नुपर्छ भनेको थियो त्यही भएर गएका हौं ।’ मलेसियामा गर्नुपरेको काम सुनाउँदै  जिब्राइल मियाँले भन्नुभयो ‘स्काफोल्डिङको काम नजानेपछि कसरी गर्नु ।’

त्यति मात्रै होइन । सप्लाई कम्पनीमा पठाइदिएकाले काम गर्ने ठाउँ फेरिइरहन्थ्यो । ठाउँ जस्तै कम्पनीका काम गराउने व्यक्तिको व्यवहार पनि । ‘काम गर्ने ठाउँ र बस्ने ठाउँ बबिया र इनरुवा जत्तिकै दूरीमा थियो । कहिलेकाहीँ लिन आउने गाडी नै ढिलो हुँदा पनि गाली गथ्र्यो,’ सूर्यनारायण खत्वे भन्नुहुन्छ । 

गाली गर्दा पनि तीन जना बोल्न सक्दैनथे तर जिब्राइल मियाँ पहिला पनि मलेसिया नै बसेर फर्किएकाले आफ्ना कुरा भन्नुहुन्थ्यो । ‘त्यतिबेला म्यानेजरले धेरै बोलिस भने मारेर फाल्दिन्छु भन्थ्यो’ जिब्राइल भन्नुहुन्छ । 

न भनेको काम पर्यो न जानेको । तर पनि ऋण काढेर विदेश पुगेका उनीहरुका अगाडि काम गर्नुको विकल्प थिएन । त्यसैले आफूहरुलाई पठाउने बेचु मियाँलाई फोन गरेर काम मिलाइदिन आग्रह गरे । बेचुले केही गर्न नसक्ने बताए । 

काम अप्ठ्यारो भएकाले समस्यामा परेका उनीहरुले तीन महिनासम्म पनि तलब नपाएपछि झनै समस्या भयो । त्यसपछि के गर्ने भन्ने उनीहरुले पत्तै पाएनन् । त्यतिञ्जेलसम्म विदेश गएका छोराहरुको कमाइ पर्खिरहेका परिवारले उनीहरु समस्यामा परेको खबर पायो । 

छोराहरुलाई थाहा नभएका कुरा जिब्राइलका बुवा सहिद मियाँलाई थाहा थियो । विदेश जानु अघि सूचना लिन अनि विदेश पुगेपछि केही अप्ठ्यारो प¥यो भने सहयोग गर्छ भन्ने थाहा पाएकाले उहाँले सूचना केन्द्रमा निवेदन दिनुभयो । 

केन्द्रले सुरुमा बेचु मियाँलाई मलेसियामा रहेका युवाका समस्या समाधान गरिदिन आग्रह गर्यो । तीन पटकसम्म हुन्छ भन्दै टारेपछि सूचना केन्द्रले बेचुका बिरुद्धमा वैदेशिक रोजगार विभागमा उजुरी दियो । बेचुलाई प्रहरीले पक्रियो । 

७० हजार मगाएर घर फिर्ता  

पक्रिएको २६ दिन नहुँदै बेचु मियाँ छुटे । त्यसपछि त बेचुले कम्पनीलाई उनीहरुलाई फर्किन नदिन भन्दै फोन गरेछन् । त्यो फोनले आफूहरुलाई झनै गाह्रो भएपछि उनीहरुले बुवालाई फोन गरे ।

छोराहरुका फोनले सहिदलाई झनै झस्किन्थ्यो । त्यही पीडा कम गर्न सहिदले चार जनाका लागि जनही ७० हजार रुपैयाँ पठाएर नेपाल फर्काउनुभयो । ‘हामी भाग्छौं भनेपछि त्यस्तो गरे भने त झनै गाह्रो हुन्छ भनेर ऋण माथि ऋण नै थपेर भएपनि फर्काएँ’ सहिद भन्नुहुन्छ । आफूहरुलाई ठग्ने व्यक्ति छुटेपछि  न्याय पाइन्छ भन्ने आश बाँकी नै थियो उनीहरुसँग । तर त्यो आश, आश मात्रै भयो । 

रिहा भएका बेचुसँग जिब्राइल मियाँले आफूहरुले दिएको पैसा फिर्ता दिन आग्रह गर्नुभयो । तर उनले पैसा दिनुको सट्टा उल्दै धम्क्याए । ‘तिमीहरुले के गर्न सक्छौ गर म जेल बस्नु परे बस्छु तिमीहरुको कति पावर छ तिमीहरुको पावर भएसम्म म पनि पुग्न सक्छु भन्छ ’ जिब्राइलले भन्नुभयो । 

‘निराश भएको मान्छे त झुण्डिन पनि सक्छ विष खान पनि सक्छ’ 

चारै जनाको आर्थिक अवस्था निक्कै कमजोर छ । त्यही कारण आर्थिक अवस्था सुधार्ने सपना लिएर मलेसिया गएका उनीहरुसँग एक जनाले एक लाख १२ हजार रुपैयाँका दरले दिएको प्रमाण पनि छ । 

तर आफूहरुले न्याय नपाएको भन्दै उनीहरुले न्याय दिन विभागसँगै सरकारसँग पनि गरेका छन् । आफूहरुसँग प्रमाण हुँदा हुँदै पनि न्याय नपाएकोमा उनीहरु निराश छन् । ‘ विभागले हो कि सरकारले नै दिने हो हामीलाई अब न्याय दिनुपर्यो नत्र भने त निराश भएको मान्छे त झुण्डिन पनि सक्छ विष खान पनि सक्छ’ जिब्राइलको अनुहार अँध्यारो भयो । 

न्याय दिने पक्रिया पीडितले सोच जस्तो छिटो छैन : सूचना केन्द्र

विदेश जानु अघि सूचना र जानकारी लिन सुनसरीको जिल्ला प्रशासन कार्यालयसँगै सूचना केन्द्र छ । उनीहरुले जानु अघि सूचना केन्द्रमा चाहिने जति सूचना लिएनन् । तर समस्या परेपछि केन्द्रमा आइपुगे । यसरी नै केन्द्रमा आउनेहरु धेरै छन् ।

पीडितले निवेदन दिएपछि केन्द्रले त्यसलाई वैदेशिक विभागमा पठाउँछ । तर विभागबाट न्याय दिने प्रक्रिया लामो छ भन्नुहुन्छ केन्द्रका परामर्शकर्ता प्रमोद मेहता । ‘एक त पीडितका लागि काठमाडौं जानु आउनु नै खर्च र समयका हिसाबले गाह्रो छ । अनि समय धेरै लाग्दा धेरै पीडितका आफन्तले बिचमै छोडिदिन्छन्’ उहाँ भन्नुहुन्छ । 

न्यायका लागि परिवारले खेपेको सास्ती

मलेसिया पुगेर छोरा अलपत्र परेपछि मोहम्मद जिब्राइल मियाँका बुवा सहिद मियाँ मात्रै होइन चार जनाकै परिवार आत्तिए । अरुलाई के गर्ने, कसो गर्ने केही थाहा थिएन । त्यसैले सहिद आफैं न्याय खोज्दै हिँड्नुभयो । 

छोराहरु ठगिएर फर्किएको एक वर्ष भन्दा धेरै भयो । तर सहिद मियाँले अहिलेसम्म न्याय पाउनुभएको छैन । छोराहरुसँग लिएको पैसा फिर्ता माग्दै उहाँले म्यानपावरलाई पनि निवेदन लेख्नुभयो । तर गाउँका व्यक्तिले त्यो निवेदन म्यानपावरमा नपुर्याएपछि सुनुवाई हुने कुरै भएन । 

उहाँ आफैं म्यानपावर पुग्दा मार्ने धम्की दिएर पठाइदियो । ‘काटेर यही काठमाडौंमा फ्याल्दिन्छु भन्यो’ सहिद भन्नुहुन्छ । आउँदा जाँदा ६० हजारको त हिसाब किताबै छैन । 

पक्राउ परेका दलाल छुटेपछि र म्यानपावरले धम्क्याएपछि न्याय पाइँदैन कि भन्ने पनि लाग्छ सहिद मियाँलाई कहिलेकाहीँ । तर सरकारसँग उहाँको आशा अझै मरिसकेको छैन । त्यसैले आग्रह गर्दै भन्नुहुन्छ ‘ऊ (बेचु) छुटेपनि हामीले सबै ठाउँमा निवेदन अनि उजुरी दिएकै छौं अब के गर्नुपर्छ सरकारले बुझेर गरिदेओस । हामीलाई न्याय चाहियो ।’

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया