गोविन्दप्रसाद न्यौपाने / यूएई

प्रश्नः एकजना साथीले राम्रो काम लगाइदिन्छु भन्दै मलाई भिसा क्यान्सिल गर्न लगाए । मैले उनले भनेजस्तै २०२१ सम्म रहेको मेरो भिसा क्यान्सिल गरे । तर उसले भनेजस्तो काम रहेनछ । मैले नराम्रो काम नगर्ने भनेपछि उनले अर्को काम लगाइदिन्छु भनेका छन् । तर लगाइदिएका छैनन् । म अहिले खाली बसिरहेको छु । भिसा क्यान्सिल गरेको पनि एक महिना भइसक्यो । यस्तो अवस्थामा मैले कस्तो कानुनी उपचार पाउछु होला ?


 

उत्तरः गोविन्दप्रसाद जी, हामीले तपाईँको जिज्ञासा पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्ण प्रसाद न्यौपानेसँग राखेका थियौं । उहाँले तपाईँलाई जतिसक्दो छिटो नेपाल फर्किन सुझाव दिनुभएको छ । तपाईँले भिसा क्यान्सिल गरेको पनि एक महिना हुन लागेकाले परदेशमा ओभरस्टे भएर बस्नु उपयुक्त हुँदैन । जति दिन बढ्दै गयो त्यती नै तिर्नुपर्ने ओभरस्टेवापतको  रकम बढी तिर्न पर्छ । भोली काम मिलेन वा कुनै विकल्प भएन भने नेपाल फर्किन समस्या हुन्छ । तत्काल आफ्नो समस्या यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासमा राख्नुहोस । तपाईँले नेपाल फर्किए पछि झुटो आश्वासन दिने साथी यदि नेपाली नागरिक हुन भने उनी विरुद्ध काठमाण्डौको बुद्धनगरमा रहको वैदेशिक रोजगार विभागमा उजुरी दिनुहोस् । तपाईँले साथी विरुद्ध ठगीको उजुरी दिन सक्नुहुन्छ ।