Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

343 Desh Paradesh 2019-01-22

कार्यक्रम देश परदेशको अंक ३४३ विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरि धन कमाउने र देशमै रमाउने युवामा केन्द्रित छ । कार्यक्रममा विदेशमा होटलमा काम गर्दा सिकेको सीपबाट ईलाममा आफै होटल खोलेर महिनै पिच्छे लाख कमाउन थालेका भुवन मगरका सफलताका कुरा समावेश गरिएको छ । अनि मलेसियामा एकै कम्पनीमा फर्निचरको काम गरी फर्किएर इलाममा संयुक्त रुपमा फर्निचर कारखाना सुरु गरेका मन्दिप राई र लक्ष्मण घिमिरेका कुरा पनि कार्यक्रम देशपरदेशमा सुन्न सकिन्छ । देश परदेशको अनुभव र सुझाव स्तम्भमा सीप प्रमाणीकरण गर्दाका फाइदा बारे नेपाल टे«ड युनियन महासंघ जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठका कुरा सुन्न सकिन्छ । साथै नियमित स्तम्भ दिदीबहिनीका कुरामा कुवेतमा हण्डर खेपेर फर्किएपछि स्वदेशमै व्यवसाय गरी घर चलाएकी मोरङकी गायत्रा ओझाको संघर्षका समेटेका छौं ।