Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

349_Desh Paradesh 2019_03_05

कार्यक्रम देश परदेशको अंक ३४९ मा सरकारले विकास गरेको अनलाइन प्रणालीका बिषयमा छलफल गर्दैछौं । यही कुरा गर्न आज हामीसित हुनुहुन्छ वैदेशिक रोजगार विभागका इन्जिनियर विपुल पराजुली । काम गर्न विदेश पुगिसकेपछि पनि समस्या पर्दा कम्प्यूटर र मोबाइलबाटै उजुरी गर्न र सहयोग माग्न सकिन्छ । मोबाइलबाटै निवेदन दिएर कसरी सेवा पाइन्छ त भन्ने बिषयमा आज हामी कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीका कुरा सुन्ने छौं । सरकारको यो प्रयास कत्तिको प्रभावकारी भइरहेको छ त ? भन्ने बारेमा तयार पारिएको रिपोर्ट पनि सुन्नेछौं । अनि, हाम्रो नियमित स्तम्भ दिदीबहिनीका कुरामा कमाउन साउदी अरब गएका श्रीमान बिरामी भएर फर्किएपछि धादिङकी गीता अर्यालले भोग्नु परेका समस्या सुन्न सक्नुहुनेछ ।