Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

373_Desh Paradesh 2019-08-20

कार्यक्रम देश परदेशको ३७३ औं अंक आजको देश परदेश कार्यक्रममा अवैधानिक कामदारलाई घर फर्किन मलेसियाले दिएको आममाफी र यस्तो अवसरमा घर फर्किन खोज्नेलाई सरकारले गर्ने सहयोगका विषयमा केन्द्रित छ । मलेसियामा अवैधानिक भएर काम गरेका नुवाकोटका मानबहादुर तामाङका अनुभव कार्यक्रममा सुन्न सकिन्छ । मलेसियाले अघिल्लो वर्षजस्तै यसपटक पनि अवैधानिक कामदारलाई घर फर्कने अवसरसहित ‘ब्याक फर गुड’ कार्यक्रम चलाएको छ । अवैधानिक नेपाली कामदारलाई घर फर्काउन मलेसियामा रहेको नेपाली दूतावासले गर्ने सहयोगका विषयमा दूतावासका दितीय सचिव प्रतिक कार्कीसँगको कुराकानी पनि कार्यक्रममा समावेश छ । साथै आममाफीको समयमा समस्यामा पर्ने कामदारलाई स्वदेश फर्काउन वैदेशिक रोजगार बोर्डले गर्ने सहयोगका विषयमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँगको कुराकानी र परदेशमा अवैधानिक भएर किन काम गर्न हुँदैन भन्ने विषयमा यूएईमा काम गरेर फर्किएका र अहिले कामदारकै अधिकारका लागि काम गरिरहेका जेपी सापकोटाका सुझाव पनि सुन्न सकिन्छ । साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु । र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि र राउण्डअप पनि ।