Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

401_Desh Paradesh 2020-03-03

कार्यक्रम देश परदेशको ४०१ औं अंक बुवाआमा वैदेशिक रोजगारीमा गएपछि छोराछोरीमा पर्ने मानसिक समस्याको विषयमा केन्द्रित छ । बुवाआमा दुवैजना वैदेशिक रोजगारीमा गएर उतै सम्पर्कविहिन भएपछि उनीहरुका छोराछोरीले भोग्नुपरेको समस्या बुझ्न रामेछापको दोरम्बा गाउँपालिका पुगेर बनाएको रिपोर्ट कार्यक्रममा सुन्न सक्नुहुनेछ । यस्तै वैदेशिक रोजगारीबाट फर्किएर बुवाले अर्कै विहे गरेपछि आमाबुवा दुवैजनाबाट एक्लीएका गोमा र उनका भाइ नारायण थापामगरका कुरा पनि कार्यक्रममा समेटिएका छन् ।
परदेश गएर पैसा कमाउँदैमा सबै समस्या समाधान भइहाल्छ भन्ने बुवाआमाको सोच हुन्छ । तर छोराछोरीलाई एक्लै छाडेर परदेश जाँदा उनीहरुमा के कस्तो मानसिक असर पर्छ त्यसको आँकलन अभिभावकले गर्दैनन् । यसले गर्दा त्यसको प्रत्यक्ष असर छोराछोरीमा पर्छ ।
बुवाआमा नहुँदा बालबालिका मानसिक र भावनात्मक रुपमा विक्षिप्त हुनसक्छन् । गलत संगतमा फस्ने, हिंसामा पर्ने, पढाइ बिग्रने पनि हुन्छ ।
यस्तै परदेशीनु अघि र परदेशमा रहेका बुवाआमाले कस्ता कुरामा ध्यान दिनपर्छ भन्ने विषयमा वरिष्ठ मनोविद डा. कपिलदेव उपाध्यायका सुझाव पनि आजको कार्यक्रममा समावेश छ । अनि साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अफ पनि ।