क्रोएसियाले स्पेनलाई हरायो

 कात्तिक ३०, २०७५ शुक्रबार १०:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

युईएफए नेसन्स लिगमा क्रोएसियाले स्पेनलाई हराएको छ । जाग्रेवस्थित मैदानमा भएको खेलमा घरेलु टिमले स्पेनलाई ३–२ ले हरायो । क्रोएसियाको जितमा टिन जेट्भाजले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए । 

५४औं मिनेटमा एन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन । इस्कोको पासमा डानी सेबालोसले ५६औं मिनेटमा गोल गर्दै स्पेनलाई खलमा फर्काए ।

६९औं मिनेटमा क्रोएसियाले पुनः अग्रता लियो । यस पटक लुका मोड्रिचको पासमा जेड्भाजले हेड गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा स्पेनले क्रोएसियालाई दबाब दिएको थियो । ७८औं मिनेटमा स्पेनले पेनाल्टी पायो । सिमे भ्रासाल्ज्कोले पेनाल्टी एरिया नजिकै बललाई हातले छोएपछि पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै खेल फेरी बराबरीमा पुर्‍याए । 

नियमित समयमा खेल बराबरी भएपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा जेड्भाजले ब्यक्तिगत दोस्रो गोल गर्दा क्रोएसियाले ३–२ को अग्रता लियो । जोसिप ब्रेकालोले हानेको प्रहार स्पेनका गोलकिपर डेविड डि गेयाले बचाएर आएको रिबाउण्ड बललाई जेड्भाजले गोलमा परिणत गरेका थिए ।

जितसँगै क्रोएसियाले समूहमा चार अंक बनाएको छ । यस समूहमा स्पेन ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड चार अंक सहित दोस्रो स्थानमा छ । समान अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै क्रोएसिया तेस्रो स्थानमा छ । 

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया