टोखामा रंगशाला बनाउँदैछौं : नगरप्रमुख अधिकारी

 कात्तिक ३०, २०७५ शुक्रबार १२:८:५ | विना न्याैपाने
unn.prixa.net

स्थानीय तहमा जनप्रतिनिधिले काम थालेको डेढ वर्ष भैसकेको छ । नागरिकका गुनासा तथा समस्या समाधन गर्न र स्थानीय तहको विकास गर्न जनप्रतिनिधिहरुले काम त गरिरहेका छन् । तर अप्ठ्याराहरु पनि नभएका होइनन् । स्रोत साधन जुटाउन समस्या छ । व्यवस्था बुझ्नै पनि जनप्रतिनिधिलाई धैरै समय लागेको छ ।

अझै काठमाडौं भित्रका स्थानीय तहमा बढी समस्या छन् । तीव्र रुपमा बस्ती विकास भएका काठमाडौंका स्थानीय तहमा अव्यवस्थित सडक, ढल, पानी, जग्गा विवादजस्ता समस्या समाधान गर्न चुनौती छ ।

काठमाडौंको टोखा नगरपालिकामा पनि यस्ता धेरै समस्या छन् ।  नगरपालिकाका समस्या, नागरिकका गुनासा र जनप्रतिनिधिले गरेका कामकाबारेमा विना न्यौपानेले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

तपाईँ जनप्रतिनिधि भएर आएको पनि एक वर्ष ५ महिना बितिसकेको छ, तपाईँले अहिलेसम्म नगरपालिकामा के के काम गर्नुभयो ?

शिक्षा र स्वास्थ्यको हबको रुपमा नगरपालिकाको विकास गर्न हामीले वडाअनुसार कामको विभाजन गर्‍याैँ । कामको नक्साङ्कन, कामको प्राथमिकरण गरेका छौं । 

वडा नम्बर १, २, ३, लाई पर्यटन, संस्कृति तथा कृषिसँग जोड्ने योजना अघि सारेका छौं । वडा नम्बर ४, ५, ६, ७, ८ लाई शिक्षाको हब तथा व्यवसायिक रुपमा विकास गर्ने भनेर योजना बनाएका छौं ।

धापासी, गाेंगबु र टोखालाई  छुट्टाछुट्टै पहिचानको रुपमा विकास गर्दैछौं । यिनै योजना अनुसार बजेट विनियोजन गरेका छौं ।  एक नम्बरको बौडेश्वरको गुरुयोजना २५ करोडको लागतमा बन्दैछ । योभन्दा पहिले त्यो हुन सकेको थिएन ।

त्यस्तै बालमैत्री पार्क साढे चार करोडको लागतमा बनाउँदैछौं । बालबालिकाको पुरै अधिकार प्रत्याभूत गराउन हामी लागिपरेका छाैँ । छिटै टोखालाई बालमैत्री नगरपालिकाको रुपमा विकास गर्नेछौं ।

जलेश्वरको निर्माण साथै आन्तरिक तथा बाह्य पर्यटक कसरी बढाउने भनेर हामीले योजना बनाउँदैछौं । स्थानीय संस्कार तथा संस्कृति अनुसारको होमस्टे निर्माणमा पनि हामीले चासो दिएका छौं ।

नगरवासीले कस्ता समस्या लिएर आउँछन् ?

सबैभन्दा धेरै आउने समस्या भनेको घर जग्गाको समस्या हो । त्यसमा पनि सीमाना नमिलेको, बलेसी नभएको, बाटो नछोडेको, बाटो बिग्रिएको जस्ता समस्या धेरै आउँछन् । त्यस्ता समस्या समाधान गर्न हामी गम्भीर भएर लागेका छौं । हामी जतिसक्दो चाँडो समस्या समाधान गर्न लागिपरेका छौं । 

समस्या समाधान गर्न कस्तो प्रकृया अपनाउने गर्नुभएको छ ?

समस्यालाई हामी राम्रोसँग सुन्छौं । सबै समस्याको समाधान नगरपालिकाभित्रको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने हो । विशेषगरी टोखा नगरवासीले गरेको मागको सम्बन्धमा हामीले सबै कुरा रेकर्ड गरेर राख्छौं र त्यो माग नगरसभाबाट अनुमोदन गराउँछौं । समस्या अनुसार हामीले त्यहाँ जनशक्ति घटाउने गरेका छौं । खानेपानीमा समस्या भएको माग, बाटो  बिग्रिएको माग, ढल निकासको समस्या, जग्गा संक्षणको माग आउँछ, त्यसपछि म आफैंले प्राविधिक पठाउँछु । 

समय मिलेसम्म म आफैँ  पनि  जान्छु । नमिलेको समयमा प्रविधिक पठाउने हो । त्यो साँच्चैको समस्या रहेछ भने त्यसलाई योजनामा समावेश गराएर बजेट विनियोजन गरेर काम गर्छौं  ।

आर्थिक वर्ष २०७४/०७५ मा धेरै समस्याको समाधान गरेका छौं । विकास निमार्णका काम धेरै भैसको छ । एक आर्थिक वर्षमा समेट्न नसकेका समस्या रेकर्ड राख्छौं र अर्को आर्थिक वर्षमा समेट्छौं । 

बालमैत्री पार्क बनाउन सुरु भएको हो कि योजना मात्रै हो ? 

सुरुवातको लागि त कानुनी प्रकृयामा जानु पर्ने हुन्छ । कराडौंको लगानी भएकाले त्रि–वर्षीय योजनामा समावेश गरेका छौं । अब यो तत्काल सुरु गर्छौ । जग्गा छनोट गर्दा सार्वजनिक जग्गा कस्तो छ, त्यो अनुसार पार्क बनाउने योजना रहेको  छ । ठाउँ कम भएमा बाल उद्यान भने पनि हरेक वडामा बनाउँछौं ।

सामुदायिक स्कुलको शैक्षिक गुणस्तर निजी स्कुलको जस्तै बनाउँछु भन्नुभएको छ, सम्भव छ  ? 

यो समस्याको समाधान केन्द्र सरकारले नै निरुपण गर्नुपर्छ । स्थानीय सरकारले मात्रै गरेर सम्भव छैन । कानुनले नै निजी स्कुल चालाउन पाउने नियम छ । त्यसैले निजी स्कुल धेरै भएका हुन् । आफ्नो परिश्रम धेरै खर्च गरेकाले गुणस्तर पनि बढेको हो ।

समाजवादी शासन प्रणालीमा नजाँदासम्म यस्तै हो । सरकारले निजी स्कुलका सबै संरचना खरिद गर्नुपर्छ अनि मात्रै हुन्छ समानता  ।

टोखा नगरपालिकालाई कस्तो बनाउँछु भनेर सोच्नु भएको छ ?  

‘स्वच्छ सफा टोखा नगरपालिका’ भन्ने नारा हामीले राखिसकेका छौं । एउटा रंगशाला बनाउँदैछौं । त्यसले पनि खेलप्रेमीको लागि धेरै हौसला दिने छ ।

पर्यटनको लागि बैडेश्वर र जलेश्वर पदमार्ग निर्माण गरेका छौं । टु भनेको उखु र खेँ भनेको खेत हो, यो अपभ्रंस भएर टोखा भएको हो ।

टोखा भनेको नेवार बस्ती हो । त्यसको मौलिकता जोगाउन म लाग्नेछु । फोहोर व्यवस्थापनको लागि आफैंले केही गर्नुपर्छ भनेर योजना बनाउँदैछौं । सडकको स्तर उन्नति, स्थानीय भाषामा पाठ्यक्रम लागू गर्ने जस्ता योजनाहरु पनि बनेका छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया