अझै दुख्दैछ खोकु, छिन्ताङ‍...

 कात्तिक ३०, २०७५ शुक्रबार १७:३९:२१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – 
                खोकु छिन्ताङ दुख्यो कि, अरुण सुसाउँदा,
                मन सबको रुन्छ कि, दुःख बिसाउँदा...
जनगायक किशोर थुलुङको यो गीत सुन्ने जोकोहीको मन रुने गर्दछ । यो गीत काल्पनिक होइन । २०३६ सालको चर्चित छिन्ताङ हत्याकाण्डमा प्रजातन्त्र स्थापनाका लागि सहादत प्राप्त १६ जना शहीदहरुको सम्झनामा यो गीत रचना गरिएको हो ।

जब कात्तिक महिनाको अन्तिम दिनहरु आउँछन्, धनकुटा खोकु, छिन्ताङ, आँखिसल्लाका नागरिकले त्यो कालो दिन सम्झन्छन् । तत्कालीन पञ्चायत सरकारले त्यस क्षेत्रका १६ जना सर्वसाधारण नागरिकहरुलाई अनाहकमा गोली हानेर हत्या गरेको थियो । तत्कालीन सरकारले तीन दिनको सुत्केरी महिलादेखि विभिन्न सर्वसाधारण नागरिकहरुलाई गोली हानेर हत्या गरेको थियो भने कतिपयलाई भिरबाट लडाएर हत्या गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलनको क्रममा २०३६ साल कात्तिक २६ गते शहीदभूमि गाउँपालिका–१, का पुत्रमान थुलुङ राई, कात्तिक २७ गते शहीदभूमि गाउँपालिका–३, का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो । त्यस्तै त्यसै गाउँपालिका–१, का भैरवबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कार्तिक २७ गते नै हत्या गरिएको थियो ।

पञ्चायती सरकारले शहीदभूमि गाउँपालिका–६, का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कात्त्कि २८ गते र शहीदभूमि गाउँपालिका–३, की श्रीमाया राई (हाङखिमा साइँली) को कात्तिक २९ गते हत्या गरेको थियो । शहीदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो । 

छिन्ताङ हत्याकाण्डमा मारिएका शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय शहीद घोषणा गरेको भए पनि हालसम्म आफूहरुले कुनै राहत नपाएको शहीद पुत्रमान थुलुङ राईका छोरा बलराम राईले गुनासो गर्नुभयो । ‘प्रजातन्त्र प्राप्तिका लागि आफ्ना अभिभावकहरुले ज्यान गुमाए । तर परिवारले अहिलेसम्म राज्यबाट कुनै राहत महसुस गर्न पाएका छैनन्’, हाङखिमा साइँलीका छोरा भलकमान राईले गुनासो गर्नुभयो ।

शहीदभूमि गाउँपालिकाका १६ जना शहीदहरुको ४० औं स्मृति दिवसको अवसर पारेर शहीद स्मृति प्रतिष्ठान छिन्ताङ शहीदभूमि गाउँपालिका धनकुटाले सम्मान गरेको छ ।

शहीद स्मृतिसभा कायक्रमको आयोजना गरी शहीद स्मृति प्रतिष्ठानले छिन्ताङ हत्याकाण्डका १६ जना र दश वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका त्यस क्षेत्रका ५ जना शहीदका परिवारलाई नगद ५ हजार र सम्मान–पत्रद्वारा सम्मान गरिएको शहीद स्मृति प्रतिष्ठान छिन्ताङ शहीदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष रुपलाल राईले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया