उपचारको रिपोर्ट ढिलो आउने भएपछि अमेरिका गएको हूँ : मुख्यमन्त्री राई

 कात्तिक ३०, २०७५ शुक्रबार १९:८:४१ | रासस
unn.prixa.net

फाइल फाेटाे

मोरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मुख्यमन्त्रीको कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बैंकक गएको जनाइएको छ ।

बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएपछि निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको मुख्यमन्त्री राईले स्पष्ट पार्नुभएको छ ।

उहाँले आफूले अमेरिका न्यूयोर्कमा प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भएर बाल्टिमोर, वाशिङटन डिसी, बफेलाेलगायत केही ठाउँको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

 

मुख्यमन्त्री राईले हस्तक्षर गरेको विज्ञप्तिमा उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा उपचारको क्रममा ६ महीनाको औषधि सेवनपछि आउँदो २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उल्लेख गरिएको छ ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया