टी–२० महिला विश्वकप : इंग्ल्याण्डसँग सात विकेटले पराजित हुँदै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो

 मंसिर १, २०७५ शनिबार ७:२८:२८ | एजेन्सी
unn.prixa.net

आईसीसी टी–२० महिला विश्वकप अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको छ । 

इंग्ल्याण्डसँग सात विकेटको पराजय भोग्दै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण अफ्रिकालाई हराउनका लागि इंग्ल्याण्डकी अन्या श्रुबसोलले ह्याट्रिक गरिन् । 

टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका १९.३ ओभरमा ८५ रनमा अलआउट भयो । उसका लागि चोल ट्रियोनले २७ र मिगन डु प्रिजले १६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । 

बलिङतर्फ नताली स्किभर र अन्या श्रुबसोलले तीन–तीन विकेट लिए भने क्रिष्टि गोर्डनले दुई विकेट हात पारिन् । श्रुवसोलले २०औं ओभरको पहिलो बलमा शब्निम इस्माइललाई बोल्ड गरिन् भने दोस्रो बलमा मासाबाटा क्लासलाई क्याचआउट गराइन् । तेस्रो बलमा योलानी फुरीलाई बेल्ड गर्दै श्रुवसोलले ह्याट्रिक गरिन् । 

८६ रनको लक्ष्य इंग्ल्याण्डले १४.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा ड्यानी वेटले २७ रनको योगदान दिइन् भने ट्यामी बेमाउन्टले २४ रन जोडिन् । हिथर नाइट र एमी जोन्सले १४–१४ रन बनाए ।

पराजित दक्षिण अफ्रिका तीन खेलबाट २ अंक बनाउँदै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । 

इंग्ल्याण्ड भने सेमिफाइनल नजिक पुगेको छ । उसले तीन खेलबाट पाँच अंक बनाएको छ । यो समूहमा तीन खेलमा जितविहीन बंगलादेश पनि बाहिरिसकेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया