नेता भरतमोहन अधिकारीलाई आज विराटनगरमा अभिनन्दन गरिँदै

 मंसिर १, २०७५ शनिबार ९:४:५० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – पूर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारीको विराटनगरमा आज भव्य नागरिक अभिनन्दन गरिने भएको छ । 

विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताएका नेकपाका नेता ८३ वर्षीय अधिकारीको आज ११ बने वीरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताउनुभयो । 

अभिनन्दन कार्यक्रम संञलनका लागि एलिड क्लबका अध्यक्षसमेत रहेका डा. धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मूल समारोह समिति गठन गरिएको थियो । २०४६ सालको राजनीतिक आन्दोलनअघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लाग्नुभएको हो ।  उहाँले ४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेल्नुभएको थियो ।

नाताले स्व. कृष्णप्रसाद कोइरालाको भान्जा पर्ने अधिकारीले मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाउनुभएको थियो । विराटनगरमा ल फर्म सञ्चालन गरेका बेला अधिकारीले राजनीतिक मुद्दामा पक्राउ परेका व्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्नुहुन्थ्यो । 

बहुदलीय आन्दोलनपछि स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिष्ट सरकारमा भरतमोहन अधिकारी अर्थ मन्त्रीको रुपमा हुनुहुन्थ्यो । उहाँ  मनमोहन अधिकारीका भाइ पर्नुहुन्छ । 

जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भूमिका खेल्नुभएका अधिकारी पछिल्लो समय राजनीतिक जीवनमा थोरै मात्र क्रियाशील हुनुहुन्छ । शारीरिक अवस्थाका कारण राजनीतिमा सक्रियता कम देखिएको उहाँनिकट व्यक्ति बताउँछन् । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया