‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश

 जेठ २८, २०७५ सोमबार ९:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखाना स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धताका भने यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाली डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्न पुगेको छ । सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुने गरी पुनःनिर्माण गरेपछि यो संभव भएको हो । यो त्यही थलो हो जहाँ नेपथ्यभन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनली ले आफूलाई प्रस्तुत गरिसकेका छन् ।

‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान कलाकारहरुले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो,’ कन्सर्ट सकिने वित्तिकै ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘हामी यी दुवै गायकहरुलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ ।’

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो । दुई घन्टाको कार्यक्रमभरि मैले अरु कुराबारे सोच्नै पाइँन र पुरै कन्सर्टमै केन्द्रित भएछु,’ पाइलट अध्ययनका लागि अमेरिका बसोबास गर्दैै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुई घन्टा बन्न पुग्यो ।’

कन्सर्टको सुरुवात नेपथ्यको गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो । 

आजसम्म नाम नराखिएको ब्याण्डकोे दसौं अल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोशीको पानी यो जिन्दगानी’ लाई दर्शकले असाध्यै रुचाएका थिए । त्यसैगरि सदाबहार गीततर्फ ‘भेडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतहरुले दर्शकको जोशलाई बढाएको थियो । कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्र सूर्य’ जस्ता गीत पनि गुञ्जिएका थिए । 

‘नेपथ्यले आज मलाइ घरको याद दिलायो,’ १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दै आएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरु सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहिँ घर फर्केर देशकै निम्ति केही गरौं भन्ने भावना बढेको छ ।’ कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णनहरु सुनाउँदै दर्शकहरुलाई पनि नेपालका गाउँघरको भ्रमण गर्नका निम्ति उत्साहित पारेका थिए । यो मौकाको उपयोग गर्दै उनले निकै कठिनाइपछि प्राप्त भएको स्थायीत्व कायम राख्न र मुलुकलाई विकासको बाटोमा अघि बढाउन नेताहरुलाई अनुरोध पनि गरेका थिए ।

‘नेपथ्य ब्याण्ड केटाकेटीदेखिको यादसँग मिसिएरै मेरो सम्झनामा बसेको छ,’ विनोद लामा भन्छन्, ‘ नेपालमा हुँदा होस् वा अमेरिका आएपछि, मैले कहिल्यै पनि यसको कन्सर्ट छाडेको छैन ।’ कुराकानीका क्रममा आफू डालासमा बसेता पनि कुनै समय लस एन्जलस र सानफ्रान्सिस्को सहरसम्म मोटर हाँकेरै कन्सर्ट हेर्न पुगेको संस्मरणहरु विनोदले सुनाए । ‘यसपटक चाहिँ आफू बसेकै ठाउँमा हेर्न पाएँ,’ उनले भने, ‘अमेरिकामै फरक फरक सहरमा तेस्रोपटक नेपथ्यको अनुभव लिनपाउँदा रमाइलो लागिरहेको छ ।’

डालासमा सफल प्रस्तुतिसँगै नेपथ्य ब्याण्ड अब पूर्वी किनारमा रहेको अमेरिकी सहर बोस्टनतर्फ लाग्ने भएको छ । त्यस सहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखका दिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया