जोगवनी–किमाथाङ्का सडकका भिर फुटाउने जिम्मा सेनालाई दिने तयारी

 मंसिर ७, २०७५ शुक्रबार १६:१४:५६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन जोगवनी—किमाथाङ्का सडकखण्ड अन्तर्गतका भिर फुुटाउने जिम्मा नेपाली सेनालाई दिइने भएको छ । 

दुई ठूला छिमेकी मुलुक भारत र चीन जोड्ने त्रिदेशीय लिंकको रुपमा जोगवनी—किमाथाङ्का सडकखण्ड अन्तर्गतका भिर फुटाउने जिम्मा दिने अन्तिम तयारी भएको उत्तर–दक्षिण (कोशी सडक) आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, चीन र भारत जोड्ने सबैभन्दा छोटो यो सडकको निर्माण कार्यले गति लिन नसकेपछि ठूला चट्टान रहेको भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको हो ।

त्यस क्षेत्रमा ठूला–ठूला चट्टान भएकाले सडक निर्माणको काम नेपाली सेनालाई दिने प्रक्रिया अन्तिम चरणमा रहेको आयोजना प्रमुख ज्ञवालीको भनाई छ । 

अब किमाथाङ्का नाका जोडिन २३ किलोमिटर मात्रै बाँकी रहेको छ । त्यही २३ किमी भित्र नै ठूला चट्टान १५ किमी क्षेत्र भेटिएकाले सो क्षेत्र चाँही नेपाली सेनालाई दिने तयारीमा रहेको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शंखे र महभिरको चट्टान असाध्यै ठूलो भएका कारण ट्रयाक खोल्न नै समस्या भएकाले विष्फोटक प्रदार्थ प्रयोग गर्नुपर्ने आवश्यकता देखिएकाले सेनालाई दिन लागीएको हो ।’
 
राष्ट्रिय गौरवको यस जोगवनी—किमाथाङ्का राजमार्गको छिमेकी तिब्बतको सिमाना किमाथाङ्का नाकामा जसरी पनि यस बर्ष गाडी पु¥याउने उद्धेश्य रहेकाले जटिल खण्डको जिम्मा सेनालाई दिन लागिएको प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले बताउनुभयो । 

‘विस्फोटक पदार्थ खरिद गरेर बंकर निर्माण गरी भण्डारण गर्ने र भिरको चट्टान फुटाउने प्रक्रियाको लागि नेपाली सेनासँग कुरा भएको र सो प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ सांसद गौतमले भन्नुभया, ‘समयमा काम सम्पन्न गर्नका लागि सेनालाई दिनुको विकल्पसमेत छैन ।’

यसै आर्थिक वर्षभित्र खाँदबारी–किमाथाङ्कामा गाडी गुडाउने योजना लिएर अघि बढाई, बजेटको व्यवस्था गरेर सडक जोड्ने योजना रहेको सांसद गौतमको भनाई छ । 

सडक निर्माणको क्रममा यसअघि केही समस्याहरु देखापरे पनि अहिले समाधान भइसकेको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार, चेपुवा, छुमसुर घोङगोप्पा सडकखण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक परेको हो । अत्यन्तै कडा चट्टान भएको भिर भएकाले यो १५ किलोमिटर सडकखण्डमा विस्फोट पदार्थ प्रयोग गरेर मात्रै अघि बढ्न सकिने उहाँको भनाई छ ।

सिम्बुङ–हटिया खण्डको ट्रयाक खोल्ने, बरुण–सिम्बुङको रेखाङ्कन विवाद, अलैंची तथा गुम्बा क्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढिसकेको उहाँले बताउनुभयो । 

सिन्धुपाल्चोकबाट चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर ट्रयाक खोले पनि डेढ वर्ष अघिबाट निर्माण कार्य ठप्प भएको छ । कान्छाराम एपेक्सले विभिन्न कारण देखाएर काम रोकेकाले सडक निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाले जनाएको छ । 

यता चेपुवा—हटिया–हुङहुङ हुदै सडक ट्रयाक खोल्नका लागि हेलिकप्टरबाट डोजर लगेर काम भइरहेको छ । चालु आर्थिक वर्षका लागि केन्द्रीय सरकारबाट ४७ करोड रुपैयाँ बजेट आएको आयोजना प्रमुख ज्ञवालीले जानकारी दिनुभयो 

जोगवनी–मोरङ्गको रानी हुदै जोगवनी देखी संखुवासभाको किमाथाङ्का नाका जोड्न कुल ३ सय ९० किलोमिटर रहेको छ । 

खाँदबारी–किमाथाङकाको दुरी १ सय ६२ कि.मी. रहेको छ । त्यसमध्ये १ सय ४४ कि.मी.सडकको ट्रयाक ओपन भईसकेको छ भने अब किमाथाङ्का नाका जोडिन २३ किमी मात्रै बाँकी रहेको आयोजनाका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । 

२०६५ सालमा खाँदबारीमा स्थापना भएको उत्तरदक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी देखी किमाथाङ्का नाका सम्मको सडकको मात्रै काम गर्ने गर्दछ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया