अमेरिका उत्तर काेरिया वार्ता सुरु : दुई शीर्ष नेतासँग अनुबादक मात्र

 जेठ २९, २०७५ मंगलबार ७:१७:५८ | एजेन्सी
unn.prixa.net

विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता मंगलबार सुरु भएकाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता हुन लागेको हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् । 

नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु हुने र वार्तामा राष्ट्रपति ट्रम्प र नेता उनसँग अनुवादक बाहेक कोही पनि नरहने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायत कार्यक्रम तय भएका छन् । 

२ देशबिच पहिलोपटक हुन लागेको वार्तामा उत्तर कोरियालाई परमाणु अस्त्र निशस्त्रीकरण गराउनु  आफ्नो पहिलो उद्देश्य रहेको अमेरिकाले बताएको छ । यसको बदलामा उत्तर कोरीयाको सुरक्षाको ग्यारेण्टी अमेरिकाले गर्ने र विकासका कुरामा पनि जोड दिने अमेरिकाको भनाई छ । अमेरिकाले चीनले चाहेमा वार्ता निष्कर्षमा पुग्ने पनि बताएको छ । 

उत्तर कोरियाली नेता उनले आफ्नो अवको लक्ष्य विकास र सम्बृद्धि हुने बताएका छन् । अन्तराष्ट्रिय लगानीको ग्यारेण्टी पनि खोजेको खबरहरुमा उल्लेख छ । 

सकारात्मक प्रयास भएको विश्वको प्रतिक्रिया 

दुई देशको वार्तालाई विश्व समुदायले चासो आशा र उत्सुकताका साथ हेरिरहेको छ । २ नेताबीच सहमति भए उत्तर कोरीयाले आणविक हतियारको होड त्यागेमा विश्वमा शान्ति स्थापना हुने विश्व समुदायको आशा र अपेक्षा रहेको विश्वभरिका संचारमाध्यमले जनाएका छन् । यो विश्व कै शान्ति प्रकृयाका लागि टर्निङ प्वाइण्ट हुने विश्वकै नेताहरुको अपेक्षा रहेको खबरमा उल्लेख गरिएको छ ।

 

विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको थियो । यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताएका छन् । 

ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

अमेरिकाकी राष्ट्रपति ट्रम्प शिखर वार्ता लगत्तै अमेरिका फर्किनेछन्। उनी मंगलबार बेलुका अमेरिका फर्किने तय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसले जनाएको छ ।  वार्ता सकेर मंगलबार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका फर्किने तय भएको हो । त्यसअघि सम्म ट्रम्प केही समय सिंगापुरमै बस्ने अनुमान गरिएको थियो । २ नेताले सामुहिक र बेग्लाबेग्लै भेटवार्तासँगै खाना खानेलगायतका कार्यक्रम छ । 

सुरक्षा व्यवस्था कडा, गोर्खा फौजको टोलीले पनि सुरक्षा दिने 

विश्वकै ध्यान तानेको सिंगापुरले वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । हजारौँ सुरक्षाकर्मी आधुनिक हतियार सहित तैनाथ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई नेतालाई राखिएका फरक फरक होटल र वार्ता हुने होटलको पनि सुरक्षा अत्यन्तै कडा पारिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

२ विशिष्ट ब्यक्तिको सुरक्षामा सिंगापुर सरकारले गोर्खा फौजलाई पनि खटाएको छ । सिंगापुरमा कार्यरत नेपालीहरु रहेको गोर्खा फौजका सिपाही र कमाण्डर दुवै नेताको सुरक्षाका लागि खटिएको सिंगापुरका सरकारी अधिकारीहरुले बताएका छन् । 

शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया