त्रिभुवन विमानस्थल : २१ घन्टा खुलेपनि १८ घण्टा मात्रै काम

 जेठ २९, २०७५ मंगलबार ९:४३:२६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं – जेठ ७ गते विमानस्थल २१ घन्टा सञ्चालन हुने अवसरमा भएको कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले भन्नुभएको थियो, ‘आकासमा जहाज होल्ड हुँदा यात्रु डरको सिकार हुने क्रम तोडिनेछ, अन्तर्राष्ट्रिय विमानले अब राति १२ बजेपछि उडान गर्दा दिउँसो विमानस्थलको चाप कम हुनेछ, लामो समयको प्रयासपछि हामीले विमानस्थल २१ घन्टा चलाउन सक्ने भएका छौं, धेरै समस्याको समाधान यहिँबाट हुनेछ ।’

अहिले विमानस्थल २१ घन्टा त सञ्चालनमा त आएको छ, तर मन्त्री अधिकारीले भनेजस्तो दिउँसो विमानस्थलमा विमानको चाप घटेको छैन । किनभने थप गरिएको राति १२ बजेदेखि विहान ३ बजेसम्मको समयमा विमानले उडान र अवतरण गरेका छैनन् । आकासमा घण्टौंसम्म जहाज होल्ड गर्नुको विकल्प छैन भने विमानस्थलमा विमान धेरै हुँदाको भद्रगोल पनि कम भएको छैन ।

विमानस्थलको भद्रगोल कम गर्न र विहान बेलुका हुने जहाजको चाप घटाउन भन्दै यही जेठ ७ गतदेखि त्रिभुवन विमानस्थल २१ घन्टा खुला भयो । यसअघि विहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल जेठ ७ गतेदेखि बिहान ६ बजेदेखि राती ३ बजेसम्म विमानस्थल खुला हन थालेको हो ।

१२ बजेपछि विमानस्थल किन सुनसान ?

त्रिभुवन विमानस्थलमा उडान र अवतरण गर्न चाहने विमानलाई राति १२ बजेदेखि बिहान ३ बजेसम्म सबै सुविधा पनि उपलब्ध हुन्छ । तर दिउँसो डिले भएका विमान एक/दुई पटक विमानस्थलमा अवतरण गर्नुबाहेक २१ घन्टे सञ्चालनको अर्को फाइदा भएको छैन । राति १२ बजेपछि विमानस्थल जेथ ७ अघिको जस्तै सुनसान हुन्छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री भन्नुहुन्छ, ‘एउटा ट्रक या बसको समय यताउता सार्न त कत्रो सकस हुन्छ भने विमान कम्पनीलाई तालिका यताउता गर्न पक्कै गाह्रो हुन्छ, पहिले नै एक बर्षसम्मको टिकट विक्रि भएको हुन्छ, हिउँदे तालिका, बर्खे तालिका आदिका तालिका पहिले नै स्वीकृती भैसकेको हुन्छ, ट्रान्जिटको तालिका पनि मिलाउनुपर्ने हुन्छ, त्यसैले हामीले भन्नेवित्तिकै विमान कम्पनीले तालिका परिवर्तन गर्न सक्दैनन त्यसैले राति १२ देखि विहान ३ बजेसम्म नियमित उडान अवतरण हुन नसकेको हो ।’

दोकान थापेका छौं, ग्राहक आउलान नी 

२१ घन्टा विमानस्थल खुलिसकेपछि नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, कतार एअरवेजलगायतका विमान राति १२ बजेपछि पनि अवतरण भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । तर नियमित तालिका अन्तरगत भन्दा पनि कतै डिले भएका वा प्राविधिक समस्याले समयमा नै आउन नसकेका विमान मात्र अवतरण भएका हुन् । 

‘मैले बुझेसम्म एक/डेढ महिनाभित्र कतार एअरवेजले एउटा फ्लाइट र वतानिया एअरले १२ बजेपछि फ्लाइट गर्दैछन्, महाप्रवन्धक क्षेत्रीले भन्नुभयो, हामीले २१ घन्टे पसल थापेका छौं, ढिलो चाँडो पसलमा ग्राहक आउँछन्, अहिले नै यो दोकान बन्द गर्ने पक्षमा हामी छैनौं ।’

कर्मचारी फूर्सदिला, विमानस्थलमा खर्चैखर्च

विमानस्थल २१ घन्टा सञ्चालन हुने भएपछि विमानस्थलले कर्मचारी पनि थपेको थियो । एयर ट्राफिक कन्ट्रोलर मात्रै ७ जना थपिएको थियो । राती खटिने कर्मचारीलाई थप तलव भत्ता दिने तयारी छ । एयर ट्राफिक कन्ट्रोलर, अध्यागमन, भन्सार, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी राति १२ देखि बिहान ३ बजेसम्म जहाज नउडे पनि खटिनुपर्छ । 

राति १२ बजेदेखि विहान ३ बजेसम्म विमानस्थलमा झण्डै १ सयजना कर्मचारी खटिएका हुन्छन् । उनिहरुले अतिरिक्त भत्ता पाउँछन् । विमानस्थलमा विमान उडान र अवतरण नहुने तर कर्मचारी खट्दा त पैसा मात्रै  खर्च भएको छ । महाप्रवन्धक क्षेत्रीले भन्नुभयो, ‘कुनै पनि व्यापार गर्दा सुरुमा घाटा पनि हुन सक्छ, व्यापारको सिद्धान्त नै विस्तारै हुने हो, त्यसमाथी यो त सामाजिक जिम्मेवारी पनि हो, त्यसैले फाइदा मात्रै हेर्न हुन्न, हामीलाई त्यति धेरै भार पर्छ जस्तो पनि लाग्दैन ।’

विमान होल्ड र भद्रगोल जस्ताको त्यस्तै 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान र अवतरण हुन्छन् । औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ । 

विमानस्थलमा सानो समस्या आयो र एउटा विमानको उडान ढिला भयो या होल्ड गर्नुपर्ने अवस्था आयो भने धेरै जहाज आकासमा होल्ड हुनुपर्ने अवस्था छ । आन्तरिक उडान गर्ने १७ सिटे जहाजका कारण २५०/३०० यात्रु बोकेका बोइङ विमान पनि आकासमा होल्ड गर्नुपर्छ ।

२६ मार्चदेखि २६ अप्रिलसम्म एक विज्ञ समुहले गरेको अध्ययनका अनुसार निम्न विमान डिले भएका थिए ।

एयर एसिया – १ घन्टा १३ मिनेट
एयर इन्डिया – १ घन्टा ३० मिनेट
एयर चाइना – १ घन्टा १४ मिनेट
चाइना साउथर्न – २ घन्टा १ मिनेट 
हिमालयन एयरलाइन्स – १ घन्टा ३६ मिनेट
मालिन्दो एयर – १ घन्टा ४४ मिनेट
नेपाल एयरलाइन्स – १ घन्टा ११ मिनेट
थाइ एयर – १ घन्टा २० मिनेट

जहाज होल्डिङ र डिलेको भद्रगोल हटाउन विमानस्थल सञ्चालनको समय १८ घन्टा बढाएर २१ घन्टा पुर्याइएको छ । तर अझै २÷४ महिनायता विमानस्थलमा राति १२ देखि विहान ३ बजेसम्म नियमित उडान र अवतरण हुने संकेत देखिँदैन । 

अन्तिम अपडेट: चैत ६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया