पूरा भयो सारा अली खानको कार्तिक अार्यनसँग रोमान्स गर्ने सपना

 मंसिर ११, २०७५ मंगलबार १४:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्माता तथा निर्देशक करण जोहरको चर्चित टेलिभिजन शो ‘कफि विद करण’ मा  अभिनेत्री सारा अली खानले अभिनेता कार्तिक आर्यनका साथ डेट गर्न चाहेको कुरा बताएकी थिइन् ।

अहिले उनको यो इच्छा पूरा हुने भएको छ । उनले छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ एक फिल्ममा काम गर्ने अवसर पाउने भएकी छिन् । 

खबरहरुका अनुसार साराले उनको तेस्रो फिल्म साइन गरिसकेकी छिन् । यस फिल्ममा साराको जोडीको रुपमा कार्तिक आर्यन हुनेछन् । इम्तियाज अलीको अब बन्ने फिल्मका लागि सारालाई सम्पर्क गरिएको थियो । जुन फिल्ममा कार्तिक मुख्य भूमिकामा हुनेछन । यस फिल्मका लागि साराले साइन पनि गरिसकेकी छिन् ।

अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ हो जुन अहिले रिलिज हुन बाँकी नै छ । पहिलो फिल्म रिलिज हुनु अगावै साराले ३ वटा फिल्म साइन गरिसकेकी छिन् । 

फिल्म ‘केदारनाथ’ मा साराको जोडीको रुपमा अभिनेता सुशान्त सिंह राजपुत छन् भने उनको दोस्रो फिल्म ‘सिम्बा’ मा सारा रणवीर सिंहका साथ देखिनेछिन् । त्यसैगरी उनी कार्तिक आर्यनका साथ तेस्रो फिल्ममा देखिँदैछिन् । 

केही दिनअघि मात्रै कार्तिकसँग डेट गर्न चाहेको कुरा भनेकी साराले कार्तिकका साथ एउटै फिल्ममा काम गर्ने अवसर पाएपछि उनले त्यो अवसर गुमाउने त कुरै भएन । 

उता कार्तिकलाई हालै एउटा कार्यक्रममा पत्रकारहरुले साराले उनीसँग डेट गर्न चाहेको भन्दै प्रश्न गर्दा कार्तिकले लजाउँदै भनेका थिए, ‘म यस विषयमा के भनौं ? केवल यही भन्न सक्छु कि उनी निकै माया लाग्दी छिन् । म उनको फिल्मको व्यग्र प्रतिक्षा गरिरहेको छु ।’ 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया