नेपाल-बंगलादेश बिजुली व्यापार गर्न समिति बन्ने

 मंसिर १८, २०७५ मंगलबार १८:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल र बंगलादेशबीच विद्युत व्यापारको सम्भावना खोज्न दुवै देशबाट तीन-तीन जना सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गरिने भएको छ । 

मंगलबार काठमाडौंमा सम्पन्न सचिवस्तरीय बैठकमा एक महिनाभित्र टोलीका सदस्यको नाम एक अर्कालाई उपलब्ध गराएर काम सुरु गर्ने सहमति भएको छ । 

टोलीले दीर्घकालीन योजनाको समीक्षा गर्ने र नेपालमा लगानीयोग्य सम्भावित जलविद्युत आयोजनाहरुको पहिचान गर्ने सहमति भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइनको संम्भावनाबारे अध्ययन गर्न पनि टोली गठन गर्ने सहमति भएको छ । 
गएको साउन २५ गते नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारी भएको थियो । 

सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशको तर्फबाट बंगलादेश सरकारको विद्युत, उर्जा र खनिज स्रोत मन्त्रालयका सचिव डाक्टर अहमद काइकाउसको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया